चेलीको बिलाप


बिदेशैमा आई कतिदुख भयो छैन गणना
पिरैपिर्को भारी दुख जति सबै बस्छ मनमा
दिनैरात उस्तैछन् नियमित सधै काम गरने
सधैँ एकैनासे उदर पनि कैल्यै नभरने | १

दिएनन् है कैल्यै फगत रसिलो शुद्ध र मिठो
दिएका छन् जैल्यै बहुत नमिठो फोहर जुठो
सधैँ कुट्ने पिट्ने जिउन पनि सारै कठिन भो
न यो पैसाले नै सुख र सयलै किन्न सकियो |२

कमाएको ज्याला लिनपनि बडो मुस्किल हुने
न छन् आफ्ना कोही हृदय बिचको दर्द बुझने
दलालैको फेला म त परिसकेकै रछु यहाँ
म नेपालै फिर्थे अझ पनि उतै बस्नु रकहाँ | ३

कमाएको सारा धन पनि कसैले लगिदियो
सधैं ठाउँ सार्दै, अझ पनि उसैले दुख दियो
यतीसारो धोका दिन पनि दियो दुष्ट जनले
म रोएरै बस्छु निशदिन सधैँ दिक्क मनले | ४

भनौँ झैँ नै लाग्छ नभनिकन नै रुन्छ नि मन
बिदेशैमा ल्याई घरघर डुलायो अझ किन
घरै पिच्छे सार्यो अलिअलि कतै हुन्छ कि भनि
कि बिक्रीकै पन्छी–पशु सरह नै भै’छु म पनि ? ५

दुखैदुख्को भारी अबत सहजै टार्न घरका
म आएथेँ पैले, तर अझ कतै छैन नि अहो !
दुखैले नै आएँ अरब मुलुकै स्वर्ग छ भनि
यतै नेपाल् मात्रै झलझल सधैं देख्छु म यहीं | ६

जुठो दिन्थे बासी तर पनि जसै पेट भरियो
कठै ! मेरी आमा !! उदर भर त्यो अमृत थियो
मडारिन्थ्यो छाती; मुटुपनि अझै दुख्नु नि कती
म देख्थेँ झल्झल्ती, अझ पनि उनै दुष्ट कुमती | ७

त्यहाँ गर्थे मालिक् कति कति कुरा भन्नु नहुने
कतै तर्केँ भागेँ सहजसित नै धैर्य बटुलेँ
कसैले यो भन्थे, नजिक बसहै आउन यता
कसैले चैं गर्थे; तरखर निकै झम्टिने बुता | ८

कसैले चैँ आफ्नै प्रणय पुतली झैँ सरि गरी
अँगालैमा कस्थे; अधिर मनले खप्न नसकी
मकल्पिन्थेँ रुन्थेँ; निरिह पशुझैँ बोल्न नसकी
म आत्तिन्दै भन्थेँ; अब त ठहरै ! मर्न असती ! ९

मरेकै जस्ती भै; अझ पनि वहाँ बाँच्नु र कती
त्यहाँ नर्कै भोग्ने अझ पनि निकै छन् नि युबती
परिश्रम्ले गर्दा धन मुलुकमै फल्छ र पनि
बिदेशैमा मात्रै किन र यसरी फाल्नु त जुनी ? १०

नजाऊ है ! चेली !! अरब यसरी दुर्जन कहाँ
नरक्बासी हुन्छ्यौ निठुर सब छन् छैन करुणा
स्वदेशैमा ऐलेअवसर मिले फल्छ रुपियाँ
विदेशैमा मात्रै किन त यसरी हेर्छ दुनियाँ | ११

छन्द – शिखरिणी
गण – य म न स भ ल गु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *