नेपाली जनको बिशाल दिलमा, के चोट दिन्छौ तिमी ?
तिम्रो मस्तकमा छ के ? भनअझै, के सोच्न लाग्यौ तिमी ?
आफ्नो काम अझै भएन कि पुरा ? के गर्नु पर्ने थियो ?
लेख्तैनौ किन सम्बिधान? कसरी, के कामले अल्झियो ?
देशै बन्छ भनेर ढुक्क मनले, भोटै दिएका थियौँ ।
जन्ताको नव सम्बिधान रचने, आशा भरोसा लियौँ ।।
कुर्सीको भुमरी चलेर कसरी, कुन्बृत्तमा बज्रियो ?
लेख्तैनौ किन सम्बिधान ? कसरी के कामले अल्झियो ?
यस्तो बिघ्नकठै कठोर किनहो ? ढुङ्गा सरीको मन ।
दूधैदिन्न भने त पाल्नुकसरी ? थारो डिगो पो किन ।।
तिम्रो ध्येय सधैँ कमाउने तिरै, पासो सरी बल्झियो ।
लेख्तैनौ किन सम्बिधान? कसरी के कामले अल्झियो ?
गर्ने काम यहीभनेर पहिले बाचा गरेका थियौ ।
बिर्सिएर सधैं, चटक्क अहिले; बाटो बिराई गयौ ।।
भ्रष्टैको इतिहास रच्न कसरी ? तिम्रो मती झल्कियो ।
लेख्तैनौ किन सम्बिधान ? कसरी के कामले अल्झियो ?
छाडाको, पथभ्रष्ट, दुष्टहरूको, साम्राज्य बढ्दै गयो ।
निर्धाको जहिले निमोठिनु गला, यस्तै चलन् देखियो ।।
मान्छेको खुनमा रमाउनु यहाँ नशासरीकै भयो ।
लेख्तैनौ किन सम्बिधान? कसरी के कामले अल्झियो ?
सुँघ्दा गन्ध एकै र काटे रगतै, उस्तै गरी आउने ।
कानुन् छैनभने सधैँ बलगरी, जन्ता कहाँ धाउने ?
पार्दै छौ अझ देश छिद्र किनहो, ? आगो बिनै सल्कियो ।
लेख्तैनौ किन सम्बिधान ? कसरी के कामले अल्झियो ?
यै नेपाल ठुलो, पबित्र धरती माया नगर्ने किन ?
जन्ताकै हितमा समर्पण गरी कानुन् नबन्ने किन ?
मन्मा तुच्छ अझै बिदेश घुमने इच्छा कति बल्झियो ?
लेख्तैनौ किन सम्बिधान ? कसरी के कामले अल्झियो ?
२०६८।११।१ इटहरी–५
छन्द :– सर्दुलबिक्रिडीत
गण :– म स ज स त त गु
