Skip to content
GhayalSri


उसको वास्तविक नाम हरिप्रसाद भए पनि उसलाई सबैले कान्छा भनेर बोलाउने हुनाले कान्छाले आफ्नो बास्तविक नाम भुलिसकेको जस्तो लाग्छ मलाई पनि । भात कस्ले पकाउने ? कान्छाले । घाँस कस्ले काट्ने ? कान्छाले । भैसी कस्ले दुहुने ? कान्छाले । इत्यादि घरका सबै कामहरू कुनै झर्को नमानी सजिलै पुरा गर्थ्यो कान्छाले । त्यसकारण मलाई लाग्थ्यो कामको सट्टामा प्रयोग गरिने एक मात्र विकल्प थियो कान्छा ।

हुन त उमेरले कान्छा मभन्दा जेठा भए पनि ऊ र म स्कुलका एउटै क्लासका विद्यार्थी पनि थियौं र एसएलसीसम्म सँगै पढेका पनि थियौं । मैले पहिलो पटकमा नै एसएलसी पास गरेको थिए भने कान्छाले तेस्रो पटकको प्रयासमा सफलता पाए तापनि उच्च शिक्षाको लागि उसलाई अवसर दिईएन या उसले अवसर पाएर पनि लिन चाहेन, त्यो त थाहा भएन, मलाई यति मात्र थाहा थियो कि उसको अध्ययन त्यत्तिमै सिमित भयो भन्ने कुरा उसैको मुखबाट सुनेको थिए ।

स्कुले जिवनमा पनि पढाइमा त्यति रुची दिदैनथ्यो । कक्षा कोठाको अन्तिम बेञ्चमा गएर बस्थ्यो । सबै विषयका किताब र कापीहरू बोक्थ्यो । एउटा विषय सकिनासाथ कक्षा कोठामा शिक्षक आइनपुग्दै उसले अब पढ्ने विषयको किताब कापी निकालेर भित्रि पृष्ठहरू पल्टाउथ्यो र किताबका पानाहरूमा भएका चित्रहरू हेर्नमा व्यस्त देखिन्थ्यो । कुन किताबको कुन पानामा कस्तो तस्बीर छ उसलाई सबै कण्ठ हुन्थ्यो । कसैले बोलाएमा मात्र बोल्ने स्वभावको कान्छा संधै आफैमा ब्यस्त देखिन्थ्यो । हरेक शुक्रबार कक्षाकोठा सरसफाई अभियानमा जुट्थ्यौं हामी । जब शुक्रबार आउथ्यो तब स्कुल जाने रहर ओइलाउथ्यो ममा तर कान्छा भने अन्य दिन भन्दा त्यस दिन निकै फुर्तिलो देखिन्थ्यो । कक्षामा पानी बोक्ने देखि लिएर कोठा देखि बेञ्चहरू बाहिर निकाल्ने र भित्र लाने काम ऊ एक्लैले गर्थ्यो त्यसैले गर्दा पनि सबै जनाको प्रीय बनेको थियो कान्छा । विशेषगरी कान्छा मसँग नजिक थियो । किनकि हरेक कुरामा म उसलाई साथ दिन्थे र उसले पनि मलाई साथ दिन्थ्यो । मैले उसलाई साथ दिनुमा भने केही स्वार्थ लुकेको थियो । त्यो के हो भने म कक्षाको सबै भन्दा सानो विद्यार्थी थिए र कान्छा कक्षाको सबै भन्दा ठूलो र वलियो विद्यार्थी । त्यसैले, कसैले मलाई जिस्काएमा वा होच्याएर बोलेमा म सिधै कान्छाको शरणमा पुग्थे भने कान्छाले तत्काल मलाई शरण दिन्थ्यो र मलाई जिस्काउने र होच्याउने व्यक्तिलाई लघार्न पुग्थ्यो ।

कान्छा सानै छदा मुग्लान पसे पनि फर्केर भने आएका थिएनन कान्छाका बाबु । मरे जिउदाको कुनै खबर पनि थिएन र कुनै दिन फर्केर आउने आसमा थियो कान्छाको त्यो परिवार । आमाले निकै दुख गरेर हुर्काएकी थिईन कान्छाका दुई दाजुभाइलाई, पछि कान्छाका दाजु पनि केही धन कमाएर घरको आर्थिक स्थीती सुधार्ने विचारले मुग्लान भासिएको धेरै समय पछिसम्म पनि फर्केन । पछि कान्छाको मुखबाट सुनेको थिए दाजुले पनि उतै घरबार बसायो रे !

उच्च शिक्षा अध्ययन गर्न शहर पसेपछि म शहरतिरै व्यस्त हुन थाले र अझ सानो तिनो जागीरको झमेलामा फसेपछि त झन गाउँ फर्कनलाई चाडबाड नै कुर्नु पर्ने हुन्थ्यो । त्यसपछिका दिनहरूमा कान्छाको र मेरो भेट पातलिदै गएको थियो । बेलाबेलामा कहिले काँही गाउँतिर नगएको पनि होइन म, तर साँझमा घर पुग्यो भोलिपल्ट फर्कनलाई नै हतार हुन्थ्यो त्यसैले कान्छालाई भेट गर्ने चाहना मनमै दवाउनु बाहेक कुनै विकल्प पनि थिएन मसँग । दुरीको हिसाबले केही टाढा थियो हामी दुइको घर र हाम्रो घर देखि कान्छाको घर पुग्न केही उकालो चढ्नु पर्थ्यो । त्यो उकालो चढेर कान्छालाई भेट गर्ने शाहस ममा कहिल्यै पनि आएन । यस पटक घरमा आउँदा आमाले मलाई सुनाउनु भएको थियो –‘बाबु, अस्ति बाटोमा भेट भएर कान्छाले तँलाई सोधेको थियो’

‘ए, के भन्थ्यो र आमा कान्छाले मलाई’ – म कौतुहल नजरले हेर्दै बोलेको थिए मेरी आमासँग ।

के भन्नु नि, ‘अब त तिर्थ भाइले हामीलाई भुले क्यारे कान्छी आमा’ भनेर दुखेसो पोख्दै थियो कान्छाले । समय मिलाएर एक पटक भेट गर न बाबु, तेरो औधि घिड्घिडो छ कान्छालाई अनि उसको आमालाई पनि भेट्न हुन्छ ‘थला परेकी छ रे’

‘किन के भो र आमा कान्छाकी आमालाई ?’

‘के हुनुनी बाबु, उमेरमा गरेको दुख निस्के होला नि बरा’ आमा भन्दै हुनुहुन्थ्यो – तलाई थाहै छ श्रीमान मुग्लान भासिए पनि कति दुख गरेर हुर्काएकी थिईन आफ्ना दुई छोरालाई । मसँग भेट हुँदा सँधै भन्थिन् – ‘आ बैनी, बुढाले नसम्झे त के भो र आँखाका नानी जस्ता चम्किला दुई छोरा छन् पछि यिनैले मलाई सुख दिन्छन्’ भन्दै सारा दुख दुई छोराहरूको अनुहार हेरेर भुल्थिन् । आखिर त्यो भन्दा अर्को विकल्प पनि थिएन ऊसँग । सधैं हाँसेर हिँड्थी । मनमा कुनै पीर नभएझैं सबैसँग हाँसेरै बोल्थी तर ठूलो छोरा पनि मुग्लान भासिएपछि भने उसमा बढी निराशा छाएको थियो , र त्यसपछिका दिनहरूमा उसको मुहार कहिल्यै हँसिलो भएन । आमा अरु के के भन्दै हुनुहुन्थ्यो । तर म भने त्यहाँबाट हिँडिसकेको थिएँ कान्छाको घरतर्फ । कान्छाको घरमा पुग्दा कान्छाकी आमा घरको पिँढीमा शिरमाथि हात अड्याएर घरको भित्तामा अडेस लागेर बसेकी थिइन् । ‘ठूली आमा’ भन्दै म पिँढीमा उक्लिएँ र उनको आडैमा रहेको चकटीमाथि गई बसें ।

‘मलाई चिन्नु भो ठूल्यामा ? ’

उनले टाउको हल्लाएर चिनिन भन्ने जनाउ दिँदै थिइन् । उनका आँखाहरू भित्र पसेका थिए । उनको त्यो अवस्थाले रोग र गरिवी छर्लङ्ग पार्थ्यो । सधैं मलाई आफ्नो छोरा सम्झेर माया गर्ने उनले आज अचानक चिनिन भन्दा उनीप्रतिको स्नेह अझ प्रगाढ भएर आएको थियो । उनको त्यो अवस्थाले मेरो आँखा रसाउन सुरु गरे तापनि म मन कठोर गराउँदै बोलेको थिएँ – ‘म तीर्थ के आमा कान्छाको साथी !’

बूढी अलिक मेरो नजिक सर्दै आफ्नो अनुहार मेरो नजिकै ल्याएर बोलेकी थिइन् –‘ए तिमी तीर्थ हो ? (केही आश्चर्यमा परे झैं गरी) हेर ! कस्तो राम्रो शरीर भएको तिम्रो । अनि कहिले आयौ शहरबाट ?’

‘हिजो आएको आमा’ भन्दै झोलामा लगेका केही फलफूल उनको हातमा राखिदिन्छु ।

‘किन दुख गरेको होला बाबुले’ भन्दै अप्ठ्यारो मान्दै फलफूलको पोका समाउँछिन् र आडमा राख्दै बोल्छिन् –‘धेरै समयमा तिमीलाई देख्न पाइयो बाबु । अनि बाबु त यतातिर आउन पनि छाड्यौ ।’

‘होइन आमा किन छाड्थेंर आउने फुर्सद नमिलेर हो, फुर्सद हुँदा त आइहाल्छु नि । घरमा आमाले तपाइँ बिरामी भएको कुरा सुनाउनु भयो अनि भेट गर्न पनि पाइने, सञ्चोबिसञ्चो पनि थाहा हुने भनेर आएको नि । अनि कान्छा खोइ त?’

‘मेलामा गएको छ बाबु अब आइपुग्छ । कान्छाले त तिमीलाई खुब सम्झिन्छ र भन्छ–तीर्थ भाइ त पढेर खुब ठूला मान्छे भएका छन् । मैले पढ्न सकिन । तीर्थ भाइले पढे पनि गर्व लाग्छ मलाई भनेर सबैसँग भन्छ बाबु । के गर्ने कान्छालाई त कहिल्यै पनि कामले छोडेन, पढ्न पनि सकेन । तिमीले धेरै पढ्दा खुसी लागेको छ बाबु हामीलाई त ।’

म त्यस समय उनका हरेक कुरामा सही थाप्छु र मन दिएर सुन्छु पनि । बूढीले आफ्ना कुरा सुनाउन पाएकोमा खुसी भएको पनि अनुभव गर्छु । मन आत्तिए पनि मलाई कुनै हतार नभए जस्तो गरी बस्छु । त्यसैबेला कान्छा पनि हातमा कोदाली बोकेर धुलोमैलो हुँदै आइपुग्छ र पिँढीको एक छेउमा कोदाली राख्दै मलाई हेरिरहन्छ । म जुरुक्क उठ्छु र बोल्छु–‘कान्छा ।’

उ अझै पनि मलाई हेरिरहन्छ । म उसको नजिक पुग्छु र बोल्छु –‘कान्छा म तिम्रो तीर्थ भाइ, चिन्यौ ?’

एक्कासी ऊ मलाई अँगालो मार्न आइपुग्छ र बोल्छ –‘भाइ … ’

म कान्छाको अँगालोमा बाँधिन पुग्छु । कान्छा विस्तारै बोल्छ– ‘भाइ म त तिमीले भुल्यौ भन्ठानेको थिएँ । तर तिमीले पनि सम्झिँदा रहेछौ, धेरै खुसी लाग्यो ।’ म पुनः त्यही ठाउँमा आएर बस्छु । कान्छा गाग्री लिएर ‘बस है’ भन्दै धारातर्फ लाग्छ र एकै छिनमा पानी लिएर आइपुग्छ । त्यस दिनभर कान्छाको घरमा कान्छा र उसकी आमासँग कुरा गरेर बिताउँछु र हिँड्ने बेलामा कान्छाकी आमाको हातमा १०० का दुई नोटहरू थमाउँदै फेरिफेरि आउने बाचा गरेर फर्किन्छु कान्छाको घरबाट ।

धेरै समयको अन्तराल पछि एक पटक म घरमा गएको थिए । घरका ब्यवहारीक कुराहरू गर्दागर्दै आमाले भन्नु भयो – ‘बाबु तँलाई थाहा छ, कान्छाको त विहे भयो नि ?’

