Skip to content


आफ्नै मुटु र कलेजोबाट
जातिगत पहिचानको प्यारो धरहरा चुलिदै गर्दा
कतै सिङ्गै नेपाल बोकेर अग्लेका काँधहरू होचिँदै छन् कि ?
मजुर र डाँफे मासेर वा हरिण र चौरी लखेटेर
जोगिदैन शोभा जसरी जङ्गलको
सगरमाथा चुड्याएर, लुम्बिनी पन्छ्याएर वा विचरो कर्णालीलाई एक्लो पारेर
कोरिँदैन सुन्दर नक्सा नेपालको
वरफजति पगालेर सगरमाथालाई कतै
ढुङ्गाको पहरोमा रूपान्तर गरिदैछ कि ?
भागवण्डा लगाएर सहिदको रगतले लिपेको भुइँ
आफ्नो अवसानको दागवत्ती आँफै दिदै गरेको दृश्य
आफ्नै हातले इतिहासका पानामा कोरिँदैछ कि ?
कसरी खनिएला कुलो नयाँ नेपालको
–आधार विनाका सपनाहरू अग्ल्याएर
–सियल दिने रूखहरू लडाएर
–अमृत रसाउने मूलहरू सुकाएर
–इमान्दारीलाई खोलाको पानीसँगै बगाएर
म त्यो नेपाल चाहन्छु
जहाँ तराईका वस्तीमा पाकेका अन्नका दानामा
माथि शेर्पा वस्तीबाट बगेको पानीको सुगन्ध भेटियोस्
उपत्यकाले उपयोग गर्ने सङ्घीय हकका मतपत्रमा
झापाली राजवंशी र मगराती थापाको शहादत मगमगाओस्
तिम्रा छिमेकीले मस्जिदको आड लाग्दै साँझपख
दर्शन गर्ने चन्द्रमा र तिमीले हरेक बिहान
मन्दिर छेउ उभिएर अर्घ दिने सूर्य
एउटै झन्डामा अटाएजस्तै
मणिपद्मे गुन्गुनाउदै मुन्दुम बोक्ने लामा र
वेदका ऋचा गाउदै हिँड्ने तिम्रा पाइला
उपासनाको एउटै मठमा भेटिएजस्तै
मनको मैलो पखाल्न जानुपर्ने कुवा
सबैका लागि एउटै होस्
दुःख सुखको यात्रामा सबैले तर्ने साँघु एउटै होस्
होचा, अग्ला, थेप्चा, चुच्चा
सबैले पानी थाप्ने पँधेरो र सियल पाउने चौतारी एउटै होस् ।

गोकुल अधिकारी
विराटनगर

मधुपर्क २०६९ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *