Skip to content


मेजरसाबको सबैभन्दा ठूलो शत्रु थियो ऊ । उसले मेजरसाबको रातको निद्रा र दिनको खुशी सबै लगेको थियो । राति अबेरसम्म पनि उसकै आवाजको कारणले सुत्न पनि सक्थेनन । दिनभरि पनि त्यसको सोचाइले उनको दैनिक दिनचर्या पनि प्रभावित भएको थियो ।

त्यस्तो कायर तथा कातर त होइनन मेजरसाब । ठूला-ठूला युद्धहरू लडेर धेरै शत्रुहरूलाई हराइसकेको र उनीहरूलाई पाखा लगाएको हिजै जस्तो लाग्छ उनलाई । तर यो शत्रु वास्तवमै खास थियो । अँझ यो शत्रु त उनकै घरमा बस्ने, उनकै घरमा खाने गर्थ्यो । उसका फाटेका कपडा उसकै कारण थिए । उसको अनिद्रा, तनाव सबै उसैको कारण थियो । यहाँसम्म कि घरमा मेजर्नीसाब पनि कच-कच गर्न थालेकी थिइन । अब भएन यो शत्रुलाई पाखा त लगाउनै पऱ्यो – सोचमग्न भए मेजरसाब ।

शत्रुबाट छुटकारा पाउने उपायहरू सोच्न थाले मेजरसाब । वन्डरल्याण्डका शासकले त्यहाँका जनताप्रति गरेको क्रुरतापुर्ण दमन देखि ह्यामलिनका जनताले आफ्ना शत्रुहरूबाट पाएको छुटकारा समेत उनको मन मस्तिष्कमा घुम्न थाल्यो । मोहनी लगाउने धुन लगायतका अनेकन उपायहरू सोचे । त्यो त सत्ययुग थियो र धुनले काम गर्थ्यो होला तर अहिलेको शत्रुको कुरै अर्को छ । आखिर दृढ निश्चय गरेर हतियार किन्न बजारतिर निस्के मेजरसाब ।

“बल्ल मेरो चङ्गुलमा फसिस मेरो शत्रु । अब त म राति आरामसँग सुत्न र दिनभरि तनाव रहित बस्न सक्छु” खोरभित्र थुनिएको मुसालाई हेर्दै भन्न थाले मेजरसाब ।

२०७० पौष १ गते सोमबार
ekadev@ntc.net.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *