म देख्दछु- एक वृक्षऊपर, डालीमा कुँक्दै छ – कोकिल । एक भाषा बोल्दछ उसले, महाकविको भाषा-“जो लेखिन्न, बोलिन्न, बुझाईन्न” । त्यो भाषा प्रेमको भाषा !
चैत्रको एक हूरी – झक्झोर भएका ती वृक्षका पत्रहरू- गुमनाम डगर, बेघर भई डुलिरहेछन बिचरा ! दम्भित पवनको त्यो उग्र झोंकाले छिया-छिया भएकी बिचरा त्यो वृक्षलता ! सान्त्वनाको गीत गाउदैं छ – कुहु-कुहु त्यो कोकिल । प्रेमको त्यो अनौंठो रूप, सरल भाषा साथी ।
कोकिल सिकाउँछे, बुझाउँछे वृक्षलतालाई – “बिर्सिदेउ पियारी त्यस पवनको दम्भलाई; फेरि पनि त पत्र फुल्ने छन तिम्रो डालीमा । तिमी फेरि एकदिन हरियालीले परिपुर्ण हुनेछौ । यस्तै छन जीवनका घुम्तीहरू, काँही उकाली, काँही ओराली ।”
ईश्वरबाट साभार भएको त्यो भाषा नै हो अनमोल भाषा, ब्रहमाण्डको भाषा, कण-कणको भाषा, क्षण-क्षणको भाषा, महाकवि देवकोटाको भाषा – “जो लेखिन्न, बोलिन्न, सुनाईन्न” ।
शिक्षक सिकाउँछन – “अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा ।”
तिनीहरू गलत सिकाउँछन । अन्तर्राष्ट्रिय भाषा त प्रेमको भाषा पो हो । अङ्ग्रेजी न बुझ्नेहरूको ठुलो जमात छ यहाँ । म अङ्ग्रेजी बुझ्दिन, मेरो मकैबारीमा पसेर मकैका बोटहरू स्वादिष्ट मानेर खाईरहेकी त्यो माली गाई, त्यसले पनि त बुझ्दिन अङ्ग्रेजी लवज । अनि कसरी यो अङ्ग्रेजी अन्तर्राष्ट्रीय भाषा बन्न पुग्यो ? बुझ्नै न सकिने यो भाषा, जसलाई मानिस रुचाउँछन, मास्टर पनि रुचाउँछन अनि बडबडाउँछन अङ्ग्रेजी ।
विद्यार्थी भन्छन- “वाउ! फनटास्टिक! यो मास्टर त कस्तो खतरा !”
खतरा त ४४० वोल्ट भनेर पढ्या थिएँ, यहाँ त मास्टरहरू खतरा हुँदा रहेछन । शिक्षा गलत दिदैं छन मास्टरहरू । अङ्ग्रेजीलाई म अन्तर्राष्ट्रिय भाषा मान्दिन । म प्रेमको भाषालाई अन्तर्राष्ट्रिय मान्छु, ब्रह्माण्डको भाषा मान्दछु ।
First published in Majheri on : 2012-12-11 18:21:18 +0900

Sahi ho….
Sahi ho….