मणिकलाल घिसिङ तामाङ
माघ २७, २०६९ । काठमाडौं ।
तामाङ डाजाङले हालै एक भब्य समाहरोहका साथ आफ्नो ११६ औ शृंखला सम्पन्न गरेको छ ।
“तामाङ ग्योइ थेन ग्योइकाइदा छार्नालाई, तामाङ ब्रिखेन गिकतासी ब्राई” भन्ने मूल नारा बोकेको तामाङ डाजाङले आफ्नो नियमित तामाङ भाषाको साहित्य बाचन कार्यक्रम प्रतेक महिनाको अन्तिम शनिबार गर्दै आइरहेको छ ।
यसपालिको शृंखलामा नियमित साहित्य बाचनको साथमा बिना तामाङको “छुकी” कथा सङ्ग्रहको बिमोचन कार्यक्रम संयुक्त रुपमा गरियो । यो सङ्ग्रह नेपाली र तामाङ दुबै भाषामा प्रकाशन भएको छ ।
नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपती बैरागी काइलाको प्रमुख आतिथ्य र तामाङ डाजाङका अध्यक्ष बुद्ध योन्जनको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शब्दहार कृयसन्स, बिभिन्न संघ-संस्थाका प्रतिनिधितिहरू, बरिस्ठ साहित्यकारहरू, पत्रकारहरू, अन्य बिशिष्ट व्यक्ति-व्यक्तिहरूहरूलाई आसन ग्रहन गराएको थियो । “छुकी” कथा संग्रहलाई शब्दहार कृयशन्स प्रालिले प्रकाशन गरेको थियो ।

कथाकार बिना तामाङ ‘सुनगाभा’को कथा संग्रह “छुकी” को बिमोचन नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपती बैरागी काँइलाले गर्नुभएको थियो । कार्यक्रम प्रस्तोताका रुपमा मोतीलाल दोङ हुनुहुन्थ्यो । उक्त बिमोचन कार्यक्रममा आयोजक तामाङ डाजाङको तर्फबाट अध्यक्ष बुद्ध योन्जनले स्वागत मन्तव्य दिंदै भन्नुभयो – “यो खुशीको माहोलमा अझ भनूँ ल्होछार नजिकिदै गर्दा यहाँहरूसँग ल्होछारको शुभकामना बाड्न पाउदा प्रफुल्लित भएको छु । कथाकार बिना तामाङ आफैँमा एक सक्षम र हरेक बिधामा कलम चलाऊन सक्ने श्रष्टा भएको हुनाले यो कृतिले अवस्य सफलताको शिखर चुम्नेछ । समाज भित्रका ब्यथितिहरूलाई अझ स्पस्ट रुपमा उजागर गर्दै कथाको माध्यमबाट सुधारको आवाज दिने यो कथा संग्रहमा त्यस्ता थुप्रै चिजहरू पाउन सकिन्छ ।” वहाँले कथा संग्रह छुकी भर्खरै बजारमा ल्याउनुभएकोमा कथाकारलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो ।
पुस्तकको बारेमा बिस्तृत जानकारी दिनुहुँदै बिना थिङ तामाङ – “साहित्य के हो थाहा नहुँदा नहुँदैको अवस्थामा साहित्य बिधामा हात हालेकी थिएँ । कुनै पनि व्यक्तिमा प्रशस्त त्यस्ता खुबिहरू लुकेका हुन्छन् जुन प्रस्फुटित हुन्छन् शब्दमा, बोलिमा या अन्य माध्यममा । मलाई त्यत्ती राम्रो बोल्न आउँदैन, बोल्न भन्दा म मेरा मनका कुराहरू लेखेर मनलाई सान्त्वना दिन्छु । यसरी नै रमाउने गर्छु । कुनै पनि मनको कुरा मनबाट खुल्न वा प्रस्फुटन हुन अझ भनूँ उजागर गर्न सुहाउदो बातावरण चाहिन्छ । त्यसको अभाबमा मनको कुरा मनमै दबिदिन्छ र आखिर सुन्यता बाहेक उसको साथमा केही हुन्न ।”

“मैले खुड्किलो चढ्ने प्रयास गरेको छु । यसमा साथ दिएर हौस्याउने वा त्यही खुड्किलोमै अडिनुपर्ने हो, यसमा यहाँहरूजस्ता विद्वानहरूको सुझाव र सल्लाहको अपेक्षा राख्दछु । आफ्नो मनको मनमै नराखी लेखिएका शब्दहरू जगतसम्म प्रसार गर्नुपर्छ भनी निरन्तर प्रेरणा दिरहनुहुने आत्मिय मनहरूलाई मैले बिर्सनै हुन्न । सन्चु ब्लोन, राजेश रुम्बा, बुद्ध योन्जन दाइ मेरा प्रेरणाका श्रोतहरू हुन् । त्यसैगरि निरन्तर प्रेरणा दिरहनुहुने रामकृष्णजी, दर्लामी तिब्बत भाई, स्वप्निल निरब, नैना निर्झरा र यस्ता थुप्रै सहयोगी मनहरूलाई भुल्नुहुन्न । रेडियो मार्फत आफ्नो सुरिलो स्वर मार्फत मेरा कृतिहरूलाई प्रसारण गर्नुहुने अमरध्वज लामाको नाम त झन छुटाउन नै हुन्न ।”
“टिब्बेट दर्लामी भाईले अब लेखेर यसलाई कृतिको आकार रुप दिनुपर्छ भन्ने नियमित हौसलाले गर्दा पनि यो संग्रह कृतिको रुपमा आएको छ । त्यसैले टिब्बेट भाई अत्यन्तै यस कृतिको हकदार हुनुहुन्छ । त्यसरी नै कभर डिजाइन गर्नुहुने खगेन्द्र जि, निरन्तर प्रेरणा दिनुहुने मनु लोहुराङ, फुलमान बल, श्याम सङ्कल्प, दिपक कथित, बुद्धी मोक्तान, सुरेशमान रुम्बा, केशब लामा, मणिकलाल घिसिङ लगायत थुप्रै नामहरू सम्झिनै पर्ने हुन्छ । अझ बिशेष आभारी शब्दहार कृयाशन्सका रमेश कँडेल लगायत यस सँग सम्बन्धित सम्पूर्ण साथीहरू, जसले नेपाली र तामाङ दुबै कृति एकै चोटि संयुक्त रुपमा प्रकाशन गर्ने जिम्मेवारी लिनु भयो । मैले अर्को छुटाउनै नहुने नाम तामाङ चौतारी समूह र यहाँका साथीहरू, जसको निरन्तर साथ र प्रेरणा ममाथि बनिरह्यो । मेरो यो प्रयास के कस्तो रह्यो, पेरिसक्रित हुने मौका दिनुहुन्छ भन्ने आशा लिएकी छु ।”
शब्दहार कृयशन्स प्रालिका संयोजक रमेश कँडेल आफ्नो मन्तब्यको क्रममा बोल्नुहुँदै -“सर्बप्रथम त कथाकार बिना तामाङलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । शब्दहार कृयसन्श प्रालिले यस संग्रहको प्रकाशनको जिम्मा लिएको हो । शब्दहार कृयसन्श प्राली राम्रो कृति लेख्ने क्षमता भएका तर ओझेलमा परेका व्यक्तिहरूलाई सबैसामू ल्याउने प्रयासमा थालनी गरिएको संस्था हो । हालसम्म ५५ जना साहित्यिक मनहरू हाम्रो यस कार्यमा सहकार्य गर्दै हुनुहुन्छ र यहाँहरू पनि यसमा आबद्ध हुन सक्नुहुनेछ । हामीले बिद्या साप्कोटाको “स्वास्नी मान्छे” को प्रकाशनको पनि जिम्मा लिएका छौ । हाल यस संस्थामा ६ जना कार्यरत छौ, जसमा म बाहेक अन्य साथीहरू बिदेशमा हुनुहुन्छ ।”
“शब्दहार कृयसन्श प्रालिको स्थापना ओझेलमा परेका उत्कृष्ट साहित्यिक कृतिहरूलाई प्रकाशन गर्ने जिम्मा लिएको संस्था हो र यसले मात्रिभाषाका साहित्यहरूलाई पक्कै ध्यानमा राख्ने छ । मात्रिभाषालाई साहित्यको फल्न फुल्न दिन हाम्रो प्रयास यसरी नै रहिरहनेछ । त्यही शिलशिला बिना तामाङको ‘छुकी”बाट पहिलो पुस्तक प्रकाशन गर्दै सुरु भएको छ ।”
“हामी यसलाई सम्भब भएसम्म तामाङ लिपी मै निकालौ भन्ने सोच थियौ । तर उहाँले त्यो उपलब्ध गर्न-गराउन सक्नुभएन । यसबारे तामाङ डाजाङले आगामी दिनमा सोच्न सुझाउछु । नयाँ संग्रह नयाँ उमङ्ग बोकेर आएको छ । लेखिका शिक्षन पेशामा आबद्ध रहेको हुनाले हरेक शैक्षिक चेतना जगाउने प्रयास भएको छ । यो कृति सफलताको लागि कामना ।”
बरिस्ठ पत्रकार तथा समिक्षक फूलमान बल आफ्नो भनाइ राख्नुहुँदै – “एक दिन अफिस बसेर काम गर्दै थिएँ । फेसबूकमा फोटो ट्याग गरेको नोटिफिकेशन आयो, आखिरमा त्यही तस्बिर पो संग्रहको कभर पेज रहेछ । बैरागी काइलाले भन्नुभएको भनाइ वास्तवमै सही लाग्छ । हो उहाले भनेजस्तै अहिले भाषामा चौतर्फी रुपमा आक्रमण भैरहेको छ । त्यसैले यसको सम्बर्द्धन संरक्षण हुनु जरुरी छ । आठ बर्षअघि आफुले पनि द्वन्दसँग जोडेर तामाङ बिम्बहरूको प्रयोग गरेको थिएँ तर त्यो सम्पूर्ण रुपमा सफल हुन नसकेको अवस्था थियो । यस सवालमा बिना थिङ सफल रुपमा प्रस्तुत हुन सक्नुभएको छ । तामाङ समाज भित्रका कुराहरूलाई अझ स्पस्ट रुपमा प्रस्तुत हुन सक्षम देखिएका छन् कथाकार ।”
“नेपाली साहित्य भन्डारलाई अझ ठुलो बनाउन यो कथा संग्रहले महतव्पूर्ण स्थान राख्दछ भन्ने कुरामा विश्वस्त छु । नारी भावना, द्वन्द, यौन, प्रेम, सांस्कृतिक चेतना भएको कथाको रुपमा छुकी पाउन सक्छौ । त्यसर्थमा यो समाजको ऐना हो झै लाग्छ । कथाले काठमाडौं र काठमाडौं आशपासका ठाउँहरूमा केन्द्रित रहेर लेखिएको लाग्छ । हामीले भोगेकै कुराहरूलाई पात्र बनाइ अझ सुन्दर तरिकाले व्याख्या गरिएको छ । यसभित्र थुप्रै चिजहरू पाउन सकिन्छ, यहाँले त्यसको लागि भने यो कथा संग्रहभित्र अट्नै पर्ने हुन्छ ।”
नेपाल प्रज्ञा प्रतिस्ठानका मात्रिभाषा संरक्षक सुलोचना मानन्धर आफ्नो भनाइ राख्नुहुँदै – “साहित्यिक भन्डारहरू भरिदै छन्, भरिएर पोखिदै छन् । मान्छेको मनभित्र अनेकन भावनाहरू खेलिरहेको हुन्छ । त्यही अनेकन भावनाहरूलाई कथाकारले बिभिन्न परिवेश् खडा गर्दै कथाको रुप दिएको मलाई लाग्छ । छुट्टाछुट्टै भाषामा छुट्टाछुट्टै बिम्बहरू प्रयोग गरेको हुन्छ । त्यसैले यी बिम्बहरूको बिशिष्ट प्रयोगले गर्दा नै प्रतेक भाषा आफ्नै किसिमको छुट्टै मौलिकता राख्ने गर्छ । अन्य बिधाहरू जस्तै कविता, गजल बिधाहरूमा अन्य धेरै तामाङ महिला श्रष्टाहरू भएतापानि यस बिधामा भने मैले पाएकै छैन । पारिजातपछि दोश्रो तामाङ महिला बिना तामाङ हुनुपर्छ ।”
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काँइला भन्नुहुन्छ – “नेपालीहरू भाषाको धनी देश भनेर चिनिन्छ । नेपाली भाषामा कलम चलाऊने महिलाहरू निकै भएपनि मातृभाषामा कलम चलाऊने महिलाहरू निकै थोरै छ्न् । सम्पन्न साहित्य भएको भाषाको रुपमा तामाङ भाषालाई पनि लिन सकिन्छ । कुनै भाषा अत्यन्तै बिशिष्ट भएपनि लेखन र प्रकाशन भएको छैन । त्यसैले मातृभाषामा उत्कृष्ट साहित्यहरूले स्थान पाउनुपर्दछ । कुनै पनि साहित्य जुनसुकै भाषामा लेखियोस् तर त्यो सामाजिक रुपान्तरणको लागि हुनुपर्छ समाज परिवर्तन र बिकासको लागि हुनुपर्छ ।”
साहित्यिक संजाल नेपालका अध्यक्ष दिपक कथितले यस कथा संग्रहको भाषा सम्पादन गर्नुभएको थियो । उहाँले भन्नु भयो – “छुकी कथा संग्रह मान्छेको हृदय हल्लाउने कथा हो । हृदय नै हल्लाउने कथाले मान्छेको मन पनि पक्कै छुन्छ भन्ने विश्वाश गर्न सकिन्छ । सरल शब्दहरूमा गहन भाबलाई समेट्न सक्नु कथाकारको बिशेषता देखिन्छ । कथा बुझ्न धेरै कस्ट गर्नुपर्दैन किनभने कथा आफ्नै ढङ्गले सलल बगिरहन्छ । यस कथाले ग्रामीण पारीवेशलाई छोएको छ । काठमाडौं वरिपरिका पात्रहरू, तामाङ पात्रहरूलाई समाबेश गरिएको पाईन्छ । यस संग्रहमा समाज भित्र घटेका घटनाहरूलाई नै समाबेश गरिएकोले नौलो बिषयबस्तु पाउन सकिन्न ।”
“यस कथा संग्रहमा समाबेश कथाहरूले कौतुहलता उब्जाउदैन । यो सकरात्मक वा नकरात्मक दुबै हुन सक्छ । प्रयास: एकै वर्गका पात्रहरूलाई समाबेश गरिएको छ । संबाद प्रशस्त भेटिन्छ तर जुनसुकै स्तरका पात्रले बोलेका सम्बादहरू उस्तै लाग्ने खालका छन् । प्रबाल सम्भावना बोकेको क्थाकारको रुपमा बिना तामाङ लाई लिन सकिन्छौ ।”
भाषाबिद अमृत योन्जन – “यसभन्दा अघि ६ महिलाले अन्य बिधाहरूमा आफ्नो संग्रह निकालिसकेको हुनाले तामाङ संग्रह निकाल्ने महिलामा सातौ महिला हुन् । यही महिनामा मात्र दुई भिन्न तामाङ महिला श्रष्टाको कृति बिमोचन हुनु खुशीको कुरा हो ।”
“हाल आएर साहित्यिक कृति निश्चित समयको लागि मात्र निश्चित प्रायोजनको लागि लेख्ने चलन बढेको छ । मान्छेले मनमा के छ त्यो लेख्दै भुलाउने माध्यम बनाएको छ तर दर्शन-चिन्तन केही पाइन्न । जुन साहित्यमा दर्शन र चिन्तन भन्ने चिजहरू हुन्न, त्यो हुनसक्छ केही समयको लागि चर्चामा तर त्यसको दिगो टिकाउ हुन्न । त्यसैले कुनै पनि साहित्यलाई टिकाउनु छ भने त्यसमा चिन्तनशिल बिचारलाई अङ्गाल्नुपर्छ । दर्शन भएको साहित्यले मात्र समाज परिवर्तनको काममा अग्रसर गर्न सकिन्छ ।”
कार्यक्रममा दर्जन तामाङ साहित्यकारहरूले आफ्नो साहित्यिक प्रस्तुतिहरू राख्नुभएको थियो भने बुद्धि तामाङ, जनगायक जीवन शर्मा लगायतका व्यक्तित्वहरूले आफ्ना भनाइहरू राख्नुहुँदै बिना तामाङका कृति संग्रहको लागि शुभकामना शब्द राख्नुभएको थियो । उक्त कार्यक्रम तामाङ भाषामा सञ्चालन हुँदा गैर तामाङ श्रष्टाहरू भने भाषा नबुझ्दा अलमल्लमा परेका थिए । त्यसैले तामाङ भाषामा भन्दा नेपाली भाषामा कार्यक्रम सन्चालन गरेको भए उत्तम हुन्थ्यो भन्ने गैर तामाङ श्रष्टाहरूको अस्पस्ट ध्वनि सुनिन्थ्यो । कार्यक्रम समापन तामाङ डाजाङका अध्यक्ष बुद्ध योन्जन द्वारा गरिएको थियो । उहाँले गाउँगाउँसम्म तामाङ साहित्यलाई लैजाने र नयाँ प्रतिभाहरूलाई फल्न फुल्न दिन प्रयास गर्ने प्रतिबद्धता सेमत् जाहेर गर्नु भयो र सो अभियान ललितपुरको एक गाउमा साहित्यिक कार्यक्रम लगेर सुरु गरेको कुरा राख्नुभयो ।