‘हो र आमा कहिले र कहाँ भयो ?’ मैले आश्यचर्यमा परेर आमालाई प्रश्न गर्छु ।

‘८/१० दिन जति भयो ।’

‘तिर्थ भाइलाई बोलाउनु पर्यो कान्छीआमा’ भन्थ्यो कान्छाले तर त्यत्ती टाढाबाट आउन सम्भव नहोला जस्तो लाग्यो र खबर नगरेकी मैले ।

ए हो र आमा ?

आमा भन्दै हुनुहुन्थ्यो –‘कुल घरानकी अनि पढेकी केटी छ भनेर उसका इष्टमित्रहरूले बिहे गराइदिएछन् । कान्छाले त म विहे गर्दीन भन्दै थियो रे तर सबैले कर गरेपछि र आमाले पनि ‘बिहे गर कान्छा मलाई सहारा हुन्छ’ भनेपछि बिहे गर्न राजी भएछ । तर केटीले भन त्यो घर गरेर खाली जस्तो लाग्दैन बाबै मलाई त ।’

‘हो र आमा कसरी बुझ्नु भो त नयाँ बेहुलीलाई ?’ मैले प्रश्न गरेको थिए मेरी आमासँग ।

हामी त्यसै बुढाबुढी भएका छैनौं बाबु, ‘कुचो बाट्नु लच्छिन बिचार्नु’ भन्छन् केटी भित्राउने बेलामा म पनि कान्छाकी आमा सँगै थिए । सबै जनाले ‘कस्तो आजकलको जमानामा यति धेरै पढेर पनि शासुको गोडा ढोगी’ भनेर बेहुलीको प्रशंशा गरेका थिए । तर त्यत्तिबेला कान्छाकी आमाको अनुहार उज्यालो थिएन । पछि मैले कान्छाकी आमासँग सोधेँ – दिदी कस्तो लाग्यो त बुहारी ?

मैले यति भन्दै गर्दा कान्छाकी आमाको गला अबरुद्ध भएका थिए । र पछि थाहा पाएकी थिए बुहारीले त शिर निहुराएर बुढीका खुट्टा नै छोएकी रहिनछ । तर सबैले गोडा छोइ भनेर बेहुलीलाई फुरुङ्ग पारेका थिए ।

आमा केही कठोर भावमा बोल्दै हुनुहुन्थ्यो – हेर तिर्थ ‘स्वाती बुदले मोती जन्मीन्छ’ भन्छन् मलाई त त्यस्ता दुइ दाँते बुहारी चाहिदैन । जे मनमा छ त्यो देखाउनु पर्छ । यदि तेरो स्वास्नीबाट पनि यस्तै व्यवहार

भयो भने त म तिमिहरूलाई घरमै छोडेर तिर्थ गै दिन्छु । आमाले कान्छाको बारेमा भनिरहँदा अझ गहिरो चोट परेको थियो किनकि म पनि चाहन्थ्ये रात दिन बुढी अनि रोगी ति शासु आमाको सेवामा जुट्ने बुहारी होस । अनि त्यो सोझो कान्छाको संसारमा ज्योती बनेर उज्यालो छर्ने मदनकी मुना जस्तै कान्छाकी कान्छी होस् । तर बुढाबुढीको समस्या अहिलेका कुनचाँही आधुनिक बुहारीहरूले बुझ्न सक्लान् ? अहिलेका बुहारीहरू आधुनिक हुने होडबाजी गर्दै शिक्षीतको नाउमा शिक्षाको नै उपहास गरी रहेछन् ।

दिनले रात अनि रातले दिन पछ्याउने क्रम जारी थियो । जिवन संघर्षको यस युद्धमा होमीएका प्रत्येक प्राणिहरू आफ्नो गन्तव्य विहिन यात्रामा दौडीने क्रममा चेतनशिल प्राणी भनिने हामीहरू चेतना विकास गर्ने वहानामा झन संघर्षको बाटो रोज्दै छौं । जति ज्ञान प्राप्त गर्छौ त्यत्तिनै बढी संघर्षमा होमिने गर्दछौं । यस कार्यबाट म आफूलाई पनि टाढा राख्ने अवस्थामा थिइन । त्यस समयको बिचबाट पनि मेरो बाल भनौं स्कुले साखी कान्छालाई सम्झीरहेको हुन्थे । उसको परिवारमा सुख छाओस, ति बुढी आमाको स्वास्थ्य राम्रो होस् र त्यो परिवार गरिबी बाट टाढा रहोस भन्ने चाहन्थे । समय समयमा म कान्छाको घरपरिवारको अवस्था पनि बुझ्ने गर्दथे । अहिले त कान्छाको आमाको स्वास्थ्यमा केही सुधार आएको छ भन्ने खबर पाउँदा मनमा केही खुसी छाएको थियो तर बुहारी भनौं कान्छाकी श्रीमती भने घरमा छैन भन्ने कुराले म आफूलाई केही कुराले थिचे जस्तो लागेको थियो । तर बुझ्दै जाँदा कान्छाकी श्रीमती बजार बसेर पढ्न थालेको कुराले भने केही खुसी तुल्याएको थियो । उच्च शिक्षा हासिल गरी जागीर खाएर त्यो परिवारलाई सुखको बाटोमा डोर्याउन सकोस भन्ने कामना पनि गरेको थिए तर शिक्षित र अशिक्षित बिच हुने असमानता र त्यसबाट उत्पन्न हुने परिणाम रोग र गरिबी भन्दा पनि भयानक समस्या हो जस्तो लाग्थ्यो मलाई । जे होस्, जसरी होस्, कान्छाको घरपरिवार सुखी रहनु पर्छ भन्नेमा मेरो दुइ मत भने थिएन ।

