राष्ट्रै बन्छ भनेर हेर जनले राजतन्त्र नै फाल्दिए
छाडा तन्त्र चले सधैँ मुलुकमा लोक तन्त्रको सार के !
धोकाभो किन सम्बिधान नबनी के कामले अल्झियो ?
यस्तै चाल रहे कुनै समयमा नेपाल डुब्ने भयो
यस्तै हुन्छ भने अशान्ति जनमा, कैल्यै नराम्रो नहोस् !
राष्ट्रै बन्छ भने अखण्ड रुपले सत्भावना फैलियोस्
राज्यैले गरने सुसासन यहाँ खस्कि तलै भासियो
यस्तै चाल रहे कुनै समयमा नेपाल डुब्ने भयो
तिम्ले गल्तिगरे जसै त जनता माफि दिदाहुन् अहो
सारा दोष सबै नेपाली जनतालाई थुपार्ने नहो !
पापी जो अब पाप गर्दछ यहाँ भोग्ने त सन्तान हो
यस्तै चाल रहे कुनै समयमा नेपाल डुब्ने भयो
हुन्थ्यो स्वर्ग यसै, सबै जलधिको निर्माण् गरेका घरी
उद्योग् बन्द नभै बलेर बिजुली झल्मल्ल देसै भरी
कित्ताकाट गरेर देश टुकुरा पारेर छाड्ने भयो !
यस्तै चाल रहे कुनै समयमा नेपाल डुब्ने भयो
कानुन् मूल बनेर देश जनतालाई सुबिस्ता भए
स्थयी शान्ति भए अशान्त जनता सारा खुसी नै थिए
इच्छा शक्तिभए अझै समयमा कानुन् बनिने थियो
यस्तै चाल रहे कुनै समयमा नेपाल डुब्ने भयो
नेपाली वनका वनौषधि सबै ल्याइ बटुल्दै गरे
संसार् मै नभ’ को कैयौं जडिबुटी नेपालमै मिल्छ रे
पक्रि सत्पथ यो बिकास गरने,बाटो लिए हुन्न थ्यो ?
यस्तै चाल रहे कुनै समयमा नेपाल डुब्ने भयो
तिम्रो बोलमहाँ भए गहनता देशै उराल्ने थियौ
छाडी लेखन संविधान कसरी सम्पत्ति मै लठ्ठियौ
सत्तामोह अझै झिकेर दिलको फाल्दै गरे के भयो ?
यस्तै चाल रहे कुनै समयमा नेपाल डुब्ने भयो
२०६७।१२।२७ ईटहरी—५
छन्द – शार्दुलबिक्रिडीत
गण – म स ज स त त गु
First published in Majheri on : 2013-01-03 19:01:32 +0900