Skip to content

राष्ट्रको पुकार

नजानु हैत लाहुरे भई कतै बिदेशमा
डटेर पौरखै यहीं गरौं बसी समाजमा
भिडेर नित्य देशमै छ काम यो बिकासको
दिएर चित्त मेलमा सिकेर कार्य बेसको |१|

जताततै छ काम यो, मधेशमा पहाडमा
गरेर खानु पर्छ है लिएर सीप हातमा
किसानको बिकास यो, परिश्रमै निकास हो
मिलेर हिड्नु पर्छ है, सुमार्ग यो बिकासको |२|

बिदेशमा गए कतै, हुदैन है बिवेक पो
बिवेकले स्वदेशमा, सहस्र प्राप्त हुन्छ जो
कि सैन्य राष्ट्रको भई, म देश नै बनाउँछु
कि शान्ति कायमै गरी, म राष्ट्र नै मिलाउँछु |३ |

गरी अठोट आफुले, नताक दुष्टको मुख
दुखी भए सबै जना, हटाउँ है सबै दुख
पुकार राष्ट्रको यही, छ देशमा कठैबरी
छ मुख्य माग देशको, बिकासकै सधैं भरी |४ |

मिलेर बस्नु पर्छ है, र खानु औ खुवाउँनु
सुखै त गर्नु पर्छ नै, र धर्म चैं नछाडनु
गरेर खानु पर्छ नै, नगर्नु है कुकर्म पो
सगर्व बाँच्नु पर्छ है, त ! देशको पुकार हो |५ |

धनै त हो कमाउँने र कर्म छुट्नु हुन्न है
छलेर कार्य नै गरे, गिरेर ज्यूनु पर्छ है
न भेदभाव नै गरे, भए सबै समानका
म राष्ट्रमा बसेर नै, निहाल्छु बिश्वको कथा |६|

नसोच है कतै तिमी, बिदेश हो अजम्बरी
बिदेशमा त छैन है, भबिष्यको सुखोन्नती
दुखान्तको कथा भयो, बिदेशको समुन्नती
दुखै भयो सधैं भने, नझार्नु आँसु नै रती |७|

गएर अन्त हाँस्नु नै, स्वदेशको बिरोध हो
बिदेशमा र देशमा, छ देश नै सु–सोर्ग यो
म सेवकै हुँ देशको, गरें सधैं परिश्रम
र देशको सधैं सधै,गरी बसें परिक्रमा |८|

२०६८।९।१५ ईटहरी–५ पचरुखी
छन्द :- पन्चचामर
गण :- ज र ज र ज गु

Leave a Reply

Your email address will not be published. Required fields are marked *