Skip to content


म मौन छु,
मेरो मौनताभित्रका
गीतहरू तिमीले
गाउनू प्रिय !

कसैले कहिल्यै नगाएको
टाँकिका फूलहरूको गीत गाउनू ।
सुश्क प्राय: र सीमान्त –
खरबारी पाखाहरूको गीत गाउनू ।
म तिनै फूलहरूमा र पाखाहरूमा
शरद ऋतुको शित भएर
बहकिइरहेको हुनेछु
या जिन्दगीका जुनेली मौसमहरूमा
बेमौसम भएर एकोहोरो
टोलाइरहेको हुनेछु ।

हिउँदका घुर्मैला दिनहरूमा
हिउँ झैँ जमेका
सबाल्टर्न’ आस्थाहरूको गीत गाउनू ।
समयका धारिला स्पेक्ट्रमहरूमा
सीसा झैं फुटेका
आवर्तित आवाजहरूको गीत गाउनू ।
म तिनै आस्थाहरूमा र आवाजहरूमा
निर्घात जिन्दगी दुखेर
बेहिसाब
अड्किरहेको हुनेछु
या स्मृतिका धमिला जुलुसहरूमा
विस्मित भएर एकाएक
मिसिइरहेको हुनेछु ।

जे होस्,
म पुरै होसमा हुनेछु -त्यतै कतै
तिम्रो अन्तरहृदयका गहिराइहरूमा हुनेछु
अनि
प्रेमानुभूतिको स्वप्निल आभा
तिम्रा आँखाहरूमा –
निर्निमेष प्रतीक्षित हुनेछ ।
हो, त्यै अनुभूतिका शब्दातित
गीतहरू तिमीले
गाउनू प्रिय !

गीतहरू
सडकमा, घरमा, स्कुलमा,
अस्पतालमा, अफिसमा,
कारखानामा,
झ्यालखानामा या
जताततै –
पोखिइरहेका हुनेछन् ।
ती सबै गीतहरू टिपेर
गाउनू प्रिय !

ती गीतहरूले तिमीलाई दुखाउने छन्

काँडाले जस्तै तिमीलाई कोतर्ने छन्,
सिस्नोले जस्तै तिमीलाई पोल्नेछन् ।
यद्यपि
तिनीहरूमै फुल्नेछ – सौन्दर्य सपना
तिमी त्यै सपनाको बाटो आउनू ।

म तिमीलाई –
अधैर्य भएर यतै कतै
अपरिचयका असजिला मोडहरूमा
पर्खिरहेको हुनेछु ।
भोलि बिहानै
एक अँगालो प्रीत बोकेर
यिनै मोडहरूमा आउनू
अनि
मेरो युगीन मौनता भित्रका
सबै सबै गीतहरू तिमीले
गाउनू प्रिय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *