
जीवनराम एक दिन फलफूल को बगैंचा गोड्दै जैबिक मल बनाउदै गर्दा, सानी छोरी लताले पारिपट्टिको थुम्को देखाउदै सोध्छिन्,”बाबा किन होनि त्यो थुम्कोमा पहिरो गएको ? अनि मानिसहरू नबसेका ?”
जीवनराम गम्भीर भएर पुरानो कहानी सुनाउछन् ।
मेरो प्यारी छोरी ! झन्डै बीस वर्ष पहिले त्यो थुम्कोमा शेरबिक्रम र उनका पाँच घर छिमेकी बस्थे । त्यो थुम्को हाम्रोभन्दा पनि हराभरा र उर्बर थियो । सबै सुखी थिए ।
एकदिन अचानक त्यो गाउँमा काठ ब्यापारी आएर सबै बोटबिरूवा किन्ने प्रस्ताव राखेछन् । पैसाको लोभमा धूर्त शेरबिक्रम र छिमेकी सबैले रूखहरू काटेर बेच्ने निर्णय गरेछन् । हाम्रो गाउँमा पनि आएर तिम्रो हजुरबालाई पनि सोधेछन्। तिम्रो हजुरबाले सिधै अस्वीकार गरी उनीहरूलाई पनि रूखबिरूवा काटेर आफ्नो र सन्ततिको भबिष्य नबिगार्न सल्लाह दिनुभएछ।
शेरबिक्रमले उल्टै हजुरबा को खिसी गर्दै भनेछन्,”हेर्दै जाऊ भविष्य कस्को बिग्रन्छ ? हामी जस्तो पैसा कमाउने को कि तिमीजस्ता पानी मरूवाको !”
ती गाउँले सबै रूखहरू काट्दै पैसा जम्मा गर्न थालेछन् । पैसाले मातेर खेतीपाती पनि नगरी मनपरी हिंड्न थालेछन्।
लगभग दश वर्षपछि ती बासिन्दाले बोटबिरूवा सखाप पारेकाले पानीको मुल सुकेछ। खेती गर्ने जमिन पनि रूखो भएछ । पैसा पनि सकिएर भोकमरी लागेछ। हाम्रो गाउँका मानिसले अन्न दिएर सहयोग गरेछन्।
एकदिन बिहानै शेरबिक्रम र गाउँलेहरू आएर “हजुरको अपमान गरियो गल्ती गरियो” भन्दै हजुरबासँग माफी मागेछन्। त्यतिबेलासम्म निकै ढिलो भैसकेको थियो। भोलिपल्टको मुसलधारे अबिरल वर्षाले तिम्रो हजुरबा र गाउँलेहरूले देखी-देखी शेरबिक्रमको गाउँ पुरै बगायो रे ।
“आज खहरे भीरमा पचास वटा डाले घाँस लाउने कार्यक्रम छ,” भन्दै प्यारी छोरीलाई म्वाई खाँदै जीवनराम भित्र पसे।
गणेश घिमिरे
म्याग्दे ३,तनहुँ
