टोरोन्टोमा सप्ताहान्तका रातहरूमा ‘रेस्टुराँ’ र ‘नाइटक्लब’ जानु यहाँका युवायुवतीहरूको दिनचर्या भित्रै पर्ने रहेछ । म भने पूर्वीय समाजबाट आएको पश्चिमी समाजको नवप्रवेसी भएकोले सबै परीवेश नौलो लाग्थ्यो । रात्रीकालीन काम, शुक्रबार साँझको लगभग नौ बजेको थियो । म, सदा झैँ अफिस जान, फलामे पाङ्ग्रा भएको बिद्युतीय गाडीमा चढेँ । एक अधबैँसे युवक र बीस-बाइसे युवती मभन्दा अगाडिको सिटमा आएर बसे ।
उनीहरूको कुराबाट थाहा भयो उनीहरू डेभ र लिजा रहेछन । त्यसपछि पश्चिमेली पारामा मायाको प्रचलित अभिव्यक्ति साटासाट भयो साथै शुरू भयो ती क्रियाकलापहरू जून हामी पुर्वेलीहरू रातको सुनसान, बन्द कोठा र एकान्त बाहेक सोच्न समेत सक्दैनौँ । आलिङ्गन र चुम्बन त यहाँको कपको केक नै रहेछ । मैले अलिक असहज महसुस गरेँ । मनमनै सोचेँ कस्तो प्रेम ! कति धेरै समर्पण ! प्रेममा डुबेपछि अरू कसैको उपस्थितिको पर्बाह नहुने ! यस्तै सोच्दै थिएँ कि गन्तब्य आइसकेछ । गाडी रोकियो र म पनि हतार-हतार ओर्लिएँ ।
बिहानको साँढे पाँच बजे म आफ्नो काम सकेर नजिकैको विद्युतीय गाडीको स्टेसन पुगेँ । यहाँ मौसमको कुनै भर हुँदैन, क्षण क्षणमा परिवर्तन भैरहन्छ । साँझको न्यानो मौसम फाटफुट बर्षादका बुँद सँगै अलिक नै चिसो भएको थियो । धन्य स्टेशन छानामुनि भएकोले वर्षाको असर पर्दैन । दाँयातिरको पेटीको दृश्यमा आँखा टक्क अडिए । डेभ र लिजालाई अर्को एक युवकसँग देखेँ । संयोग नै भनौँ, मोबाईलको घन्टी बज्यो । लिजाले आँखा खोली । उनीहरूलाई अलक्क पन्छाइ र जुरुक्क उठी । माथि सरेको छोटो जामा र टिसर्ट तानतुन पारी । उनीहरू अझै अचेत जस्तै लडिरहे । लिजाले मुस्कुराउदै मतिर हेरी अनि आँखा र हाउभाउले ती पुरुषहरूतिर सङ्केत गरी ।
उसले मुसुक्क हाँस्दै दुईवटा औँला ठड्यायर दुईको सङ्केत देखाई । त्यसपछि बाइ-बाइको इशारामा हात हल्लाई र दौडँदै बाटो पार गरी । म अलमल्ल परी ऊ गएतिर नियालिरहेँ । त्यहाँ उभिरहेका दुई युवकलाई उफ्रदै अङ्गालो मारी र पालैपालो चुम्बन गरी ।
म भने “आई लभ यू सो मच” (म तिमीलाई धेरै माया गर्छु)को गुन्जनसँगै उनीहरूको प्रेमको गहिराइ नाप्ने प्रयासमा विद्युतीय गाडी आउने बाटोतिर एकोहोरो आँखा तानिरहेँ ।
टोरोन्टो, क्यानाडा
अक्टोबर ४, २०१२
