सुस्त–सुस्त सारा गाउँभरि फैलियो, मेलापात, वनपाखा, चौक–चौतारा हरेक ठाउँ–ठाउँमा, हरेकका मुख–मुखमा एउटै कुरा हुनथाल्यो– “रामेकी स्वास्नी पोइल गइन्, रामेकी स्वास्नी पोइल गइन् ।”
गाउँका लागि पोइल जानु कुनै नौलो कुरा तँ थिएन । बर्षेनी दुईचार-दुईचार गएकै हुन्छन् तर यो कुरा भने गाउँका लागि नौलो नै थियो । मानौं गाउँमा यो कुरा को उद्घाटन मात्रै भएको हो । कुरा के थियो भने यतिसम्म अविवाहिता मात्रै पोइल जान्थे तर सरिता भने दुई सन्तानकी आमा … । त्यसैले यो कुरा गाउँका लागि नौलो नै थियो ।
धेरैले सरितालाई नै गालि गरे, भन्नु भने नभन्नु भने– गाउँको इज्जतै नराखी गइन्, कतै नभाकी, कोही भन्थे गाउँभरका ठिटा नै उचालेर हिंड्थी, यस्तीको घरवार त के बस्थ्यो … । उनका बारेमा आदि इत्यादि कुरा चलेकै थिए । बुढापाखालाई आफ्नो गाउँघरको इज्जत नै नराखेकोमा उनलाई गालि गरेपनि ठिटाहरूका लागि भने यो कुरा निकै चासोको थियो । दुईचार जना ठिटाहरूको जमात एक ठाउमा बस्नु पर्थ्यो, ईश्र्यालाग्दा उनका मगमगाउ बास्नायुक्त कुरा गर्न थाल्थे । उनको स्पर्शबाट त्यो बास्ना सुग्न नपाएपनि उनका कुरा काटेरैभएपनि लठ्ठ हुन्थें । धेरैले उनलाई गालि गरेपनि, कसैले उनले आज चलाएका पाईला पहिला नै चाल्नु पर्ने थियो भने । ‘बिचरी बन्धनमा कैद थिइन् आज आजाद भइन् । ’ यस्तै यस्तै अनेक कुराहरू महिनौदिनसम्म चलिरहे … ।
जसले जे–जसो भनेपनि सरिताले यो समाजमा एउटा नौलो आयामको उद्घाटन गरेकी थिइन्, पुरुषवाद समाजलाई चुनौति दिएकी थिइन् – नारी पुरुषकी दासी मात्र होइनन्, पुरुष सरह बाँच्ने अधिकार नारीहरूको पनि छ ।
१
सरिताको उमेर नै त्यस्तो थियो, भर्खर बाइस त्याइसको । चढ्दो उमेरमै दुई सन्तानकी आमा बनेकी सरिताको जोवन भने त्यतिको पनि देखिदैन्थ्यो, भर्खर उर्लदो फूल जस्तै सुकुमार थियो । गुलाफी कपोलबाट निस्केको चमक, नसालु नयनको हेराई अनि अंगअंगबाट निस्कने कामुक बास्नाले नलठ्याने कसलाई होला ? उनको छेउँबाट निस्कने जो कोही पनि उनको बासना नलिई पाईला पनि अघि चाल्न मान्दैन्थे । एकपल्ट उनलाई हेर्यो की एक टकले उनलाई हेरिरहुँ झै लाग्थ्यो ।
सरिताको उमेर त्यस्तै तेह्र-चौधको थियो होला त्यति बेला नचाहँदा नचाहँदैपनि आफूभन्दा झण्डै दस-बाह्र बर्ष जेठोसँग विवाह गरी लोग्ने भन्नु परेको थियो । त्यतिबेला तिनलाई लोग्ने भन्नपनि लाज लाग्थ्यो तर बाध्यताभित्र लुकेर उसलाई लोग्ने भन्नुपर्थ्यो । बिहे गर्ने नमानेपनि उनको के लाग्थ्यो ? विवश भई विवाह गर्न बाध्य भएकी थिइन् ।
बिहेको दुई चार दिन त राम्रो खुसी साथ बितेका थिए तर बिस्तार बिस्तारै त्यो खुसीमा कालो छाया पर्न थाल्यो । सरिताको लोग्ने रामे, कुलतमा फसेको थियो । सधैं रक्सी पिएर झैझगडा गर्ने, घरमा कम बाहिर परस्त्रीसँग ज्यादा हुन्थ्यो । र सधैं स्वास्नीलाई समेत कुट्थ्यो । मायाप्रीतिकी लालायित सरिता आफ्नो लोग्नेबाट असीम माया सहाराको आशा गर्थिन् तर लोग्नेबाट डर र त्रास बाहेक केही पाएकी थिइनन् ।
दिन दिनको अत्याचारले त्रसित सरिताको सधैं एउटा आशा हुन्थ्यो– “भरे उनमा म प्रति माया जाग्ला, भरे मैले उनको सहारा पाउँला ।” तर उनको आशा आशा मात्रै थियो ।
सरितामाथि रामेको अत्याचार दिनानुदिन बढ्दो थियो । हिजोसम्म रामे यी सब सरिताको परोक्षमा गर्थ्यो तर अब त उनकै अगाडि परस्त्री लिएर आउँथ्यो त कहिले काहीँ आफ्नो संगतका जड्याहा लिएर पनि रामे घरमा आउन थालिसकेथ्यो ।
अरुबाट पाउँदै आएको रमिता रामे सरिताबाट पनि लिन चाहन्थ्यो तर सरिता त्यो कहाँ मान्थिन् ? लाग्नेको ज्यादती भाग्य सम्झी स्वीकारेकी थिइन् । ऊ प्रतिको गुनासो नै मासिसकेकी थिइन् । ‘जे भोग्दै छु भाग्यको लेखा हो’ उनले चित्त बुझाएकी थिइन ।
२
सायद यो पनि भाग्यकै खेल थियो, लोग्नेबाट जति पीडा पएपनि ती पीडामा साथ दिने साथीको रूपमा भानुलाई पाएकी थिइन् । सुरुसुरुमा त डराएकी थिइन् तर विस्तार बिस्तारै सबै डर मरेर गयो र प्रफुल्ल भई भानुसंगको माया प्रीतिमा हराउन थालिन् । रामेको ज्यादती देखेर त सारा पुरुष जातिलाई नै एकै नजरले हेर्नेगर्थिन्– पुरुषको जातै यस्तो । तर भानु जस्तो साथी पाउँदा उनको त्यो हेराइमा फरक आयो–‘सबै पुरुष एक नासका हुँदैनन् । ’
भानुको पनि आफ्नै कथा थियो, आफ्नै व्यथा थियो । आफ्नै एक मोटर गाडी थियो । मोटर चलाएर निकै व्यवस्था गरिसकेको थियो । सन्तानको नाममा एक छोरो थियो । निकै खुसीयाली थियो भानुको संसार । तर सधैं सबै खुसी कहाँ मिल्छ ? दैवको लीला, स्वास्नीको मायाबाट वञ्चित थियो ।
मोटर लगेर भानु शहर गएको थियो राती पहिरो आएरसारा संसार बगाएर लग्यो । त्यो पहिरोसँगै भानुको सारा खुसी बगेर गयो ।
३
भानु र सरिताको कथा व्यथा उस्तोउस्तै थियो । भानु स्वास्नीको न्यानो अङ्गालो नपाउँदा रापमा जलेको थियो त सरिता लोग्नेको सहारा नपाउँदा डर एवं त्रासको भुमरीमा बाँचेकी थिइन् । दैवको खेल यही थियो– दुवैको मिलन र एक अर्काको सहारा बनाउनु ।
निर्मलाको मृत्युपछि भानुको गाउँतिर आवत जावत कमै हुन्थ्यो, कहिलेकाहीं छोरोको याद आउँदा मात्रै आउने गर्थ्यो नत्र टुहुरो छोरालाई काकीको घरमा छोडेर आफू शहरतिरै बस्थ्यो । यहीक्रममा भानु र सरिताका नयन जुध्नथाले । भानु गाउँमा आउँदा सरिता बाटैमा बसेर उसको पर्खाइमा हुन्थिन् र भानु जाँदा परोक्षसम्म हात हल्लाउदै विदा गर्थिन् ।
एक अर्कामा आफ्नो सहारा नपाएको भए सायद आज दुवैको संसार विलाइसकेको हुन्थ्यो तर एक अर्कामा आफ्नो सहारा पाएदेखि कुल्चिएका दुवै फूलहरूले मुस्कुराउन जानेका थिए । आफ्नो अतित र आफ्नो व्यथा बिर्सेर दुवै एक अर्काको प्रत्यागमनमा मुस्कुराउथें ।
अब समयले दुवैबिच कुनै प्रखाल राखेको थिएन । रामेले जस्तो पीडा दिएपनि सरितालाई त्यो पीडाको आभाषै हुदैन्थ्यो । उनीले त केवल भानुको माया सम्झी मुस्कुराउन जानेकी थिइन् । र रामेको ज्यादतीले पोल्दा भानुको न्यानो अङ्गालोमा बस्थिन् र सारा राप क्षणभरमै विलाएर जान्थ्यो ।
अब भानुको गाउँतिरको आवत–जावत पनि बढ्नथालेको थियो । प्रायः दिनहुँ आउने गर्थ्यो र सरिताका लागि नयाँ नयाँ उपहार लिएर आउथ्यो ।
‘अबदेखि केही नल्याउ है । ’
किन ? तिम्रा लागि नल्याएर कस्का लागि ल्याऊ ?‘
र सरिताको केही लाग्दैनथ्यो ।
४
एकदिन भानुले हप्ता दिनका लागि मोटर लगेर काठमाण्डौतिर जानुपर्ने भयो । यो एक हप्ता नै ती दुवैका लागि एक जुग सरह बनेको थियो । एक अर्काको अङ्गालोमा नबाधिँदासम्म चयन नहुने ती दुवैले यो एक साता कसरी काटे ती दुवै नै जान्थे । एक अर्काको चेहरा हेर्न दुवै छट्पटाएका थिए ।
हप्तादिनपछि बल्ल एकले अर्कालाई हेर्नपाए र धितमरुञ्जेल एक अर्काको अङ्गालोमा बाधिए ।
सदा झै यो पालि पनि भानुले सरिताका लागि केही ल्याएको थियो ।
भानु सधै ल्याएको कुरा सुटुक्क दिने गर्थ्यो तर आज उसले त्यसरी दिएन ।
‘के ल्यायौ ?’
‘आँखा चिम्ल । ’
सायद आज भानु ठूलै कुरा उनलाई सौगात स्वरूप दिंदै छ, त्यसैले यति व्याकुल बनाएर त्यो उपहार दिन चाहन्छ । त्यसैले ऊ सरितालाई व्याकुल बनाउदै छ ।
र सरिताले पनि भानुले भने जस्तै आँखा चिम्लिन् ।
एकछिनपछि भानुले फेरि आँखा खोल्न भन्यो र सरिताले आँखा हेर्दा आँखा अगाडि चिम्टीभर सिन्दूर र अनि मंगलसूत्र देखिन् ।
यो कुरा उनलाई मिठो सपना जस्तो लाग्यो ‘कतै सपना त होइन्’ भनी एकपल्ट हातले स्पर्श समेत गरिन् तर यो सपना थिएन । एक अर्काका लागि हामी धेरै रोयौं तर अब हामीले रुँनु छैन । जाऊँ हिंड़ सरिता ! यो संसारबाट धेरै टाढा, धेरै टाढा … ।
सरिता आज केही डराएकी थिइन् । उनको डर, उनका दुई छोराछोरी थिए । छोरा छोरीको माया चटक्क बिर्सेनसक्ने को होला ?
उनले आफ्ना सामु नदीका दुई किनार पाइन्, उक छेउँमा भानुको माया पाइन् भने अर्काे छेउँमा छोराछोरी, कुन छेउँतिर जाऊँ उनी अन्योलमा परिन् ।
तर भानुले उनको अन्योल बुझिसकेको थियो ।
‘किन ? के भो सरिता । मसँग नजाने ?’
‘हजुरको साथ हिंड्ने चाहना त थियो तर म बगरमा छु । एका छेउँ हजुरको माया छ अर्काे छेउँ छोराछोरी, म कुन छेउँ जाऊँ ?‘
‘तिमी कुनै छेउँ नजाऊ सरिता ! केवल नदीमा बग्दै जाऊ, बग्दै जाऊ … ।
५
न्याय निसाफ गर्दै आज भन्दैछन् – “रामेकी स्वास्नी पोइल गई, रामेकी स्वास्नी पोइल गई … ।”
– भावना क्षितिज
महेन्द्रनगर
