Skip to content


यसपालि पनि मान्छेको
रगतमा मुछेर लगाउने हो कि क्या हो
दशैंको रातो अक्षता?

कस्तो नन्सेन्स प्रश्न!
देशमा जुठो परेको बेला
टीको लाउनेलगाउनेहरु
काजकिरिया बसेको बेला
रातो अक्षता सजाउने
भाग्यमानी निधार खोइ?

देशमा कृष्णभीरहरु भत्केको बेला
जमरा जमाउने माटो नै कहाँ छ र !
रात दिन मान्छे काटिएको बेला
जमरा स्युरने शिर नै कहाँ छ र!

बाबुआमा मारिएर
टुहुराहरु कोरा पसेको बेला
भक्कानो फुटेर घरभिर
आँसु ओइरिएको बेला
दशैं बस्ने बास खोइ?

यसपालि पनि दशैंसित
भेडा च्याङ्ग्रा आउँछन् कि क्याहो
बलि चढाउन?

कस्तो स्टुपिड प्रश्न !
हामी आफैलाई पसे्रर
नरबलि चढाइरहेको बेला
हामी आफैंलाई पस्केर
प्रसाद ग्रहण गरिरहेको बेला
भेडा च्याङ्ग्राको कुरो कोट्याएर
मान्छेहरु
हाम्रो मानहानी गरिरहेछन्
खुच्चिङ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *