Skip to content


जुकाको नाइके लावालस्करका साथ थियो
पोकापन्तरा बोकेर नर्फकने गरी
हिँडेजस्तो देखिन्थ्यो ।

कतै देख्ला भनेर म छेउछाउ लाग्दै थिएँ
नदेखोस्/नभेटोस् भनेर आफ्नै सुरमा भाग्दै थिएँ
नचाहँदा नचाहँदै उसले देख्यो मलाई
लावालस्करका साथ छेक्यो मलाई ।

सोध्यो, किन भाग्नु भो हुजुर ?
किन छेउछेउ लाग्नु भो हुजुर ?
मेले भनेँ, कतै तैँले टोकी हालिस् भने
कतै मेरो रगत बोकिहालिस् भने !

बलिन्द्र आँसुका साथ दुःखी स्वरमा उसले भन्यो:
रिसानी माफ होस् प्रभु !
अब हजुरलाई टोक्न हामी चाहिँदैन
हाम्रो खोजी गरे पनि कतै पाइँदैन ।
अब मानिसलाई लुछ्न/मानिसलाई चुस्न
मानिस नै काफी छन्
तपाईंका नेता तपाईंलाई चुस्न
हामीभन्दा पनि माथि छन् ।
त्यसैले अब बिदावारी भयौँ हजुर
हामी सदाका लागि गयौँ हजुर !

जाँदाजाँदै हजुर !
जहिलेसम्म हजुर दासको ओहदामा रहनुहुन्छ
तहिलेसम्म चुसिरहन्छन्
जहिलेसम्म हजुर जिउँदो लासको
पदमा आसीन हुनुहुन्छ
तहिलेसम्म लुछिरहन्छन्
चुसिरहन्छन्/लुछिरहन्छन्/लुछिरहन्छन्/
चुसिरहन्छन् ।

नेपाल साप्ताहिक
अंक: ५६५
२०७० आश्विन १३
Sep 29, 2013

Leave a Reply

Your email address will not be published. Required fields are marked *