स्वर्गलोकबाट बिमान आयो धर्तीमा छुनलाई
अब जाऊ मित्र ! बिर्सेर धर्ती, बिरानो हुनलाई
यमको दुत पाइलट बनि आएछ साथमा
नजानु अन्त, सरासर जानु अमर पुरीमा
दिन्छन् रे दुःख यमको राज्य, कडा छ शासन
बैकुण्ठ हुदै स्वर्गलोक जानु, यो शुभकामना
बाटोमा जाँदा सुबिधा छैन, सहनु पर्छ है
पुगेर माथी ऐश्वर्य साथ, खुसीले हाँस है
चढेर सिँढी छ स्वर्ग जहाँ, पुग्नुछ तिमीले
बाटोमा जाँदा बैकुण्ठ राज्य, भेटिन्छ पहिले
बैकुण्ठ देश थकाइ मार्ने, चौतारी नहोला
सुख र शान्ति, शन्तोष जति सबैनै त्यैँ होला
आराम गर्नु केहि दिन बसी बिमान रोकेर
खिचेर फोटो पठाऊ यहाँ, फेसबुक खोलेर
केहि दिन सम्म पर्यटक भईघुमेर रम्नु है
बिष्णुको साथ भेट बार्ता गरी, टेलिफोन गर्नु है
उपहार केही लिएर गए लक्ष्मीजी हाँस्ने थिन्
अप्सरा साथ बिष्णुको गाथ चुमेर नाच्ने थिन्
ए, मेरा साथि बैकुण्ठ माथी ब्यवस्था कस्तो छ ?
इन्टर्नेटबाट पठाऊ यहाँ बैकुण्ठ जस्तो छ,
आधुनिक यन्त्र त्याँ पनि होला सम्बाद गरौँ है
कम्प्युटर भित्र पठाए चित्र, खोलेर हेरौँ है
अन्लाइन्मा मलाई भेट्नेछौ सधैँ,तिमीले सम्झिए
बैकुण्ठबाट म्यासेज सधै, धर्तीमा पठाए
त्यहाँ त; यस्तो बारुदगोला, होडबाजी नहोला
बन्दुकमाथि बन्दुक्कै ताँती, के गर्थे झमेला ?
त्यो माथीबाट र्हेर्दाहुन् धर्ती सेटेलाइट यन्त्रले
उहिलेको जस्तो गर्दैनकाम ध्यान्दृष्टि मन्त्रले
बैकुण्ठ यात्रा सकेर उसै स्वर्गलोक जानु है
आफुलाई चाहिनेके के हो सामान साथमा लानु है
ईन्द्रको सामु झुकेर बोल्नु, त्यो स्वर्ग लोकमा
पुगेर माथी नबस्नु फेरी मान्छेको भेषमा
देवता सरी भएर बस्नु, अप्सरा साथमा
नन्दन वाग सयर गर्नु पक्रेर हातमा
स्वर्गमा कहिले धर्तीको जस्तो अन्याय पर्दैन
पर्दैन खान, मनलागे जान, भोकले मर्दैन
सचीका साथ ईन्द्रजी बस्छन्, अप्सरा माझमा
सुन्दरी तिनै अप्सराहरु नाच्नेछन् साँझमा
धर्तीमा जस्तो छैठीको दिन भाबीले लेख्दैन
बुढ्याईँले पनि छुदैन त्यहाँ, कालले देख्दैन
अभाव केही हुदैन त्यहाँ जे पनि पाइन्छ
इन्टर्नेट यन्त्र जाडेर हेर्नु काँ’सम्म भ्याइन्छ
वेभसाइट् राम्रो तयारपारी स्वर्गमा मिलाऊ
ईन्द्रका सबै ती गोप्य कुरा, भरेर पठाऊ
यो भन्दा पैली गएका मान्छे फोन किन गर्दैनन्?
पुरेतलाई दिएको दान पाएकि पाएनन् ?
तिमी चैँ साथी गएर माथी इन्टरनेट खुलाए
केवल जोड्न मिलेन भने मोवाएल चलाए
२०६८।५।६ ईटहरी —५ पचरुखी
