Skip to content

परदेशीको मन


नरोक मलाई हिडेको बेला दोबाटो कुरेर
नदेखाऊ मलाई नक्कली आँसु हेर्दिन फर्केर
म जन्मेँ यहाँ म हुर्के यहाँ यही माटो प्यारो थ्यो
कमलो मन बिग्रेर ऐले ढुङ्गा झैँ सारो भो

ए ! खोला नाला वन र पाखा ! नखोज मलाई
म अउने छैन गहका आँसु देखाउन तिमीलाई
कलिला गोडा टेकेको माटो अति नै प्यारो थ्यो
पुगेर भोग दैवले आज मलाई बिदा द्यो

जोतेर बारी उठाको डल्ला मनमा ताजै छ
रोपेको बाँस कलिला मुना हालेको हाल्यै छ
तन्काई घाँटी हेर्दैछन् अझै कलिला मुनाले
रातोदिन त्यहीँ प्रकाश छर्छन् घाम र जूनले

रमेर बस है साथी सँगी अब म जाँदैछु
मायाले मात्रै नथाम्ने रैछ सबैलाई भन्दैछु
पैतला छाप मेटिने छैन म टाढा गए नि
कसैका माया हराउने छैन म जहाँ भए नि

टाढाको कुरा भेट र घाट सधैँ नै नहोला
आउँनेछु फेरि म कुनैबेला नमानी झमेला
सुनका ढिस्को भत्केको छैन यो पापी मनको
भारी पो कस्लाई पुगेको छ र यो पापी धनको

माटाले मलाई नदिई बिदा आफै म हिडेको
ए, साथी भाइ नभन मलाई डरले भागेको
निष्कृय भई मारेर मन म बस्न सक्तिन
सक्रिय बन्न खोज्दै म हिडेँ बिरानो ठाउँमा

First published in Majheri at : 2012-09-16 17:06:13 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *