
तिम्रो मन्द मुस्कानमा
म लठ्ठिएको
सुनकेश्रा तिम्रा कपालहरुमा
सिगौरी खेलेको,
कहिले हेर्न पाउँछ्यौ ?
गुलाबी तिम्रा गालाहरुलाई
सुस्तरी सुस्तरी मुसारेको
तिम्रै मनवदनमा
स्वयम् नाचेको
सहृदयी, तिमीसँग
आफूसँग आफैं हराउँदै
युगौंयुगको धोको मेटेको
चन्द्रवदनमा लालीमा पोखी
शीतमग्न बिछ्यौनीमा
खै, कहिले हेर्न पाउँछ्यौ ?
लामो सुस्केरा पोख्ने दिन
प्यालासरी आलिङ्गनमा
केशपासा लहराउँदै सधैं
मृदभाषी पुकारमा
हाँस्न अनि हँसाएको
खै, कहिले हेर्न पाउँछ्यौ ?
हरपल
चोखो माया चखाएको
अतृप्त माया रसाएको
खै, कहिले हेर्न पाउँछ्यौ ?
खेमराज अधिकारी
