Skip to content


एकदम बिरलै
एउटा उत्सव लिएर
हुलहुलका मान्छेहरू
हाम्रा गाउँमा उक्लन्छन्
र, सात गाउँ बिउताउँने गरी
ठूल्ठूला ढ्वाङबाट
चिच्याई चिच्याई उनीहरू –
हलो, हँसिया, टुकटुके
तारा, रुख, घाम
गिलास, दियो, छाता
रेडियो, साइकल र जहाज
अनेक अनेक बात सुनाउँछन्
जिन्दावाद/मुर्दावादका नारा लगाउँछन् ।

बारी खन्दै गरेकी माईली दिदी
खेत जोत्दै गरेका जुठे दाइ
घाँस काट्दै गरेकी कान्छी बोई
भैसी चराउँदै गरेको आईते
स्कुल जाँदै गरेका नानीबाबुहरू
सबैका ध्यान आफैले खिच्छन
पाल्टे चौरमा सबैलाई भेला पार्छन्
र, आफ्ना बन्द बैठकहरूमा
आफूले लेखेका चुट्किलाहरूलाई
एकएक गरी –
समृद्धि र समुन्नत देश निर्माणको
योजना हो यो हाम्रो भन्दै
हाम्रो गरिवीमा दया दर्शाउँछन
अलिकति माथि उठेको सपना देखाउँछन्
र, आफ्ना लागि मत मागेर
गाउँबाट फेरि ओझेल पर्छन ।

यी फर्कदा आफूमात्र फर्कदैनन
आफूले बाँडेका सपनाहरू समेत लिएर फर्कन्छन
जुगदेखि यसैगरी
यिनले हाम्रा विपनाहरूमा अट्टहास गरेका छन
र, सपनाहरूको हत्या गरिरहेछन्
फेरि पनि पुर्खाहरू झैं
हामी –
निरीह छौं,
हात बाँधेर बसेका छौं ।
मुख टाँलेर बसेका छौं ।

फेरि उनीहरू त्यसैगरी
उही थोत्रो ढ्वाङ र पुराना नाराहरू लिएर
हाम्रा गामको उकालो चढ्दैछन्
अनि हामी,
हात बाँधेर बसेका छौं ।
मुख टाँलेर बसेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *