Skip to content

मच्छड संस्कृति : झुलभित्र र बाहिर

KomalPrasadPokharel


मच्छड शब्दको अक्षरीकरण गर्दा यसमा दुई अक्षर रहेको पाइन्छ भने वर्णगत हिसाबमा म्+अ+च्+छ्+अ+ड् = मच्छड भएको देखिन्छ । यसमा दुईवटा स्वर र चारवटा व्यञ्जन गरी जम्मा छवटा वर्ण छन् । मच्छड अध्ययन तथा अनुसन्धान केन्द्रबाट गरिएको मच्छड शब्दको वर्णगत अर्थ यसप्रकार छ –

म् = मेचीदेखि महाकालीसम्मका मतदातालाई मोहित बनाएर मत लिई माथि पुगेका मतलबी माननीय र मन्त्रीहरूबाट मन्त्रित मनोमानी मान्छे मास्ने मानवाधिकारवादी महिला मच्छड अथवा मस्कोइटोहरू,
अ= अँध्यारामा अतिक्रनण गरेर अकालमृत्यु गराउन सक्ने अख्तियार पाएको भए पनि;
च् = (त्यस) चन्डाल चुसाहाको ज्यान चोर औँलाको चान्चुने चड्कनमै च्वाट्ट चुडिन सक्छ;
छ = छाडा छाउरीले छक्याएर छेपारीमा छुरा धस्छ र छिद्र छिद्र पार्छ;
अ = ऐजन ऐजन;
ड् = डिस्को डान्स गर्दै देश डस्नेहरूको डाहभन्दा डङ्गुरबाट डराउँदै आएर पातलो डसनामा डल्लो परेर सुतेकालाई डसेर डेंगु सार्नेको डाह डबल कम हुन्छ ।

उपर्युक्त स्पष्टीकरणबाट मच्छड शब्दको अर्थ स्वतः स्पष्ट भएको छ । दिनभर भूमिगत हुनु र रातभर मिठो स्वरमा गीत गाएर गरिब मानिसहरूलाई डस्नु मच्छडहरूको काम, कर्तव्य र अधिकारभित्र पर्ने कुरा हो । यिनीहरूको संस्कृतिभित्र पर्ने केही झलकहरू यस लेखमा देखाउने जमर्को गरिएको छ ।
म सधैं झुल लगाएर सुत्छु । यो मेरा लागि नित्यकर्म जस्तै भएको छ । सुत्नुभन्दा अघि झुलभित्र पसेका सबै मच्छड बाहिर निकालेर सुत्नुपर्छ भन्ने कुरा मलाई राम्ररी थाहा छ । तर म झुलभित्र पसेर निदाउनै नपाई झुलबाहिर भेला भएका विभिन्न पार्टीका मच्छडहरूमध्ये राष्ट्रिय स्तरका पार्टीप्रमुख र तिनका कार्यकर्ताहरू एक आपसमा विवाद गर्दै झगडा गर्न थाल्छन् । त्यहाँ कुनकुन पार्टीको प्रतिनिधित्व भएको छ भनेर यसो विचार गर्दा निम्न लिखित पार्टीहरू रहेको पाइन्छः

१. नेपाल भाइरस मलेरिया समाजवादी पार्टी,
२. अखिल नेपाल भाइरस स्वाइनफ्लु डिभलप्मेन्ट पार्टी,
३. भाइरस इन्सेफलाइटिस सारक एन्ड जनमारक पार्टी,
४. भाइरस डेंगु क्रान्तिकारी पार्टी,
५. भाइरस कालाजार तराई – इन्डिया एकता पार्टी,
६. भाइरस इन्फ्लुएन्जा पञ्चायत रिटर्न पार्टी

उपर्युक्त पार्टीबाहेक मच्छडका अन्य पार्टीहरू हाम्रो देशमा कार्यरत छन् । यिनीहरू चाहिं अन्तर्राष्ट्रिय स्तरमा पनि ख्यातिप्राप्त भएकाले यहाँ नाम उल्लेख गरिएको हो । माथि उल्लेख गरिएका पार्टीमध्ये केहीले एनोफिलिस जात – जातिको प्रतिनिधित्व गरेका छन् भने केहीले क्युलेक्स जात – जातिको प्रतिनिधित्व गरेका छन्, तर लिङ्गीय रूपमा यी सबै पार्टीभित्र भालेको प्रतिनिधित्व शून्य छ । मच्छडमा मातृसत्तात्मक शासन प्रणाली कायम रहेको हुनाले यसो भएको हुनसक्छ । शायद यिनीहरूले विश्वका अन्य मातृसत्तात्मक देशका मच्छडबाट सिकेर यो प्रणाली लागु गरेका होलान् ।

म सधैं झुलभित्र पूर्व – पश्चिम लमतन्न भएर सुत्छु । झुललाई घेरेर बसेका विभिन्न पार्टीका मच्छडहरू कोही मेरा दाहिनेतिर, कोही मेरा देब्रेतिर, कोही मेरा शिरतिर, कोही मेरा गोडातिर अनि कोही मेरा माथितिरको मेरो शरीरलाई विभिन्न भागमा विभक्त गरी आआफ्नो राज्य बनाउन चाहन्छन् । त्यसमा पनि आत्मनिर्णय सहितको अग्राधिकार हुनुपर्ने रे उनीहरूलाई । उनीहरूको झगडा सुन्दासुन्दै म निद्रामा मग्न हुन्छु ।

एकनिद्रा सुतेर उठ्दा पनि प्रान्तीय राज्यको वादविवाद अझ चर्किदै गरेको सुनिन्छ । पिसाप गर्न निस्कनै पर्छ रातमा एकदुई पटक । त्यति बेला ह्वार्रै मच्छडहरू पस्छन् र मलाई राति निन्द्रा न दिन भोक बनाउँछन् । के गर्नु हाइ काड्दै भए पनि सुत्नै पर्छ । जब म सुत्छु तब झुलभित्र पसेका मच्छडरूको नाटक सुरु हुन्छ । यो नाटक भानुभक्तले जेलभित्र देखेको नाटक भन्दा अलिक फरक हुन्छ । मृदङ्गो मुख लेपेन करोति मधुर ध्वनिम् भन्ने पुरानो सँस्कृतको उक्तिजस्तै मच्छडहरू कानमै आएर गीत गाउँदै परिक्रमा गर्छन् । सैनिकको मार्चपासमा सलामी अर्पण गरेजस्तै पालैपालो पार्टी नेताहरू क्रमशः भन्दै जान्छन्ः लालसलाम, जयनेपाल, नमस्ते, अभिवादन, सेबारो, जयरामजीकी आदि इत्यादि शब्दले दिने अर्थ बोकेका शब्दहरू । पार्टी नेता र कार्यकर्ताले गरेका नमस्तेऽर्थक कोमल शब्दहरूले म आफु फुस्लिएको र फुर्किएको थहा नपाइकन भुसुक्कै निदाएको नाटक गर्छु । म निदाएको सङ्केत बुझेपछि ठुलाखाले नेताहरू आआफ्ना कार्यकर्ताहरूलाई सुसूचित गर्दै भन्छन् – हामी खान नपाउन्जेल मात्र आआफ्ना पार्टीमा हुन्छौ । खाने कार्यमा हाम्रो जात – जाति एक हुन्छ । एक ढिक्का भएर चुस्ने कुरा हाम्रो अधिकार र कर्तव्यभित्र पर्छ । यस्तो सुवर्ण मौका आएका बेला सुतेका मनुवाको शरीरलाई एक मतमा निर्वाध चुस्न छाडेर प्रान्तीय रूपमा शरीरको भागबन्डा लगाउने कुरा गर्न थाल्यौं भने हामी भोकै हुन्छौ । खान नपाउँदा मात्र आत्मनिर्णय र अग्राधिकार सहितको जातीय राज्यको कुरा गर्ने हो । बुझ्यौ सबैले ! ल तयारी अवस्थामा बस । आक्रमण !!!

आफ्ना आदरणीय नेताहरूको आक्रमणकारी आदेश सुनेपछि सबै पार्टीका नेता तथा कार्यकर्ताहरू एक भएर दाहिने – देबे्र, पूर्व – पश्चिम, अगाडि – पछाडि सबैतिरबाट मेरो रगत चुस्न थाल्छन् । सहन नसकेर एकछिनपछि म उठ्छु । उनीहरू पुनः गाउन थाल्छन् । मेरो प्रशंसा गर्दै कोही मेरो भजन गर्न थाल्छन् भने कोही उफ्रीउफ्री नाच्न थाल्छन् । तर यसपटक म प्रसन्न हुन सक्दिन; किनभने चारैतिरको चुसाइले मलाई सारै दुखेको हुन्छ र उनीहरूको कूटनीति पनि मैले बुझिसकेको हुन्छु ।

केही प्रतिक्रिया नजनाई बिस्तारै म झुलबाट निस्किन्छु । झुललाई बाहिरबाट थिचथाच गरी मच्छडका नेता र कार्यकर्तालाई भित्रै थुनेर कोठा बाहिर सुत्छु झुल नलगाई । सबै नेता कार्यकर्ता झुलभित्र थुनिएका हुनाले म निस्फिक्री निदाउँछु । भोलिपल्ट पनि म हिजोकै ठाउँमा गएर सुत्छु झुलबिनै । बेलुका म सुतेपछि दुई/चार पार्टीका नेता र कार्यकर्ताको आवाज पर्छ मेरा कानमा, तर ती पनि झुलतिरै जान्छन् मलाई नहेरी । शिकार झुलभित्रै छ भन्ने कुरामा विश्वस्त भएर उनीहरूले त्यसो गरेको हुनसक्छ । उनीहरू झुलभित्र पस्न खोज्छन् तर सग्दैनन् । झुलभित्र र झुलबाहिरका मच्छडका नेता/कार्यकर्ताको घमासान वाक्युद्ध चल्छ । बाहिरकाले भन्छन् – तिमीहरू मात्र झुलभित्र बसेर रजाइँ र मोजमज्जा गर्ने ! तिमीहरू मात्र अघाउने, हामी चाहिँ भोकै बस्ने ! कि हामीलाई पनि भित्र लैजाऊ कि तिमीहरू पनि बाहिर आऊ । भित्रकाहरू एक कानले सुनेर अर्का कानले उडाउँछन् । सो वाक्युद्ध खान पाउने र नपाउनेका बिचको वाक्युद्ध होला भन्ने अनुमान लगाउँछु ।

तिनचार दिनपछि झुलभित्र के हुदैछ भनेर म हेर्न जान्छु । झुलभित्र घमासान रूपमा जातीय युद्ध चर्किरहेको हुन्छ । झुलबाहिर रहँदाकै भाषा बोलिरहेका हुन्छन् सबै पार्टी र जात – जातिका मच्छडहरूले । आत्मनिर्णयको अधिकार सहितको जातीय एवं दलीय राज्यका लागि मेरो सिरकलाई चारैतिर घेरेर परस्पर भिडिरहेका भाइरस – लामखुट्टे पार्टीहरू एक हप्तापछि सबै समाप्त हुन्छन् परस्पर मारामार गरेर । झुलभित्रको दृष्य हेरिरहेका झुलबाहिरका एनोफिलिस र क्युलेक्सका सङ्गठित पार्टीका नन्भाइरस नेता र कार्यकर्ताहरू सुटुक्क जङ्गल पस्छन्, आम सभा गर्छन् र विश्वभरिकै मच्छड एक हुने प्रण गर्छन् ।

कोमलप्रसाद पोखरेल
सुरुङ्गा, झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *