Skip to content


बर्षौपछि तिम्रो दर्शनार्थ उपस्थित भएँ
दिङ्ला ! तिमी त अर्कै भएछौ;
तिम्रो सुन्दरता लोप भएछ
चञ्चलता समाप्त भएछ
प्रकृतिको सुन्दर उपहार देख्थेँ; तिमीलाई
थोत्रो बाकस जस्तो देखेँ
त्यहाँ खियालागेको देखेँ
छिद्रा परेको देखेँ, अनि देखेँ
अनाथहरूले ढुङ्गाले हानेर कुच्याएको देखेँ
तिम्रो अनुहार बिग्रिएको देखेँ

तिम्रा वरिपरिका बस्तीहरू,
खण्डहरै खण्डहर भएको देखेँ
त्यो रुद्राक्षवागमा गएर हेर्दा
हनुमानले दहनगरेको लङ्का देखेँ
उहिलेको त्यो मिठो सम्झनालाई
बर्तमान सँग दाँज्न खोजेँ
सकिन, पटक्कै; सकिन

षडानन्द पनि लखतरान भएछन्
हातमा माला शिवाय केही छैन
शिक्षको ज्योति शङ्खघोष गर्ने
हे ! दिङ्लाका पिता !!
आज मुकदर्शक किन ?
अधुनिकतासँगै घुँडा टेक्यौ हैन ?

षडानन्द ! तिम्रो दिङ्ला,
कुरुप छ , स्वरुप बिनाको छ
आकार छ, अकृति छैन
प्रकार छ, प्रकृति छैन
तिम्रो श्रृष्टि भनु वा निर्माण
तिम्रा भगवान पनि
साटिएका हुन सक्छन्
तिम्रो कैलाशमा
फुलको वास्ना चल्न छाडिसकेछ
त्यहाँ त बिसाक्त बरुदको गन्ध आइरहेछ
हो ! भगवान बस्ने ठाउँमा त
अरुनै बस्न थालिसकेछन्
बेदाश्रमलाई ब्यारेक बनाएछन्
शान्तिको ऋचा घोक्ने ठाउँमा त
बारुदखाना पो बनिसकेछ

आज दिङ्ला सुकुमारी कन्याँ नभै
बिधवा वा पागल जस्ती
फोहारी; फोहोरी; देखेँ
बाला चतुर्दशीको मेला देखेँ
जहाँ, झ्याउरे र जुहारीको त कुरै छैन
मादलको आवाजै सुन्न पाइएन
बिनायो र मुर्चुङ्गाको त कुरै नगरौँ
राडी र जिलिमा पनि सकिसकेछन्

तिम्रो काखमा हुर्केका लालाबाला
ती पनि बिराना भैसकेछन्
दिङ्ला ! म त बित्थामा आएँछु
दर्सन गर्न भनि आएको त
दुर्दसा हेर्न पो आइपुगेँछु
तिम्रो दुर्दसा ……..

२०६४/८/२३ दिङ्ला, बजार

Leave a Reply

Your email address will not be published. Required fields are marked *