Skip to content

नेपाल डुब्नेभयो – १


सत्ताको भुमरी तिरै डुबिगयौ नेता अहो ! बेसरी
काहाँ बाट झरी, पुगेर दरबार बाटो लियौ के गरी ?
धोतीबाट टुपी चढेर अहिले जुम्रो बडो भैगयो
यस्तै चाल रहे कुनै समयमा नेपाल डुब्ने भयो

तिम्रो बास कहाँ थियो अघि ? तिमी पुग्यौ कसोरी त्यहाँ ?
यत्रो बिघ्न कहाँ भयो ? र धनको लेखो लगाउ यहाँ
तिम्रो भाग्य थियो; थिएन अरुको, दुर्भाग्य नै ब्यप्त भो
यस्तै चाल रहे कुनै समयमा नेपाल डुब्ने भयो

यौटै बास थियो र गाँस सहितै साथी बनेका थियौँ
एकै आँत भई सँगै सयनमा रातै बिताका थियौँ
जित्थ्यौ बिश्व तिमी; अपार बलले, हाल् हार देश्मै भयो
यस्तै चाल रहे कुनै समयमा नेपाल डुब्ने भयो

जाऔँ है अब संविधान रचना गर्नै परो आखिर
बिर्सीएर कठै, सरक्क अहिले हेर्छौ कि कुर्सी तिर ?
गर्ने काम कहाँ र के छ ? पहिले गर्दैगरे के भयो ?
यस्तै चाल रहे कुनै समयमा नेपाल डुब्ने भयो

भ्रष्टाचार गरी अझै कति यहाँ रासै थुपार्यौ धन
राष्ट्रै रित्तिसको बिकाश गरने, पैसा कहाँ छन् भन ?
देशै बन्छ भने सुचित्त दिलले सेवा गरे के भयो ?
यस्तै चाल रहे कुनै समयमा नेपाल डुब्ने भयो

गुण्डाको र दलाल भ्रष्टहरुको सञ्जाल नै फैलियो
बड्दैछन् अपराध हेर कसरी त्यै जालले छोपियो
रक्षा खातिर जो स्वयम् अब यहाँ, चाँजो मिलाए भयो
येस्तै चाल रहे कुनै समयमा नेपाल डुब्ने भयो

देशै यो किन दण्डहिन हुनगो नेतृत्वकै ओतमा
मौलायो अपराध आज किन हो ? कुन् तन्त्रको श्रोतमा ?
जन्ताकै हितमा सर्मिर्पत भए, बन्दुक् फाले के भयो ?
यस्तै चाल रहे कुनै समयमा नेपाल डुब्ने भयो

२०६७ – १२ – २७
इटहरी – ५ सुनसरी
छन्द – शार्दुलबिक्रिडीत
गण – म स ज स त त गु

Leave a Reply

Your email address will not be published. Required fields are marked *