Skip to content

साँढेको सोमत कहिल्यै आउँदैन


उहिले उहिले टुँडिखेलमा
त्रिशूलले डामेका साँढेहरु डुक्रिन्थे
यमानको जुरो हल्लाउँदै
नाकको पोरा फुलाउँदै
पाटीबास परेको वीरबहादुरको बास अगाडी
निरिह आईते माथी फुँकार छोड्थे
नपत्याए सोध्नुस्
भीमनीधि साक्षि छन् अझै
त्रिशूलले डामेका साँढेदेखि
सेती सँधै आतँकित हुन्थी
अरु त त्यसै नरभक्षी सिँह नै थिए – गर्जिन्थे
बिस्तारै सिँहहरु पाखा लगायौं हामीले
उबेलाका त्रिशूलले डामेका
साँढेहरु लोप भए
आजभोली खुल्लामञ्चमा
स्वास्तिकले डामेका साँढेहरु
बग्रेल्ती डुक्रिन थालेका छन्
उसैगरी फुँकार छाड्दै
त्रसित बनाईरहेछन् हामीलाई
कैलेसम्म झेल्ने हामीले
यो साँढे आतँक ?
कैलेसम्म बाँच्ने हामीले
वीरबहादुर , सेती र आईते नियति?
भर्खरै सुनियो लैनचौरमा
यौटा स्वास्तिकले धरी डाम्न नभ्याएको साँढेले
अर्को डामिएको साँढेसँग जुध्ने निहुँमा
फेरी हामीमाथी नै साँढे आतँक छरेको छ
अब त बुझिराखौं –
चाहे डामेको होस् या नडामेको
साँढे सँधै साँढे नै हुन्छ
साँढेको सोमत कहिल्यै आउँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *