पैले आफै चिनिएर, चिन्नु पर्ने जरूर छ
परिभाषा दिनै पर्छ, पैले स्वयम् सबैसित
जो जान्दैन स्वयम्लाई, आफैँ ऊ कसरी सब
अर्कालाई कता चिन्नु ? राष्ट्र नै चिन्नु के अब !
कस्लाई जननी भन्नु; ? आमा खै चिन्नु के गरी ?
जान्नु पर्छ सबै ऐले,आमा बस्छिन् कसो गरी ?
हिमालैमा बसिन् आमा,मेची काली तराइमा
आमा आफ्नै मुटू भित्र, किन हेर्नु पराइमा ?
चढ्यौ आमा बुई भन्दै,मच्चाई कोकरी अझै
थच्चियौ भुइमा कैले,माटो खाई लढी कतै
याद छ कि कुनै ऐले,त्यो बाल्य कालको कुरा
लडिबडी सधैँ उफ्री, आमाको काखमा छँदा
अमाले काखमा राखी,लाड औ प्यारले भरी
गालाको केन्द्रमा दल्दै,ओठको बिन्दु बेसरी
बर्षाई जलकोबर्षा, बर्षन्थ्यो रातमा झरी
त्यस्तै नै प्रेमको धारा, छुट्तथ्यो स्नेहले भरी
आमा आफ्नी स्वयम् देबी, बिर्सियौ झट्ट के गरी ?
चिन्न नै कन्जुसी गर्छौ ? छन् अरु क्वै यिनी सरी ?
पैतला भरिछन् घाउ, हिड्दा ती बगरै तिर
चेहरा बिग्रियो फेरी, पोल्दैछ घामले शिर
रबिका तापले फेरी, बर्षामा रुझि बेसरी
जङ्गली जन्तुले उस्तै, लुछे चोक्टा हुने गरी
के चिन्न सक्तछौ आज ? यी मेरै जननी भनि
सहारा दिन के सक्छौ ? आमालाई अझै तिमी ?
मेची काली घुमी सोध; आमाको बास काँ’थियो ?
पापी किन भयो छोरो ? कुपुत्र किन जन्मियो ?
२०५७।११।३ संखुवासभा, तुम्लिङ्टार ।
अनुष्टुप छन्द
