आफ्नो लोग्नेको पद र प्रतिष्ठाको खुबै तारिफ गर्थिन् मेजर्नी । गाउँमा लोग्ने स्वास्नीको झगडा परे मिलाउन पुग्थिन् उनी । महिलाहरूलाई हक र अधिकारबारे सचेत हुनुपर्छ भन्थिन् आफ्नो उदाहरण दिएर । “लोग्नेलाई छाडा छोड्नु हुन्न । हरबखत उनिहरूको गोठालो लाग्नुपर्छ” भनेर सल्लाह दिन्थिन् । उनको घरमा गाउँभरिका महिला भेला हुन्थे । र दिनैभरि लुँडोको मेला लगाउँथे । उनकी नोकर्नी चमेली एक एक छिनमा लुँडो खेलाडीहरूलाई चिया बनाएर टक्र्याउँथी ।
“महिला यस्ता कुवाका भ्यागुता भए भने लोग्नेले हेप्छन्” उनी मलाई देख्ने बित्तिकै शब्दको तीर चलाउन चुक्दिन थिइन् । म जवाफ फर्काउनुभन्दा नफर्काउनुमै आनन्द मान्थें । मेरो मौनतालाई उनी कमजोरी ठान्थिन् । सधैं छेड्खान गरेर मनोरञ्जन गर्थिन् ।
एक दिन बिहान निक्कै मान्छेको चहल पहल थियो उनको आँगनमा । के भएछ भनेर बुझेको । घरमा राति चोर पसेर उनको गहना र एक लाख नगद लगेछ रे । आर्मीका मेजर थिए श्रीमान । सुरक्षा फौज चोरको खोजीकार्यमा तुरुन्तै जुटे । “चाँडोभन्दा चाँडो चोर समातेर हजुर समक्ष हाजिर गराउँछौं” भनेर विश्वाश पनि दिलाए । मेजरभन्दा पनि मेजर्नीको निधारमा चिन्ताका रेखा धेरै कोरिएका थिए ।
मेजर्नीलाई सान्त्वना दिन्थे मेजर, “कमाएको थियो लग्यो । म हुँदा हुँदै तिमी पीर चिन्ता नगर । ज्यान भए सम्पत्ति र गहना त फेरि जोडिहालिन्छ नि !”
मेजरको छातीमा टाउको राखेर लपक्कै टाँसिन्थिन् मेजरनी । मेजर स्वास्नीको कपाल मुसारिदिन्थे ।
एक दिन एकान दोकान मैदान भने झैं पल्लो गाउँकी भट्टी साहुनी हिराको घाँटीमा मेजरनीको सुनको सिक्री टल्केको कुराले गाउँ हल्लियो । ती शब्द मेजरनीका कानमा पर्ने बित्तिकै उनी सुरक्षा फौज साथमा लिएर भट्टी साहुनी भएतिर लागिन् ।
जाँदा जति उर्जा थियो फर्किदा उनको अनुहार नुन खाएको कुखुरा झैं निन्याउरो देखिन्थ्यो ।
सत्य के रहेछ भने घरको गहना बाहिरको चोर पसेर लगेको होइन रहेछ । मेजरले पो चोरी भएको भ्रम छरेर आफ्नी प्रेमिका भट्टी साहुँनी हीरालाई पहिर्याइदिएको रहेछ । हल्लाले गाउँ गन्हाएको दश बाह्र दिनमा मेजरले हिरालाई कान्छी स्वास्नी बनाएर घर ल्याए । त्यो दिन देखि मेजरनी बरण्डामा समेत देखापरिनन् ।