अचानक एक दिन घरबाट आमाले फोनमा भन्नुभयो ‘बाबु, कान्छाकी आमालाई अहिले अलि च्यापेको छ । शहरतिर लगेर एकपटक जँचाउन पाए केही बिसेक हुन्थ्यो कि, तीर्थ भाइसँग सल्लाह गरौं कि भनी कान्छो भन्दै थियो । तिमी के भन्छौ?’ आमाको उक्त प्रश्नमा मैले भनेको थिएँ, ‘हुन्छ नि, मेरो ठेगाना दिएर कान्छा र आमालाई पठाइदिनू ।’ त्यस दिन म कान्छासँग पनि कुरा गरेको थिएँ र कान्छालाई मसम्म आइपुग्नको लागि बाटो बताएको थिएँ । पहिलेको भन्दा त्यस दिन कान्छाको स्वर केही काँपेजस्तो लागेको थियो । नभन्दै केही दिनको अन्तरालमा कान्छा र उसकी आमा म बसेको ठाउँसम्म आइपुगे । पहिले जस्तो हँसिलो र फरासिलो थिएन कान्छा न त उसकी आमा नै थिइन् । कान्छाकी आमाको अनुहार फुल्दै गएको मैले अनुभव गरें र मनमनै भने,ं ‘मनको रोग दैव जानून् ।’ शहरमा नाम चलेका डाक्टरहरूकहाँ लगेर चेक गरायौं र औषधी लिएर आयौं । कान्छा रातदिन आमाको सेवामा जुटेको थियो । एकदिन कान्छा बाहिर निस्किएको समयमा उसकी आमासँग सोधेको थिएँ, ‘ठूली आमा अनि बुहारी कस्ती छिन् त ?’ उनले मेरो बोली पूरा नहुँदै सेता अनि ठूला आँखा बनाएर मलाई हेरेकी थिइन् तर केही बोल्न भने चाहिनन् । ‘ठीकै बाबु’ मात्र यति नै बोलिन् ।

‘अनि कसरी धान्नु भएको छ त खर्च ठूली आमा ? बुहारीले बजार बसेर पढ्न थालेपछि त खर्च पनि बढे होला ?’

यसपालि भने उनले मलाई आफ्नो दुख यसरी पोखिन्–

‘बाबु तिमीलाई थाहै छ घरको अवस्था, झन् कान्छाको बिहे गरेपछि त ऋण बढेर शिर ढाक्नै थाल्यो । त्यसैमाथि बुहारीले ‘म पढ्छु’ भनेर जिद्दी गरेपछि मैले कसरी नाइँ भनूँ ? म पनि औषधीको भरमा बाँच्नुपर्ने, त्यसैमाथि डाँडामाथिकी जूनजस्ती के गर्न सक्छु र ? तिमी आफैं निर्णय गर भनेर सबै व्यवहार छोडिदिएकी छु । बुहारीकै सल्लाहले अस्तिमात्र तलको खेत बेच्यौं । अब सम्पतिको नाममा त्यही घरको झुप्रोमात्र बाँकी छ । मलाई त मेरो भन्दा पनि त्यही कान्छाको चिन्ता छ । भोलि गएर यसले दुःख पाउँछ कि भन्ने त्रासले मेरो बिमार झन् बढाएको छ । रातदिन मेरै सेवामा जेट्छ यो कान्छा । बुहारी त घरको पाहुना जस्तो छ । उतै शहरमा बस्छे, पढ्छु भन्छे । मलाई केही थाहा छैन । मलाई त यही कान्छाले दुःख पाउँछ कि भन्ने पीर छ । बरु तीर्थ बाबु ! तिम्रो पनि त स्कुलको साथी हो कान्छा । केही गरी म मरेंपछि यसले दुःख पायो भने यतै ल्याएर उसलाई आफ्नो पेट पाल्ने बाटो देखाइदिनु है ।’ यति भन्दै गर्दा उनका आँखा आँसुले टम्म भरिएका थिए र भारी भएको नाक आफ्नो मजेत्रोले पुछेकी थिइन् ।

‘ल ठूली आमा पनि, यसरी मन सानो बनाउनु हुन्न के ! हामी छौं नि त’ मैले यति भन्दै गर्दा मेरो आँखा पनि भरिएर आएका थिए । तै पनि पुरुष मनले दबाउन बाध्य थिएँ म । त्यसैगरी एक दिन कान्छालाई पनि एकान्तमा सोधेको थिएँ–‘कान्छा, तिमी घरको अभिभावक जस्तै भएका छौ । अनि के कसरी धानेका छौ त घरको आर्थिक अवस्था ? रातदिन आमाको सेवामा पनि जुटेकै छौै । आमाप्रतिको तिम्रो यो सेवा देख्दा लाग्छ तिमी महान् छौ कान्छा ।’ मैले यति भन्दै गर्दा कान्छा केही मुस्कुराए तापनि उसको अनुहारमा मलिनता प्रस्टै देखिन्थ्यो । लाग्थ्यो ऊ धेरै समस्याले थिचिएको छ । नथिचियोस् पनि कसरी ? आम्दानी छैन । रोगी आमाको औषधी खर्च, श्रीमतीको पढाइ खर्च ऊ आफैंले जुटाउनु पर्थ्यो । कान्छाले मलाई एकोहोरो हेरिरहेको थियो र मसँग बोल्न अप्ठ्यारो मानिरहे जस्तो लाग्थ्यो मलाई । त्यसैबेला मैले भनेको थिएँ–‘कान्छा, अहिले तिमीले धेरै दुःख गरेका छौ, पछि तिम्रो भागमा सुख पर्ने छ किनकि भाउजुले पनि पढ्दै हुनुहुन्छ । पढाइ सकेपछि राम्रै जागिर अवश्य पाउनु हुनेछ । त्यतिबेलासम्म ठूली आमाको बिमार पनि निको हुनेछ’ भन्दै कान्छालाई हेरेको थिएँ । कान्छा भने केही शुष्क हाँसोमा आकाश नियालिरहेको थियो ।

त्यस बसाइ अवधिमा मैले कान्छा र कान्छाकी आमालाई सक्दो सहयोग गर्ने मौका पाएँ । हप्ता दिन जतिको बसाइपश्चात् उनीहरू गाउँ फर्के र फर्कने बेलामा कान्छाले मलाई एकपटक भनेको थियो “तीर्थ भाइ, तिमीलाई खुब दुःख दियौँ गाहारो नमान्नु र कुनै एकदिन तिमीलाई मेरो मनभित्रको भारी कुरा बताउँछु । त्यसदिनबाट मेरो मन हल्का हुनेछ” । कान्छाको त्यस कुराले मलाई झन कौतुहल बनाएको थियो र कान्छाको त्यस भारी कुरा सुन्ने प्रतिक्षामा थिएँ ।

दिनले रातलाई अनि महिनाले वर्षलाई पच्छ्याउने क्रम जारी थियो । त्यस बीचमा कति आँसुहरू खोलासरी बगे त कति हाँसोका पलहरू फूलसरी मुस्कुराएका थिए तर कान्छाको जीवनमा भने आँसुमात्र बगेको देखें मैले । ऊ झनै निराश र एक्लो बन्दै गैरहेको थियो । उसलाई एकान्त नै प्रिय लाग्न थालेको थियो । कुनै कुराले उसलाई थिचिरहेजस्तो लाग्थ्यो मलाई । पटकपटक कान्छाकी आमाले मलाई भनेकी पनि थिइन् ‘तीर्थ बाबु, यो कान्छा त झनै दुखी बन्दै गैरहेको छ । उसको अनुहार कहिल्यै हँसिलो छैन । एकपटक बाबुले सम्झाए उसले बुझ्ने थियो कि ?’ र मैले कान्छालाई सम्झाएको पनि थिएँ मानवजीवन र यस जीवनको कर्तव्य, मान्छे हँसिलो रहँदाका फाइदा र निराश हुँदाका बेफाइदाहरू । तर पनि उसमा कहिल्यै परिवर्तन आएन । कान्छा झन् निराश र दुखी बन्दै गैरहेको मैले अनुभव गरेको थिएँ । धेरैपटकको भेटमा पनि उसले आफ्नो श्रीमतीको बारेमा कुरा गर्न नचाहनु र मैले कुरा उठाए पनि झन् निराश देखिनुले कान्छा आफ्नी श्रीमतीबाट प्रताडित छ भन्ने कुरा सजिलै अनुमान लगाउन सक्थें म । तर मेरी श्रीमती यस्तीउस्ती भनेर श्रीमतीको कुरा नकाट्नुले उसभित्रको स्वाभिमान प्रष्ट झल्किन्थ्यो । कान्छा कर्तव्यनिष्ठ अभिभावक जस्तै देखिन्थ्यो ।

यसपटक गाउँघरमा एउटा खबर सुन्नमा आयो–कान्छाकी श्रीमती पाउने छे रे ! गर्भवती हुनु कुनै ठूलो कुरा होइन , तर बिहे लामो समयसम्म पनि गर्भ नरहेमा गाउँघरमा शङ्काको दृष्टिले हेर्ने गरिन्छ । र त्यस्तै शङ्काको घेरामा परी कान्छाकी श्रीमती । ऊ गर्भवती भएको कुरा गजबको विषय भयो । मैले त्यस कुरालाई त्यति मुख्य ठानिन , र जुन दिन सुनें त्यसै दिन बिर्सिएँ पनि । बरु कान्छाकी आमालाई बिमारले च्याप्दै लगेको कुराले भने मलाई पिरोल्दै लग्यो । हरेक पटक घरको सम्पर्कमा रहँदा कान्छाकी आमाको स्वास्थ्य अवस्था बुझ्ने गर्थें गाउँघरको व्यक्ति अथवा कानछाकी आमालाई जानेबुझेको व्यक्ति मेरो सम्पर्कमा आउँदा पनि म काान्छाकी आमालाई सोध्न भुल्दिनथें । म किन कान्छाको परिवारप्रति यति आत्मीय हुन चाहन्छु त्यो त मलाई थाहा थिएन । तर यो थाहा थियो कि म कान्छाको परिवारको असल शुभचिन्तक हुँ ।

सम्झनेहरूका लागि बाँच्नुपर्ने यो संसारमा सम्झनेहरूकै कारण दुख्ने पनि गरिन्छ । यो संसारमा कैयौं प्राणि छन् र ती सबैको वियोगमा क्षणिक बिलौना गरे पनि आत्मीय जनको वियोगले धेरै दुखाउँदो रहेछ । त्यसरी दुख्नुपर्ला भन्ने सोचेको थिइन, अचानक दुख्न पुगें म । एकाबिहानै एउटा अशुभ खबर सुनें । हिँड्दै गरेका पाइलाहरू रोकिए । पाइतालामुनिको जमिन भासियो । कठै कान्छा ! भन्दै थचक्क बस्न पुगें म । बिहान मर्निङ वाकको समयमा मेरी आमाले खबर सुनाउनु भयो ‘बाबु आज कान्छा एकाबिहानै कान्छाकी आमा सधैंका लागि निको भएर गइन् । अब उनको र हाम्रो संसार एउटै रहेन ।’ मैले कुरा बुझिसकेको थिएँ किनकि त्यो भन्दा पहिले पनि खबर सुनेको थिएँ – कान्छाकी आमालाई झन् गाह्रो हुँदै गएको छ । आजदेखि अब कुनै दिन कान्छाकी आमाको बारेमा कुनै खबर सुन्न पाउने छैन मैले । त्यो भन्दा पनि मलाई कान्छाकी आमा यस धर्तीमा रहिनन् भन्ने कुराले कान्छामाथि परेको बज्रपात सम्झें अनि बेस्सरी आँखा चिम्लेर मैले मेरी आमालाई सम्झें । आँखा खोल्दा मेरो आँखामा आँसु भरिएको थियो ।

ाम विशेषले घरमा जाँदा यसपाली मलाई कान्छाको घरमा जान मन लाग्यो र घरमा आमालाई जानकारी गराएर कान्छाको घरतर्फ लागें । कान्छाको घरमा पुग्दा कान्छाकी श्रीमती बाहिर पिँढीमा बसेर कपाल कोर्दै रहिछन् । ‘नमस्कार भाउजू’ भन्दै म बलेसीमा उभिएँ । म तर्फ फर्किएर ‘नमस्ते’ भन्दै उनी आफ्नो सुरमा कपाल कोरिरहिन् । मैले गरेको अभिवादन मात्र फर्काइन्, अरु केही बोल्न चाािहनन् । मलाई अप्ठ्यारो लाग्यो । सोधें–‘आनि दाइ खोइ त भाउजू ?’ ‘खेतमा जानुभएको छ,’ मलाई नहेरेरै उत्तर दिइन् । पिँढीमा बस्ने ठाउँ देखिन, मात्र एउटा चकटी त्यसैमा उनको दुई जिउको शरीर विराजमान थियो ।

‘अनि भाउजू दाइ अनि तपाइँलाई आरामै छ है ?,’ मैले एकैपटक सम्बोधन गरी बोलें । उनले आफ्ना आँखाभित्रका सेता भाग मतर्फ फर्काइन्, बोल्न चाहिनन् । मैले सोचें ‘मेरो आगमन उनलाई रुचेन । मैले त्यहाँ बसिरहनु अझ भनौं उठिरहनु आवश्यक ठानिन र विस्तारै बोलें, भाउजू दाइ आएपछि तीर्थ भाइ भेट गर्न आएका थिए भनिदिनु होला है’ भन्दै म त्यहाँबाट हिँडें । मेरो कुरा उनले सुनिन् या सुनिनन् त्यो त थााहा भएन तर म तगारो नजिक पुगी उनलाई फर्केर हेर्दा उनी त्यहीं चकटीमाथि बसेर आफूलाई सिँगार्नमा व्यस्त देखिन्थिन् ।

‘कान्छाले छोरा पायो रे तर छोराको अनुहार त कान्छासँग रतिभर पनि मिल्दैन, मावली गोता गएछ क्यारे !’ केही दिनपछि गाउँघरमा यस्तै खबरहरू सुन्नमा आयो । गाउँलेहरूका कुरा सुन्दा मलाई हाँसो पनि उठ्यो । बच्चको अनुहार बाबुआमाको अनुहारसँग मिल्नै पर्छ भन्ने छ र ? कान्छाकी श्रीमती फेरि पनि गाउँलेको शङ्काको घेराभित्र परी । सन्तान जन्मिन ढिला हुँदा यसले सन्तान जन्माउन सक्दिन, यो त बाँझी छ भनछन् । फेरि सन्तान जन्म्यो अनुहार मिलेन । कुराले भए पनि होच्याउने हाम्रो परम्परा देख्दा अचम्म लाग्छ मलााई । र लाग्छ, यो हाम्रो समाजको दोष होइन । यो त समाजमा हुन नसकेको परिवर्तनको दोष हो अनि शिक्षाको दोष हो । जे होस् कान्छाले छोरा पायो । ‘कुलको सन्तान पिण्डको दाता’ भने झैं उसको वंशले निरन्तरता पाउने भयो । यो खबरले मलाई पनि अत्यन्तै खुसी तुल्यायो ।

छोराको न्वारानको दिनमा तीर्थ भाइ जसरी भए पनि आउनु पर्छ । आजैदेखि मेरो निम्ता छ भन्ने खबर मैले मेरी आमाबाट नपाएको पनि होइन तर मेरो आफ्नै समस्या र जागिरको झमेलामा फँसेको मान्छे हुनाले न्वारानको दिनमा उपस्थित हुन सकिन । तर कान्छाको छोराको न्वारानको भोलिपल्ट सबेरै मलाई घरबाट आयो । फोनमा मेरी आमा हडबडाउँदै बोल्नु भएको थियो,‘ बाबु तीर्थ तिमी जसरी भए पनि छिटो घर आऊ ।’

‘किन, के भो र आमा तपाइँलाई ? ’

‘किनसिन होइन, तिमी जसरी भए पनि आजै अहिल्यै घर आऊ, कान्छाको घरमा नराम्रो घटना घट्यो ।’ आमाले त्यति भन्दै गर्दा अकस्मात् फोन पनि काटियो । त्यतिबेला फोनमा दायाँबायाँको होहल्ला पनि सुनिएको थियो र होहल्लाको कारण आमाले भन्न खोजेको कुरा पनि राम्रोसँग बुझन सकिन । तत्काल आज अफिस आउन नसक्ने जानकारी गराएर म घरतर्फ लागें ।

गाडीबाट झरेपछि म सरासर कान्छाको घरतर्फ लागें । घरमा पुग्दा थुप्रै मान्छेहरू जम्मा भएका रहेछन् । कोही आँगनको छेउमा, कोही पिँढीको छेउमा झुण्ड झुण्ड परेर बसेका देखिन्थे भने कोही मान्छेहरू ढोकाबाट भित्रबाहिर ओहोरदोहोर गरिरहेका थिए । म घरको आँगनमा उक्लिएर सबैजनालाई एकएक गर्दै हेर्न थाल्छु । के भएको हो भनेर बुझ्ने प्रयास गर्छु । सोध्न खोज्छु तर सबै आफैंमा व्यस्त देखिन्छन् । त्यसकारण सोध्ने आँट पनि गर्दिन । मान्छेहरू घरको ढोकाबाट भित्र हेर्दै फर्किंदै गरेको देख्दा म पनि विस्तारै ढोकानिर पुगी विस्तारै नियाल्छु । बाफ रे ! … उफ् ! के देख्नु पर्यो । मलाई असह्य भएर आउँछ । भित्रको दृष्य हेर्न सक्ने क्षमता मबाट हराएर जान्छ । चक्कर लाग्ला जस्तो हुन्छ । भित्र दलिनमा कान्छा घाँटीमा डोरी बाँधेर झुण्डिएको थियो । उसको शरीर यता उति हल्लिएको थियो । मान्छेहरूको भीड बढ्दै थियो । म पिँढीमा आएर खाँबोको आड लगाई थचक्क बस्छु । हरे राम ! यो के गर्यो कान्छाले ? के कारण अचानक यस्तो निर्णय गर्न पुग्यो ? निधारमा चिटचिट पसिना आउन थाल्छन् । मनमा अनेक कुराहरू तँछाडमछाड गरिरहन्छन् । तर निष्कर्षमा पुग्न सक्दिन कि यही कारणले कान्छा यो अवस्थामा पुग्यो भनेर । ‘तीर्थ, कुनै एक दिन मेरो मनको भारी कुरा बताउँछु र त्यस दिनबाट मेरो मन हलुङ्गो हुनेछ’ कान्छाले मसँग भनेको यो वाक्य सम्झन्छु । आखिर कान्छाको मनमा के थियो र त्यस्तो भारी कुरा जुन आज मलाई सुनाउन नपाउँदै यस संसारबाट बिदा भयो । भीड बढ्दै थियो र त्यसको चाप मेरो नजिकसम्म आइपुग्छ । म त्यहाँबाट उठेर आँगनको एक छेउमा गई उभिन पुग्छु । अकस्मात् प्रहरीहरू पनि आइपुग्छन् । त्यहाँको वस्तुस्थिति हेरी सरजमिनको तयारी गर्छन् । ‘घटना कसरी घट्यो’ भनेर २/४ जनासँग बुझ्ने प्रयास गर्छु । तर कसैले पनि थाहा नभएको बताउँछन् । थाहा भएर पनि बताउन नचाहेका हुन् या साँच्चै थाहा नपाएकै हुन् त्यो भने रहस्यमय नै रहन्छ । त्यसैबेला मेरी आमा नजिकै आएर बोल्नुहुन्छ‘तीर्थ, कतिखेर आयौ ?’

