आकाशका जून र घाम
निरास भए जस्ता
ताराहरू; बिहानीको सिरेटो सँगै हराउँदा
संसार नौलो जस्तो
मेरो देशको मान चित्रले
मलाई नै गिज्याए जस्तो
मलाई सगरमाथाले भन्दैछ,
खबरदार ! खबरदार !!
मलाई नचला !
म सकिए; तँ पनि रहने छैनस्
आयतन घट्दो छ ब्रह्माण्डको
जून चिसिइ रहेछ, घाम तातिरहेछ
थाहा छैन यो धर्तीका मान्छेलाई
होस पनि कसरी र ? जब कि ऊ आफैलाई जान्दैन
मान्छेले भूगोललाई चिनेन
देशको मान चित्र देखेन
आकार बदलिरहन्छ देशको
सीमा भत्किरहन्छ
मान्छे मरिरहन्छ
सिमा मिचिएका देख्दा
राष्ट्र रुएको बेला, मान्छे मारिरहेको छ
मरेर पनि बाँचिरहेको छ
मान्छे लडिरहन्छ र अझै मरिरहन्छ
साथै ऊ बाँचिरहन्छ पनि
एक टुक्रा माटाको निम्ति
आकाश रोइरहेछ, धर्तीको भागबण्डा देखेर
यसै गरि रातमा जून र दिनमा धाम रुन्छ
आकाश धर्तीको पीडा बोकेर सुन्यतामा हराउँदै
सगरमाथालाई, होच्याउन
भगीरथ प्रयत्न गरिरहन्छ
घाम जून र सारा नक्षत्रहरू साँगुरो आकाशमा
छटपटाउँदै, रोइरहेछन्, बलिन्द्र धारा बगाएर
यसरी आकाश रुन्छ; आँसुले धर्तीलाई
रुझाए जस्तो; भिजाए जस्तो
आफुसँगै रुवाए जस्तो
तर मान्छे कहिल्यै रुन सकेन
सधैँ कठोर कठोर मात्र भैरह्यो; ऊ रुनसकेन
थकित छ आकाश, लज्जित धर्ती
सुत्न चाहान्छ चीर निन्द्रामा
आँखा चिम्लेर रुनचाहान्छ
अत्याचार सहन नसकेर जून, घाम र ताराहरू
तम्सि रहेछन् अत्महत्या गर्न
थाहा छैन यो धर्तीको मान्छेलाई
मान्छेले बिबेकलाई बेच्यो, स्वार्थलाई किन्यो
मानवतालाई मारिदियो, दयालाई पोलिदियो
अब त पायो; मान्छेले सबैथोक पायो
हत्या, आतङ्क, डाह इर्ष्र्या
तर शान्ति पाउन सकेन
अनि आकाश भेट्न सकेन
हो साँच्चै, आकाश भेट्टाएन
मान्छेले, ब्रह्माण्डको दुरी नाप्यो
तर आकाशको दुरी नाप्न सकेन
हो, मान्छेले आकाशको दुरी नाप्न सकेन
आकाशको दुरी नाप्न सकेन
२०६०।१०।१४ तुम्लिङ्टार
संखुवासभा
