बगेकी छिन् कोशी सललल नजिकै अरुण ती
यसैमा रम्दाछन् जलचर सधैँ लाखनथरी
जलैमा छन् पन्छी बिनुजल नबाँच्ने अरुयहाँ
किरा, माछा जम्मै; अझ पनि छदैछन् जलमहाँ
म जन्में यै खोला तटनिकट हुर्की बडिकन
रमाएरै खेल्थेँ परिचित हुदै यो जलधिमा
कुदी उफ्री पैले गडतिर सबै नै रनवन
लिई गाई भैँसी बिचरण गरी साथिसँगमा
म गोठालो जान्थेँ अरुणतटको त्यै बगरमा
म ऐले सम्झन्छु झल झल सबै यो मगजमा
उही फुच्चे सानो, चतुरतमको त्यो शिशुपना
अझैँ फर्कौँ लाग्यो छुनुमुनु गरी बाल्य बयमा
म पौडीन्थेँ पैल्यै जलचरसमानै जलमहाँ
डुबी निस्की खेल्थेँ सललल बहन्थेँ तलकहाँ ?
थिए साथी मेरा अरु पनि निकै साथ सब ती
मिली खेल्ने पौरी, सयर गरने गै अझ कति
सधैँ माथ्र्यौँ माछा सबजनमिली गै अघिसरी
पुगी थाप्थ्यौँ बल्छी अरुणसरिता मै हरघडी
म तिर्खा नै मेट्थेँ समुह बटुलेरै हरदिन
म उफ्रिन्थेँ, सार्थेँ पयर बगरैमा दगुरन
कतै मुर्दा पोल्ने, अझनिकट कै, भोज गरने
सधैँ यस्तै हुन्छन् , बगर तिर कै मोज गरने
रमी फिर्छन् उस्तै रमण दिलको मेटिन गए
मुसाफिर् झैँ कोही युवक–युवती भेटिन गए
नदी आफ्नै सुर्मा सलसल बहेकी तलतलै
मिले खोल्सा जम्मै परिचय दिने ; गैकन उतै
पुगी मिल्छन् जम्मै अरुअरु सबै यै जलधिमा
मिले जम्मै यस्मा समयगतिकै यो परिधिमा
गरी खान्छन् यस्मै मनुज सबले गै बगरमा
यसैमा आश्रीत् भै झटपटगरी त्यै, अभरमा
गिटी, बालू, ढुङ्गा, अझ अरु सबै यो बगरको
यसैमा छन् पैसा; गरन, उपयोगै मनुज हो
गरेका थे पैले खलबलनिकै यो अरुणको
हिडे आशे बन्दै बिवरण लिई कै करुणको
नबन्ने नै भैगो; अब अरुणतेश्रो भनिदिए
पढेका मुर्खैले किन अरुणतेश्रो छिनि लिए ||
२०६८ । ४ । २० ईटहरी – ५
छन्द :– शिखरिणी
गण :– य म न स भ ल गु (१७ अक्षर )
