Skip to content
SampresPoudelDivas


हिहिहि…, हाहाहा…, हा…हा….हा…., होहोहो…, ह्याह्याह्या…, छिस्छिस्छिस्…, खित्खित्खित्… यी सबै हाँसोका तालहरू हुन् । मान्छेपिच्छेका हाँसो फरक फरक हुन्छन् । कोही चरा धपाए जस्तो बडा धिमा गतिमा हा…हा…हा… गर्दै हाँस्छन् त कोही गधा कराए जस्तो हि..हि…हि… गर्छन् । कसैको हाँसो पात खसेजस्तो छिस्छिस्छिस्…. गर्ने हुन्छ त कसैको गाउँटोलै वा अफिसै कम्पन ल्याउने होहोहो वा ह्वाह्वाह्वा… गर्ने खालको । एउटी आमाको लागि एक बर्षे बालकको हाँसो मनै लोभिने र प्रसव बेदना नै भुलाउने हुँदोरहेछ । यसरी हाँसोको बारेमा चर्चा गर्न लागियो भने एउटा महाकाव्य नै बन्ला ।

स्वास्नी मर्दा रुन्चे काव्य, देश सङ्कटमा हुँदा राष्ट्रिय गीत, विदेशमा नेपाली मर्दा वीरगाथा, कसैको विहे हुँदा रासलिला लेख्ने जमाना गए भन्दा कुनै माइकलाल साहित्यकारको मनमा चसक्क नदुखोस् । हाँस्नुमा जति मजा केमा रहेछ र ? त्यसैले त योग साधक रामदेवले हाँस्नुपर्छ भनेका छन् । हामीकहाँ बामदेव र कामदेवहरूले जे गरुन्, ती रामदेव हाम्रा देवता भएका छन् । मानौं चतुमुर्खी ब्रम्हा, विष्णु र महेश्वरको एकै रुप नै कलियुगका योगका प्रवद्र्धक स्वामी रामदेव नै हुन् । देशका नेताहरू ज्यादा भ्रष्टाचारी नभए, कार्यालयका कर्मचारीहरू ज्यादा घुसखोरी नभए, किसानहरू शुद्ध उब्जनी गरिदिए, विद्यार्थी र शिक्षकले विना राजनीति शिक्षा सञ्चालन गरिदिए, लेख्नेहरूले विकृति विसंगति नदेखिदिए हामी हँसाउनेहरूले कलमै बन्द गरिदिए भैदियो । यस्तो परिस्थिति नेपालमा नआउला कि !

हुन त रोएको बेला हसाउँन सक्नु पो कला, हाँसेको बेला के हँसाइरहनु ? त्यसो त मानिस मर्दा, दुर्घटना पर्दा, प्राकृतिक विपत्ति पर्दा हँसाउन लागियो भने त्यसले रुन सिकेर फर्कनेछ । त्यसैले अवसरवाद के भन्दछ भने “जहाँ अवसर आउँछ, त्यहाँ मात्रै हँसाउनुपर्छ ।” तर चाप्लुसीवादको विचार फरक छ । ऊ भन्छ, “जस्तोसुकै अवस्थामा पनि सुस्तरी सुस्तरी चाप्लुसी गर्दैगर्दै हँसाउन र रुवाउन सकिन्छ । अर्थात् सियो भई पसेर फाली भई निस्कनुपर्छ ।” यसरी विभिन्न सिद्धान्त र प्रतिपादनहरूले हँसाउने र रुवाउँने समय र कला बारे आ–आफ्नै तरिकाले व्याख्या विवेचना गरेका छन् ।

हँसाउने कलामा देशका हाँस्य कलाकारभन्दा धेरै सिपालु हाम्रा नेताहरू छन् । झटारो हान्नमा के.पि. ओली छन् । झूट बोल्नमा माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड, बाबुरामहरू प्रशष्त छन् । आरोप लगाउनमा शेरबहादुर, शुशिल नै काफी छन् त अवसरवादको माला जप्नमा मधेसी दलका नेताहरू प्रशस्त छन् । यसैले नेपाल सरकारको मन्त्री परिषदमा एउटा हाँस्य टुकडीको निर्माण गर्ने बेला भई सकेको छ । जसले समय समयमा हँसाएर मन्त्रीहरूको कार्यबोझलाई हलुका पारिदियोस् ।

मेरै कार्यालयका एकजना मित्र हाँसेपछि अरुको जस्तोसुकै हाँसो पनि गौण हुन्थ्यो । उनी हाँसेपछि कसैले बोलेको, काम अह्राएको, गुणगान गाएको, चाप्लुसी, आदेश केही पनि नसुनिने । एकदिन उनी कुनै विषयलाई लिएर भुइँचालो आउने गरी हाँसेछन् । सोही दिन कार्यालयमा नयाँ हाकिमको नियुक्ति भएकाले उनले एक कार्यालय सहयोगी मार्फत् यसरी हाँस्ने को हो भनी परिचय लिँदै बिस्तारै हाँस्न भनेछन् । कार्यालय सहयोगी अली समाजसेवी परेकाले जनचेतनाका लागि कार्यालयका सम्पूर्ण कर्मचारी र सेवाग्राही समक्ष हाकिमको चासो व्यक्त गर्दै कान फुक्दै हिँडेछन् । आजकल गडगडाहट स्वरले हाँस्ने ती मित्र हाँस्नु अगावै सोध्छन्, “म हाँसु ?” भनेर । यसरी व्यक्तिगत स्वतन्त्रता हाँसो दबाइएको नेपालकै इतिहासमा पहिलो हुनुपर्छ । त्यसो त संविधानको धाराहरूमा मौलिक हकमा वाक स्वतन्त्रता, हिँडडुल गर्ने स्वतन्त्रता, महिला, बालबालिका, समानता, छुवाछुत आदि बारे लेखिए पनि हाँस्ने स्वतन्त्रता बारे कहिँकतै उल्लेख गरिएको छैन । त्यसैले हाँस्ने कलाको विकासका लागि संविधानमै आमूल परिवर्तन गर्दै छलाङ मार्न सक्नुपर्छ भन्ने नै हाँस्ने कलाको उद्देश्य हो ।

एकजना मित्र कहिल्यै नहाँस्ने थिए । उनलाई हँसाउन के मात्रै गरिएन । निदाएका बेलामा दाह्रीजुंगा बनाइयो, नांगै पारियो, बिउझिँदा काउकुतीसम्म लाइयो, चुट्किला र पिट्किला जाबो त कति सुनाइयो कति तर उनी परे मरे नहाँस्ने । राष्ट्रपतिको भैंसी उखानदेखि प्रधानमन्त्रीको स्वास्नी पिरलोसम्म, संसदको छोरी पोइल गएकी कहानीदेखि माइली भाउजुले बिहे गरेको चार महिनामै छोरा पाएको कुरोसम्म सुनाउँदा पनि उनी झस्केनन् । अब त यस्तो लाग्न थालेको थियो कि हाँस्ने ट्याब्लेट खुवाउँदा पनि बरु उनी मर्लान्, हाँसेको सुन्न नपाइने भयो । पैसा पर्दैन भन्दा पनि हाँस्दैनन्, बाउ मर्दैन भन्दा पनि हाँस्दैनन् । दाँतको रोगले हो कि भनी शहरबाट सुगन्धवाला मन्जन लगियो, घोडा हाँसेको कथादेखि हायना हाँसेको कहानीसम्म बेलिबिस्तार भन्दा पनि मित्र नहाँस्ने नै भए । गधाले बाघको खोल ओढेको, सुहागरातमा पाँच दिनसम्म बेहुलाबेहुली कोठा बाहिर ननिस्किएको, चराले कट्टु लाउन भुलेको, नेताले रातो कट्टु देखाएकोसम्मका भेजदेखि ननभेजसम्मका चुट्किला भन्दा पनि नहाँसेपछि मित्रको हाँस्ने हर्मोन नै नभएको तथ्य पत्ता लगाएर हिँड्नुपर्‍यो ।

“त्यस्ता दिन आए, गए, च्वाप्प म्वाइँ खाने ठाम्मा भुत्ला पलाए” भनेझैं समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँदो रहेछ । सानामा तोतेबोलीको हाँसो सबैले मन पराइदिने, किशोर हुँदा हाँसेरै ठिटीहरू लठ्ठ पारिने तर आजकल हाँस्दा पनि बुझेर, सुझेर हाँस्नुपर्ने दिन आए । आजकल हाँस्दा न कसैले झप्प म्वाइँ खाइदिने न कोही लठ्ठ पर्ने । बरु बिहानै कान्छो नातीले हजुरबा तपाई हाँस्दा तपाईको एउटा दाँत नै खसेछ भनेपछि पो हाँस्नुको अर्थ व्यर्थ भएको चाल पाएँ । हाँसेर जिन्दगीमा गुमाएको यही एउटा दाँत नै हो । जीवनमा बाँकी रहेको एउटै दाँत पनि हाँस्दा उछिट्टिएपछि कसको लागि के देखाएर हाँस्ने ? लाग्छ हाँस्न मनाही छ । अस्तु ।

संप्रस पौडेल “दिवस”
www.facebook.com/nepali.sampraspaudel

2 thoughts on “हाँस्न मनाही छ”

  1. बबाल
    तपाईँको लेख अन्य वेभसाइट र पत्रपत्रिकाहरुमा छापिने रहेछन् । आजकल यी लेखभन्दा धेरै परिष्कृत र हाँस्य व्यंग्ययुक्त लेखहरु पढ्न पाइरहेको छु । तर लेखन क्षेत्रमा पातलो उपस्थिती रहेकोले यहाँलाई लेखनका लागि बढ्दो उपस्थितिको लागि आर्दिक अनुरोध गर्दछु ।

    1. लेखिरहेकै छु । सल्लाह र सुझाव दिइराख्नुहोला । सिर्जना गर्नेका लागि उत्कृष्ट पाठक सबैभन्दा ठूलो सम्पत्ति हो । हार्दिक आभार तथा धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *