Skip to content

यो शताब्दीमा बाँचिरहेको क्रूर

  • by


आज ई.सं.२००२ डिसेम्बर १ का दिन ने.फ्रा. कम्प्युटर सफ्टवेयर कम्पनीको बोर्डको बैठक चलिरहेछ।

बैठक कोठामा पियन प्रवेश गर्छ। अध्यक्षलाई कागजको एउटा चिट दिन्छ। अध्यक्ष उक्त कागजको चिटमा लेखिएको कुरो पढेर एकाएक आश्चर्यमा पर्छ। त्यो चिट बोर्डका आठै सदस्य पढ्छन् र आ-आफ्नू अनुहारमा उत्तिकै आश्चर्य प्रकट गर्छन्।

प्रतीक्षारत पिउनतर्फ फर्केर अध्यक्ष उस्तै आश्चर्य प्रेषित गर्दै भन्छः ‘भित्र पठाइदेऊ।’

एक छिनपछि सुट-टाईको पहिरनमा ब्रिफकेस बोकेको एक प्रौढ व्यक्ति भित्र पस्छ र समुस्कान भन्छः ‘गुड आफ्टरनुन फर अल।’ बोर्डका सदस्य उसतिर अत्यन्त आश्चर्यले हेर्न थाल्छन्।

अन्य सदस्यहरूले आफूलाई त्यसरी आश्चर्यपूर्वक हेरेको देखेर ऊ झन् कौतुहलपूर्ण आश्चर्यमा पर्छ र, सबको आश्चर्य शान्त पार्न भन्छः ‘म टि.पि.पि. बुर्लाकोटी….’

पूर्ववत आश्चर्यमा अध्यक्ष भन्छः ‘अनि ? … अनि तपाईँ कहाँ हराउनु भएको ? तपाईँ ई.सं. २००१ मार्च २७ को बोर्डको बैठकमा आउनुपर्ने, तर आउनु भएन…तपाईँ घरमा पनि त्यही दिनदेखि जानुभएको रहेनछ…तपाईँको परिवारले हामीकहाँ आएर तपाईँको खोजी गरिदिन आग्रह गरेपछि हामीले पनि तपाईँको खोजीका लागि अखबारहरूमा थुप्रै विज्ञापन र सूचनाहरू प्रकाशित गर्‍यौँ…अन्ततः तपाईँको परिवारसँगै हामी पनि निराश भयौँ… अनि आज एक्कासि तपाईँ कताबाट ?..भन्नुस् तपाईँ आजसम्म कहाँ हुनुहुन्थ्यो ?’

‘भन्नुस् कहाँ हराउनु भएको थियो तपाईँ आजसम्म ?’

अध्यक्ष फेरि भन्छः ‘तर तपाईँका कुनै पनि स्पष्टिकरण बेकार हुन्छन्, त्यसकारण तपाईँ मौन नै बस्नुस्।’

ऊ एकाएक मौन तोड्छः

‘किन ?’

‘किनभने तपाईँ मरिसक्नुभयो।’

‘के भन्नुहुन्छ तपाईँ ?’ अध्यक्ष भन्छः ‘हो तपाईँ मरिसक्नु भयो।’

‘कसरी ?’

‘हामीसँग तपाईँको डेथ सर्टिफिकेट छ।’

‘तपाईँ यहाँ मलाई जिउँदो देख्दादेख्दै के भन्नुहुन्छ त्यस्तो….?’

‘तर हामीसँग तपाईँको डेथ सर्टिफिकेट छ।’

‘तर हेर्नुस् म जिउँदैछु….? कसले पेस गर्‍यो त्यो सर्टिफिकेट ?’

अध्यक्ष भन्छः ‘तपाईँको परिवारले….तपाईँका परिवारले तपाईँको त्यो डेथ सर्टिफिकेट पेस गरेर यस कम्पनीको तपाईँका सबै सेयर बेचे र त्यो रकम बोकेर अमेरिका गए…।

यो सुनेपछि ऊभित्र एउटा क्रूरको जन्म भयो। त्यही क्रूर यो शताब्दीमा बाँचिरहेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *