Skip to content

सिरु डाँडा र डढेलो (लघु कथा)


नारायणलाल र रामबाबु सँगै पढे, अनि सँगै हुर्किए । तिनीहरूको जन्म पनि एकै सालमा भएको थियो । दुबैजना छिमेकी थिए, बढ्दै गए । गाउँको स्कूलमा सँगै पढथे । नारायणलाल अलिक छुच्चो स्वभावको थियो गाउँमा कुखुरालाई खेद्नु कसैको बारीमा काँक्रा चोर्नु, बाटो हिड्दा हिड्दै कसैको घरमा ढुंगा हान्नु उसको नित्य कर्म थियो । सिरान घरे राईको घरमा गएर कुखुराको खोर खोलिदिनु चल्लाहरूलाई खेदेर दुख दिनु त्यसको चकचके बानीदेखि सबै दिक्क हुन्थे ।

त्यो बेला बाहुन क्षेत्रीले कुखुरा पाल्नु हुन्न भन्ने मान्यता थियो । कुखुरा सुँगुर पाल्ने जात अनुसार मात्र पाइन्थ्यो अहिलेको पिंढीले सुन्दा अचम्म लाग्न सक्छ । त्यो बेलाको सामाजिक संरचना त्यस्तै थियो । बिहान बेलुका बाटो छेउमा घर हुनेहरूले चनाखो हुनुपर्थ्यो । तै पनि सबैले माया गर्थे छुच्चो भएपनि त्यो बाठो थियो अनि त्यस्तै आफू बदमासी नगरे पनि नारायणलाललाई साथ दिएर हिड्थ्यो रामबाबु पनि । त्यहाको स्कूल गाउँको पुछारमा थियो ।

सिरुडाँडा गाउँ घरभन्दा अलिक माथि डाडामा पर्थ्यो । त्यो अति रमाइलो थियो । त्यहाँबाट वारिपारि सबै घरहरू छर्लंगै देखिन्थे । तल गोठहरू त्यो नदीको दोभान अनि त्यसको डिलमा जन्तरे कामीको घर ,वारिपट्टि मिजार माइलाको घर । त्योभन्दा माथि चेलफेत्ती दिदीको घर । अनि सुनारे जेठो लाउरे दाइ, मारपाचे कान्छो, अचार्ज पण्डित अनि साने दर्जीको त्यो घर ।कति सुन्दर थियो त्यो गाउँ । ठुलाघरे अन्तरे, नेवार माल्दाइ, घिसिंग सर, बरबोटे मगर, दण्ड पाणि सुबेदार, छत्रमान मुखिया, शेर बहादुर काजी, लकाई बुढा, आसामे बा, सिक्किमे साल्दाइ,तक्मे ठुलो कान्छो । यस्तै धेरै ओटा परिवारका करिव १२० धुरीहरूको छाना । त्यो सिरुडाँडाको खरले बर्षेनी छाउने गरिन्थ्यो ।

चैतको महिना थियो । एकाबिहानै नारायणलाल अनि रामबाबु त्यो सिरु डांडातर्फ लागेका थिए । त्यो डाडामा पारिलो घाम लागिरहेको थियो । सायद तिनीहरूको कुनै नया योजना थियो । चक चक गर्ने यी फटाहाहरू लागे है उँभोतिर । विचार गर है भन्दै थिए । बाटोमा निस्किएर दण्डपाणि सुबेदार बा अनि थप्दै थिए नेवार माल्दाइर घिसिंग सरहरू पनि आज के उपद्रो हुदैछ भनेर ।

सबै जना गाउँमा आ-आफ्नो बिहानी दैनिकीमा लागे कोही टाट्नामा बाख्रा बान्दै थिए । मार्पाचे कान्छो गोरु निकालेर खेततर्फ लाग्दै थिए, चेलफेत्ती दिदी गाग्रो बोकेर धारातिर लाग्दै थिइन । कोही गाइको गोठतिर ढुङ्ग्रो बोकेर बाछालाई दुध चुसाउदै थिए । अर्थात आफ्नो काममा सबै जना लागि सकेका थिए ।

माथि कालो धुवाँको मुस्लो देखियो । अघि बिताई हालेछन दुईओटा उपद्र्याहरूले । सिरुडाँडामा काट्नलाई ठिक्क भएको खरमा आगो लगाई दिएछन् । एकै छिनमा सखाप भयो त्यो सिरु डांडा । अब यो साल कसैले घरमा छाना फेर्न नपाउने भए । गर्नु गरे मोराहरूले । बरबोटे मगर र ठुला घरे अन्तरे कराउदै थिए – यी मोराहरूलाई अब चैं गाउँ निकाला नगरी भएन ।

यसरी ठुलो उपद्रो भयो गाउमा । भद्र भलाद्मी गाउँलेहरूको बैठक बस्यो । के गर्नु ! गर्नु गरिहाले ! दुई दुई चड्कन दिए लाहुरे दाइले, के गर्नु कुटेर सिरु फर्कने होइन!

अब समयले कोल्टे फेरेको छ । त्यो सालदेखि अहिलेसम्म त्यो सिरुडाँडामा सिरु उम्रिएको छैन । उम्रिए पनि कुनै ढंगसँग बढ्ने सकेन । ती दुई ओटा फटाहाहरूको राज छ सिरुडाँडामा । कोही बोल्यो भने कुटाइ खाइ हाल्छ । उनीहरूले जे बोल्यो त्यही कानून हुन्छ । बाङ्गो रूखलाई बाङ्गो भन्न पाइन्न । पहिले उनीहरूले के भन्छन त्यही भन्नु पर्छ । टनटलापुर् घाम लागेको बेला पानी पर्यो भने हो भन्नु पर्छ । चेलफेत्ती दिदीका कुखुरा दिनेपिच्छे हराउछन । कोही बोल्न सक्दैन, अर्को विचार त्यहाँ राख्न पाइँदैन ।

आजकल त हफ्ता वासुली सुरु भाको छ त्यो सिरुडाँडामा । टोल सुरक्षा भन्दै त्यही नारायणलाल र रामबाबुलाई बुझाउनु पर्छ । यसरी आजित भएको छ त्यो सिरुडाँडा । अनि त्रसित छन् सिरुडाँडाबासीहरू कहिले यस्ता फटाहाबाट मुक्ति मिल्छ भनेर | सिरु डाँडाको डढेलो अब कहिले निभ्ने हो थाहा छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *