सहरको बीचमा
उभिएर नियालिरहेछु
कंक्रिटले ठड्याइएका
गगनचुम्बी भवनहरू
अपार्टमेन्ट, मल
र, अनायासै भत्काइएका सुकुमबासी छाप्राहरू ।
म देख्दै छु
धुल्लाम्मे सडक र चिल्ला गाडीहरू
जहाँ सवार छन्
कुलीनतन्त्रका, पाखण्डी पात्र
र, तिनका भ्रष्ट अनुयायीहरू
जो चाहँदैनन्
फेरि पनि जपिरहेछन् सहमतिका मन्त्रहरू
हरेक दिन, कुनै बन्द कोठामा ।
म विवश छु, तिमीजस्तै
देख्छु र पनि, नदेखेझँै गर्छु
फोहरी राजनीति
र, त्यसवरिपरि भन्किरहेका बेसरम माखाहरू
जो सदियौँदेखि, अनवरत चुसिरहेछन्
हाम्रा पसिना ।
फगत म सोचिरहेछु
आखिर कहिले अघाउलान्
यी बेसरम माखाहरू ?
नेपाल साप्ताहिक
अंक: ५१७
२०६९ आश्विन २८
Oct 14, 2012
