Skip to content


मेरो डेरा अगाडि एउटा सानो घर थियो चिटिक्क परेको। त्यो सानो घरमा दुई जोईपोइ र उनीहरूका दुई वर्षकी छोरी बस्थे। एक्कासी लोग्नेलाई धेरै पैसा कमाउने धुन चल्यो। स्वास्नी भन्ने गर्थी, ‘धेरै पैसा भएर के गर्नु? दुई जनाको जागिरले गृहस्थी चलेकै छ बित्थामा के चिन्ता लिइरहेको?’
तर लोग्ने मान्दैनथ्यो। दिनरात, साँझ-बिहान सधैँ नै ऊ एकसुरले गनगन गरिरहन्थ्यो, ‘ए रेबेका बुझ्यौ? जापान जानुपर्‍यो।’
‘अँ। भन्दैमा पाइन्छ कि क्या हो? छोरीलाई के गछौँ नि?’
‘अलि महिना तिम्री आमालाई भने हुन्न? पछि उतै मगाउँला नि। समीर र शिशिरले पनि त्यसै गरेका त हुन् नि।’
रेबेका केही बोलिन।
अन्त्यमा उनीहरूको जापान जाने कुरा तय भयो। उनीहरूले आफू बसेको घर बेचिदिए। दलालको मुखबुजो लाउन र अरू खर्चको आवश्यकता पूर्ति गर्न। अनि एक दिन मैले ती दुई जोईपोइ जापान गए रे भन्ने पनि सुनेँ।
छ महिनापछि मैले अकस्मात लोग्ने चाहिँलाई बजारमा देखेँ। आँखा गाडिएका, झुस्स दाही पालेको, मैलो कमिज र पाइण्ट अनि चप्पल भिरेर एउटी सानी बच्ची डोर्‍याइरहेको थियो ऊ।
‘ए। भाइ पो? जापान गएको हैन र?’ कौतूहलपूर्वक मैले सोधेँ।
‘अँ। दुई महिना भयो फर्केको। उसको चालढाल र मनस्थिति देखेर मैले अरू केही सोध्नु उचित थानिनँ। तर मेरो भित्री मन भने उनीहरूको विषयमा जान्न लालायित नै थियो।
म कहाँ काम गर्ने नोकर्नी डल्ली पहिले उनीहरूकहाँ काम गर्थी। त्यस दिन बेलुकी डल्ली भान्छामा पस्नासाथ मैले सोधेँ।
‘त्यो पल्लाघरको भाइ त फर्केछन् नि?’
‘लौ साबलाई थाहा छैन? चार महिनामै लोग्ने चाहिँलाई पुलिसले फेला पारेर गलहत्याइदिएछ। बिचरा स्वास्नीलाई ‘तिमी पनि हिँड’ भनेर भन्न गएको रे। ऊ अर्कै जापानीको घरमा काम गर्थी रे। आउन पटक्क मानिनछे। उसैसँग सल्किसकेकी छे रे भन्ने हल्ला छ। भन्ने बेलामा चाहिँ अलिकति पैसा जम्मा गरौँ अनि आउँला भनिदिइछे तर खै? गएन के अब जापान?’
मैले झल्झल् वर्ष दिन अघि ती दुई जोईपोई मोटरसाइकलमा घुमिरहेको सम्भि्कएँ।
–०–

Leave a Reply

Your email address will not be published. Required fields are marked *