Skip to content


महिषध्नि महामाये चण्ड मण्ड विनाशिनी ।
द्रव्यमारोग्य विजयं देहि देवी नमः सदा ।।

अर्थात्- ‘महिषासुर र चण्ड, मुण्ड दौत्यहरूलाईर् नाश गर्नेर् हे दुर्गा भवानी देवी, हजुरलाई सदा नमस्कार छ ! हामीलाई धन, आरोग्य, विजय दिनुहोस्….,’ भन्दै हामी दसैँ पर्व मनाउछौँ । असुर शक्तिमाथि सुरशक्तिको विजयको प्रतीकको रूपमा निधारभरि रातो अक्षता र कानमा झप्प परेको पहोलो जमरा लगाउँछौँ तर टीका निधारमा पोत्नुअघि आफ्नो घारआँगनदेखि मन्दिर, शक्तिपीठ, कोत र खलङ्गाहरूमा रगतको खोलो बग्ने गरी पशुपक्षीको बलि पनि चढाउँछौँ । हामी चाडबाडसँग जोडिएको साँस्कृतिक निरन्तरताका नाममा झन् भन्दा झन् रक्तपिपासु र परपीडक बनिरहेका छाँै । आफैँभित्रको महिषासुर प्रवृत्तिको हत्या गर्न नसक्ने हामी महिषासुर वधको सुखानु भूतिले पग्लिन अबोध, निरीह, निरूपाय र निर्दोष प्राणीको निर्मम हत्या गरिरहेका छाँै । राँगा, बोका, भेडा, हाँस र कुखुराको पञ्चबलि रगतले सिञ्चिएको पत्थरको मूर्तिबाट उद्दण्ड महिषा सुर प्रवृत्तिका असुरतत्त्वहरू नास हुन्छन् भन्ने आत्मरतिमा हामी यो गर्दै आएका छौँ ।

चाडबाड धार्मिक विश्वास, साँस्कृतिक वैभव र संस्कारको निरन्तरताका लागि हुन्, जो अपनत्व र पहिचानसँग प्रत्यक्षरूपमा जोडिएका हुन्छन् । चाडबाडको सम्बन्धन र निरन्तरताप्रति सबैको चासो मुखर हुनु पर्दछ । हाम्रो धार्मिक र सांस्कृतिक मान्यताअनुसार देवताको बास, पत्थर र ढुङ्गाहरूमा हुन्छन् । पत्थर नै देवता हुन् र तीनका अघि असुरलाई पछार्नुपर्छ तर निरीह राँगा, निख्खर कालो बोका, कागे भेडा, नीलटाउके हाँस र रातो भाले कदापी असुर हुन सक्दैनन् । ती अबोध जनावरमाथि हुने निर्मम व्यवहार र तिनको निर्दयी वध दसैँको पावनताका बेला मञ्चन गरिने पासविकताको पराकाष्ठा हो । हामी सर्वश्रेष्ठ विवेकशील प्राणी हौ भने यसमा किन न्यूनतम विवेक प्रयोग गर्दैनौं ?

बाइसे र चौबीसे राज्यकालदेखि शाहकालसम्म हाम्रा सिपाहीहरूले खुँडा, खुकुरी र तरबारको भरमा लडाइँ गर्नु पर्ने विवस्ताले रगतसँग अभ्यस्तताका लागि पनि पशुवधलाई पर्वको रूपमा अपनाइएको हुनसक्छ । अथवा राक्षसी जिब्रा भएका हाम्रा पुुर्खाहरूले पशुबलिलाई धार्मिक लेपन लगाइदिन यसलाई दसैँसँग जोडेको हुन सक्छ तर धर्मशास्त्रको गहिरो ज्ञान भएका प्रकाण्ड विद्वान्को बुझाइमा बलि भनेको नैवेद बलि मात्रै हो न कि पशुबलि । नजाने कहिलेदेखि यो बलि प्रकरण रक्तपिपासुतामा सङ्क्रमित भयो । परेमा ‘यमराजकै शिर छिनाउने’ नेपालीका सन्तान अब पशुवधमा हैन, वास्तविक महिषासुर र असुर शक्तिलाई परास्त गर्न अग्रसर हुनुपर्छ । महिषासुर वध गर्‍यौँ भन्दै निरीह राँगा, बोकाको हुर्मत लिँदै शिर छिनाल्ने कार्य सोभनीय र शान्तिपूर्ण समाजको परिचायक हैन ।

त्यसो त क्रोध मानवीय स्वभाव मात्रै हैन मानिसको अभिन्न अंग पनि हो । क्रोधले क्रूरता जन्माउँछ तर रमाउनका लागि क्रुर बन्नु सभ्य मानिस र समाजको संस्कार हैन । झन् नेपालमा क्रूर बलि दिने चलनलाई धार्मिक र साँस्कृतिक अनिवार्यतासँग जोडेर हेर्ने प्रचलन छ । पासविकताको तान्डब नृत्य मञ्चन हुने बलि प्रथाका हाम्रो समाजमा यथेष्ट उदाहरणहरू छन् । मुगुको गमगडीमा बडादसँैको अवसरमा दिइने बलिमा क्रूरताको हद नागेको देख्न पाइन्छ । त्यहाँ तल्ला जातका युवाहरू हर्षोल्लासका साथ बोको लिएर मन्दिरको प्राङ्गडमा आउँछन् । डोरी खोल्न्नभन्दा पहिले बोकाको संवेदनशील अङ्ग समेत नछुटाई जिउभरि खुर्सानीको लेप घस्छन् । पिरोको डाहाले बोको उप|mन्छ, चित्कार छोड्छ, तर दानव बनेका युवाहरूलाई बोकाको क्रन्धन र चित्कार रतिराघको धित्कार झैँ कर्णप्रिय लाग्छ र छटपटाएको बोकालाई दाँतले टोक्न थाल्छन् । कसको टोकाइबाट बोकाको भुँडी फुटाउन सकिन्छ भन्ने होडबाजी रहेछ त्यो तथाकथित साँस्कृतिक खेलमा । अन्ततोगोत्वा सयौँको टोकाइले लखतरान भएको बोकोको पेट ढाक्ने छाला च्यातिन्छ । भुँडी फुत्त बाहिर देखेपछि वीरताको कर्तुल ध्वनि बज्न थाल्छ । यता ललितपुरको खोकनामा पनि करिब यस्तै पासर्विक प्रकृतिको बलि दिने प्रचलन छ । यहाँ चाहिँ एक स्थानीय पोखरीमा बोकाको लुछाचुडी गरेर यस्तो रगतपच्छे होली खेलिन्छ । भक्तपुरमा नवदुर्गालाई चढाइने सुँगुरको पाठोको उपक्रम हिजोआज पनि चल्दै होला । यस्ता क्रूर बलिको शृङ्खलाको फेहरिस्ता जति पनि लाउन सकिन्छ ।

काठमाडौँ विष्णुमती र अन्य वधशालाहरूमा यिनको निर्मम वधको दृश्य देखि नसक्नु हुन्छ । दसैँको बेला हनुमानढोकाको कोत र भित्री चोकमा साना ठूला सयौ राँगाका शवहरू रगतका आहालमा चुर्लुम्म डुबेका हुन्छन् । के देवी, के भगवती, हुँदा, हुँदा गणेशस्थानमा समेत राँगाको बलि चढाइएको हुन्छ । अरू देशका हिन्दू धर्मावलम्बीहरू समेत नेपालमा गणेशको पूजामा पशुपक्षी बलि देखेर आश्चर्य चकित हुन्छन् ।

आफूलाई आस्तिक मान्ने मानिस स्वयं एउटा प्राणी भएकाले अरू प्राणीको हिँसा गर्नु आफैमा पाप हो । त्यसमाथि क्रूर हिंसा झन् ठूलो अमानवीयता हो । देवीदेवताकै नाममा हुने यस्ता हिँसा त झन् धार्मिक रूपमा नै महापाप हो । चाडबाडमा मात्रै हैन, मेसिन, मोटर, मोटरसाइकल, हवाइजहाजलाई समेत पशुबलि दिएर हिंसालाई अक्कासिन दिने समाजमा छौँ हामी । त्यसैले पशु हिंसालाई पूर्णतः निस्सार तुल्याउन त नसकिएला तर यसको लागि पहल सरकारबाट हुनुपर्दछ । सरकारी तवरबाट हनुमानढोकामा होस् या विभिन्न कोतहरूमा या मन्दिरमा नै किन नहोस् । दूर्गापूजाको नाममा दुर्गा भगवतीका सन्तान दरसन्तानले सिर्जिने रक्तकुण्डले तिनै भगवतीको उपहास नगरौँ । सकिन्छ भने अन्य प्राणीलाई पनि आफूजस्तै ठानेर शाकाहारी र सदाचारी बनौँ यदि सकिँदैन भने कम पीडा दिएर वध गरौँ ।

हो, मासुको लागि पशुपक्षीको वध संसारको जुन कुनामा पनि हुन्छ तर सास्ती दिएर वध गर्नु धार्मिक रूपमा पाप हो, मानवीयरूपमा निर्दयता हो र कानुनी रूपमा अपराध हो । पशुपक्षीलाई पाल्दा, जोत्दा, ओसारपसार गर्दा, मासुको लागि वध गर्दा, शिकार गर्दा र बलि चढाउँदा प्राणीलाई न्यूनतम कष्ट वा सास्ती हुने तरिका अपनाउनु पर्दछ । पशुपक्षीप्रति हुने क्रूर व्यवहार रोक्न नेपालमा त्यस्तो कानुनी व्यवस्था र आचारसंहिता बन्न ढिला भइसक्यो । गणतान्त्रिक नेपालको पहिलो दसैँलाई सकिन्छ भने अहिंसात्मक बनाउन प्रयत्न गरौँ । यदि सकिँदैन भने पनि क्रूर बलिलाई कम कष्टदायक बनाऔँ । दुर्गा भगवतीले सबैलाई सत्बुद्धि दिउन्, बडादसैँको यही शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *