दिन ढल्नेछ अनि सुरु हुनेछ रातको कुरा
हुनेछ मायाको नाममा विज्ञप्त-मातको कुरा
मान्छेहरूसितै यो सहर पनि मदहोस हुनेछ-
अनि हुनेछ निर्घात प्रतिघात र घातको कुरा
रिमझिम वर्षासँगै यो सडकमा उन्माद पोखिंदा
संगीतहरूमा बज्नेछ फूलसितको पातको कुरा
जीउमा चिसोले र पेटमा भोकले छुनेछ बिस्तारै
अनि चल्नेछ सहरमा लुगाफाटा र भातको कुरा
एक दिन यो समयले जसजसको साथ छोड्नेछ
हुनेछ तिनकै मनमा आँसुको सहृदयी हातको कुरा
