Skip to content

सायद म हारेछु क्यारे


युक्लिडको ज्यामितिसँग लुकामारी खेल्दै गर्दा
पाथागोरसको साध्यसँग तर्सँदैछु,
विभिन्न असमानताका रेखाहरूलाई
समानान्तर बनाउने प्रयास गर्दा गर्दै
अपवादको भुमरिमा जाकिंदैछु,
फेरि पनि उहि बिजगणितको गंजागोलसँगै
अंकगणितका खुट्किलाहरूमा
ज्यामितिलाई साथमा लिइ हिंड्दा
खुस्कँदैछन् अंकगणितका खुट्किलाहरू,
छाड्दैछ मलाई ज्यामितिले
हराउँदैछु म बिजगणितको गंजागोलमै
यसैले त सायद अब म हारेछु क्यारे
यो गणितसँग
यो संभाव्यताको विज्ञानसँग ।

तर, अँझ पनि हिम्मत हारेको छैन
फेरि पनि तिनै ज्यामितिका साध्यहरूसँगै
एकपल्ट मितेरी गाँस्दै
गन्तव्यबाट यात्रा तर्फनै
अनि,
अन्त्यबाट शुरु तर्फ
पाइलाहरूलाई फर्काउन खोज्दैछु,
किनकि, मैले यही गंजागोल समान
मेरो भूमिको स्थितिलाई
सभ्भाव्यताको गणितसँग
समरुप देखाउनु परेको छ,
अनेकौँ युक्तिहरू खिच्दै
तथ्य र कारणहरूसँग खेल्दै ।

मेरो भूमिमा बिजगणितको गंजागोल
अनि,
अंकगणितका खुट्किलाहरू साथै
ज्यामितिको क्षणभरको साथलाई
साम्य पार्न सकिन्न
बरु अँझ तातो वाफ बनी
यिनै तत्त्वहरू उर्लन थाल्नेछन्,
एक चरम बिन्दुमा पुगेर
चकनाचुर हुनेछन्,
आफूसँगै अनेकौँ अरु
यथार्थ विज्ञानका खम्बाहरूलाई
छिन्नभिन्न पार्दै
यसैले त यसलाई सामधान नै गर्न नपाई
मेरो उमेर बितिसकेछ
भन्न मन लाग्छ सायद अब म हारेछु क्यारे
यो नउम्रदैको तीनपाते वाफसँग
सर्वनाशी यथार्थसँग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *