Skip to content

वर र पिपल ढल्यो सानु (गजल)


वर र पिपल ढल्यो सानु, हामी बस्ने चौतारीको !
पहिरोले बगाई लग्यो, चुचे-ढुङ्गा सालघारीको !

चट्याङ परी सुक्यो सानु, भाँच्यो हुरी वतासैले,
गाई चराउदा सितल ताप्ने, सिमलबोट खरबारीको !

त्यँही बसी रुन्छु म त, तिम्रो याद आउँदा खेरी,
थाहै होला ठूलो ओढार, जिम्मल बा’को घरपारीको !

चरी बनी आँउछ्यौ भनी, गुँड बनाई राखेको थें,
डर लाग्छ पर्‍यो कि न, लोभी नजर शिकारीको !

माछी बनी आँउछ्यौ भनी, सागर भई बसेको थें,
कतै तिर फस्यो कि न, महाजालमा जालहारीको !

वर र पिपल ढल्यो सानु, हामी बस्ने चौतारीको !
पहिरोले बगाई लग्यो, चुचे-ढुङ्गा सालघारीको !

शम्शेर लामा मोक्तान ठुले

Leave a Reply

Your email address will not be published. Required fields are marked *