‘भर्खरै आइपुगें आमा, अनि यो सब कसरी भयो ?’

मैले आमासँग यति भनिरहँदा आमालाई सिधै हेर्न सकिन किनकि मेरो आँखामा आँसु भरिएका थिए ।

‘यो सब भरे बताउँछु बाबु अहिले चुप लाग’

आमाको कुराले ममा झन् कौतुहल बढाउँछ र विस्तारै शिर उठाई आमालाई हेर्न पुग्छु । हाम्रा आँखा चार हुन्छन् । त्यतिबेला मेरी आमाको आँखामा पनि आँसुहरू छचल्किरहेका हुन्छन् ।

सरजमिनको काम पूरा गरेपछि त्यसको रिपोर्ट भोलि सुनाउने भन्दै प्रहरी जिल्ला फर्कन्छन् भने कान्छाको शवलाई घाटमा लैजाने तयारी हुन्छ । केही समयपश्चात् घाटतर्फ लग्छन् कान्छाको शव । म र मेरी आमा पनि शवको पछिपछि लाग्छौं । घाटमा पुर्याई सबै जना लास जलाउने तयारीमा लाग्छन् भने म र मेरी आमा अलि माथि बसेर त्यो उपक्रम हेरिरहन्छौं । एकैछिनमा कान्छाको शवमाथि आगो दन्किन थाल्छ । ‘मेरो प्यारो कान्छा, तिम्रो आत्माले शान्ति पाओस्’ म मनमनै त्यहींबाट कामना गर्छु र एउटा फूल टिपेर खोलामा फ्याँक्छु । फूल खोलामा तैरिँदै बग्छ र बग्दै गरेको फूलले मलाई मने जस्तो लाग्छ ‘तीर्थ भाइ, अब तिम्रो र मेरो संसार अलग भो ।’ म आँखा चिम्लिन पुग्छु र आँखा खोल्दा फूल त्यहाँबाट हराइसकेको हुन्छ ।

साँझ निद्रा नलागेर ओछ्यानमा छटपटाउँदै पल्टेको हुन्छु । घरि उठ्न मन लाग्छ । घरि सुत्न मन लाग्छ । अनि घरि उठेर डुल्न मन लाग्छ । मन अस्थिर भैरहन्छ । ‘यो सब भरे बताउँछु बाबु अहिले चुप लाग’ । दिउँसो आमाले बोलेको यही बोलीको प्रतीक्षामा हुन्छु । कतिखेर आमा मेरो कोठामा आउनुहुन्छ र कान्छाको बारेमा लुकेको थप रहस्य जान्न पाउने व्यग्र कौतुहलले मन गाँजेको हुन्छ । किन कान्छा यसरी हरेस खायो र जीवनदेखि भाग्ने निर्णय गर्यो ? मैले केही पत्तो पाउँदिन । केही दिन पहिले मात्र छोराको न्वारन अम्काएको कान्छालाई के त्यो कोपिलाको मायाले मर्नबाट रोकेन ? रोक्थ्यो भने त किन आज आत्महत्या गर्न पुग्थ्यो ? यस्तै कुराहरूले मेरो मन उथलपुथल बनाइरहेको बेलामा ढोका घरक्क उघ्रिन्छ । ढोकातिर हेर्छु, आमा हातमा एउटा कागज लिएर मतर्फ आउँदै हुनुहुन्थ्यो । आमा भित्र छिरिसके पछि ढोका जोर्दै छेस्किनी लगाउनु हुन्छ र मेरो नजिकमा आई बस्नुहुन्छ । ‘के हो आमा यो ?’ मैले कागजतिर हेरेर बोल्छु ।

के हुनु नि हिजो बिहानै आएर कान्छाले ‘यो तीर्थ भाइ आएपछि दिनु है सानी आमा’ भन्दै दिएको थियो । अनि मैले जतनसाथ राखिदिएकी थिएँ । आज त यस्तो घटना घट्यो । यो चिठीभित्र केही लेखेको छ कि ? मैले त पढ्न पनि जान्दिन, लौ पढ भन्दै आमाले उक्त कागज मेरो हातमा दिनुहुन्छ । हतपत चिठी हातमा लिन्छु र बाहिर हेर्छु त्यहाँ कान्छाको अक्षरमा लेखिएको थियो ‘तीर्थ भाइ’ । चिठीभित्र के लेखिएको छ भन्ने उत्सुकता झन् बढेर जान्छ । झटपट चिठी खोल्दै बत्तिको प्रकाशमा पढ्न थाल्छु । जहाँ यस्तो लेखिएको थियो …

तीर्थ भाइ धेरैधरै सम्झना अनि आमालाई नमस्कार!

भाइ, तिमीले मेरो चिठी पाएर पढने बेलासम्म म यो संसारमा नरहन पनि सक्छु । अब हाम्रो भेट सपनाबाहेक अन्त कतै नहुन पनि सक्छ भनेर नै यो चिठी तिम्रो नाउँमा लेखी तिमीलाई नै दिनु भनी तिम्रो घरमा लगी छोडेको छु । हुन त चिठी लेख्नैपर्ने त्यस्तो खासै विषय पनि थिएन । तिमी छोराको न्वारनमा आउँछौ र सबै कुरा बताउँला भन्ने आशामा थिएँ तर तिमी आउन सकेनौ । त्यस दिन म निकै दुःखी भएँ किनकि तिमी आएनौ । धेरै कुरा तिमीलाई भनुँला भन्ने थियो तर समयले साथ दिएन तीर्थ भाइ त्यसैले यो चिठी लेख्दैछु । हुन त मेरो मृत्यु पश्चात धेरैले धेरैथरिका टिकाटिप्पणीहरू गर्लान् । अनेक शंका गर्लान् । तर सबैको म माथिको शंका झुटा हुनेछ । तिमीले पनि म माथि गरेको शंका झुटा नहोस् भनेर तिमीलाई यो चिठी लेखेको छु किनकि मेरो आफ्नो मान्छे र आफन्त भनेको तिमी मात्रै हौ जस्तो लाग्छ मलाई ।

भाइ, मैले मेरो जीवनको अन्त्य गर्ने सोच आज माात्र होइन हिँजैका दिनमा बनाएको थिएँ । मरेजस्तो जीवन जिउनु भन्दा साँच्चेै मर्न मन लागेको थियो । बाँचेर पनि हजारपटक मर्नुभन्दा एकैपटक मर्दा पीडा थोरै हुन्छ जस्तो लाग्यो । म बाँचेको भए हजारपटक मरिरहन्थें तर ती दिनहरूमा म मेरी आमाको कारण मर्न सकिन म मरेको भए मेरो आमाको आँसुले पोल्थ्यो मलाई किनकि मेरो वियोगमा मेरी आमा आँसु बगाइबगाई मनुपर्थ्यो र त्यही बगेको तातो आँसुले मलाई सराप दिन्थ्यो । त्यसकारण त्यतिबेला म यो निणर्य गर्न सकिन । आज मसँग मेरी आमा हुनुहुन्न त्यसैले मलाई कसैको आँसुले पनि छेक्न सकेन र यो निणर्य गर्न पुगें ।

तीर्थ भाइ, मलाई समाजले भन्ला जीवन जीउन नसकेर जीवनसँग हार्यो भनेर । एक अर्थमा त यो कुरा सहि हुनसक्छ तर अर्को अर्थमा भने सरासर गलत हुनेछ किनकि देखेको सबै कुरा सही हुँदैनन् । तीर्थ भाइ तिमीले पनि भनौला “कान्छा दाई के तिमीलाई श्रीमती अनि त्यो छोराको आँसुले मर्नबाट रोकेन ?” हा हा भनिहालें नि देखेको सबै कुरा सही हुँदैनन् ।

एकपटक मेरी आमाले मलाई भन्नुभएको थियो “कान्छा मलाई त नातिनातिना खेलाउने रहर लाग्यो ।” त्यतिबेला मैले मेरी आमाको अनुहार ठाडो शिरले हेर्न सकेको थिइन र हेरिन पनि । पछि त्यही कुराले मलाई पिरोल्यो । सायद आमाको त्यो कुरा मेरी श्रीमतीले पनि सुनिछन् क्यार एकदिन उनले मलाई भनेकी थिइन् “के म यसरी नै बस्ने ? जाऔं न एकपटक डाक्टरको सल्लाह लिऔं ।”

हामी डाक्टरकोमा पुग्यौं, सल्लाह माग्यौं र मेरो अनुपस्थितिमा डाक्टरले मेरी श्रीमतीसँग भन्दै थिए – “तपाईँ आमा बन्न चाहनुहुन्छ भने तपाई आफै एक पाइला अगाडि बढ्नुपर्छ।”

“कुरा बुझिन मैले” मेरी श्रीमती भन्दै थिइन् ।

“तपाईँको श्रीमानमा तपाईंलाई सन्तान दिनसक्ने क्षमता छैन त्यसकारण तपाईं सन्तानको चाहना राख्नुहुन्छ भने … ।”

मैले सबै कुरा ढोका बाहिरबाट सुनिरहेको थिएँ । त्यसदिन पश्चात् मेरी श्रीमतीको मलाई हेर्ने नजर फरक हुन थाल्यो । पढन शहर बस्दा हरेक हप्ता घरमा आउने मेरी श्रीमती त्यस दिनपश्चात् क्रमशः हप्ता, बीस दिन, महिना गर्दै तीनचार महिनामा पनि घर आउन छाडिन् र एकदिन अकस्मात् घरमा आएर मलाई फुर्क्याउँदै भनिन्– “तिमी बाबुको बाबा बन्दैछौ ।”

ममा कुनै परिवर्तन भएन र हुनु पनि थिएन । त्यसदिन उनी सही बोलेकी रहिछन् । फलस्वरुप उनले छोरा प्राप्त गरिन् । मैले मुख खोल्न सकिन । खोले पनि समाजले मलाई नराम्रै भन्थ्यो । त्यसरी मेरो आवाज बन्द हुँदै गए । म बाँचेर पनि पटकपटक मर्दै गएँ र एकदिन साँच्चै मर्ने निर्णय गरें ।

तीर्थ भाइ मेरो चिठी पढेपछि तिमी त बुझ्छौ नि म बाँच्न नसक्नुको कारण ? समाजले जे सोचे पनि तिमी त मलाई सही सोच्ने छौ । त्यसैले तिमीलाई यो जानकारी गराएर यो संसारबाट बिदा लिँदै छु …

उही तिम्रो कान्छा ।

चिठी पढदै गर्दा कतिखेर आँखामा आँसु टल्पलाउन थालेछन् पत्तै भएन । चिठी पढिसकेपछि म आँसुले भरिएका आँखाले मेरी आमालाई हेर्छु, उहाँ पनि एकोहोरो भई मलाई नै हेरिरहनु भएको थियो । शायद आमाले पनि सबै कुरा बुझिसक्नु भयो होला र विस्तारै त्यहाँबाट उठेर जानुभयो । मैलै पुनः कान्छाको त्यो चिठी पढछु, यथार्थता छर्लङ्ग हुन्छ । अब मैले सर्जमिनको निर्णय सुनिरहन आवश्यक ठान्दिन किनकि कान्छाको आत्महत्याको रहस्य म र मेरी आमालाई खुलिसकेको थियो । त्यसकारण अब धेरै दिन घरमा बसिरहनु आवश्यक ठान्दिन । उता पढाई छुट्ने अनि धेरै दिन बिदामा बस्दा जागिरमा चौपट । त्यसैले भोलि नै शहर फर्कने योजना बनाउँदै सिरकभित्र घुस्रिन्छु । राती सपनीमा कान्छा मेरो वरिपरी नै रह्यो । उसले भन्दै थियो– “तीर्थ भाइ, मैले जितें कि हारें ?” कान्छाको यस प्रश्नको उत्तर दिन नपाउँदै ब्युँझन पुगेछु । ब्युँझेर हेर्दा त झ्यालबाट सूर्यको किरण मेरो ओछ्यानसम्म पुगेर मलाई उठाउने प्रयास गर्दै थियो ।

समाप्त

घायलश्री, पर्वत
हाल – म्याग्दी

1 thought on “कान्छा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *