ताते गर्दै टुकुटुकु यहाँ भर्खरै हिड्न थाल्दा
तोते बोल्ने बचन कसरी निस्किने हो नजान्दा
भोका मान्छे घर घर हिडे खान खोज्दै भतेर
धर्मी बन्ने भन अब यहाँ, को छ, बस्ने सुकेर ?
छाता बन्दै नजरभरका, हेर आफ्नै बचेरा
गर्मी छल्ने सितल छहरा देउ आफैं सुकेर !
जुक्ती गर्छौ अमर रहने ? छैन केही सु-शिक्षा !
गर्नै पर्ने कसरत अहो ! देशमा यो स्व-रक्षा ?
नेता नै हौ जनबल पुगे, गर्न थाल्छौ रजाईं
जन्ता मर्छन् किन अब सबै ? खान केही नपाई |
बन्छौ फेरी अबुझ कसरी ? देशको खै सुरक्षा ?
सेना राख्छौ, अलमल सधैं, खोरका हुन् कि बाख्रा ?
छाया दिन्छौं , नभन सबको, फूल झैं बास छर्द्यौ
भेडा बाख्रा जनता बनिए, खोरको भार थप्छौ ?
गोठाला ए ! भन त कसरी, देशको मान राख्ने ?
आफैं ठग्ने ? ठग अरु भए, जल बुन्दै उकास्ने !!!
छन्द :– मन्दाक्रान्ता
गण :– म भ न त त गु गु
