जब जब म,
यो सहर छाड्ने कुरा गर्छु
समात्छ स्वप्नमा पनि मलाई यो सहर
किन माया गर्छ ?
यो सहर मलाई ?
जन्में –
दूर कतैं म
हुर्कें-
दूर कतै म
त्यो गाउँ, त्यो बस्ती
बेखबर छ -म कहाँ छु ?
मैले खेलेको पाखा
मैले गाउने भाखा
र. ती बाल सखा
थाहा छैन,
कहाँ छन् ? कस्ता छन् ?
म जहाँ छु-
त्यहाँ ती छैनन्
बेखबर छु म
म कहाँ छु ?
यो सहर कहाँ पर्छ ?
जो, घरिघरि स्वप्न देखाइरहन्छ
र, रोकिरहन्छ मलाई !
जवानी सुम्पें यही सहरमा
कहानी लेखें यही सहरमा
नयाँ जीवनको सुनौलो
बिहानी देखें यही सहरमा
यो सहर कहाँ पर्छ ?
जुत्ता दियो यही सहरले
छाता दियो यही सहरले
दियो, धेर -थोर
नाम, काम र माम पनि यही सहरले
र पनि घरि घरि,
किन पराई लाग्छ ?
यो सहरको न्यानो घाम मलाई !
किन उराठ लाग्छ ?
यो सहरको शारदीय याम मलाई !
जब -जब म,
यो सहर छाड्ने कुरा गर्छु
मेरा अतितहरू
मलाई दुख्ने गरी आउँछन्
मेरा स्वप्नहरू
मलाई रोक्ने गरी आउँछन्
जति माया म
म आफूलाई गर्दिन
त्योभन्दा बेसी माया
किन माया गर्छ यो सहर मलाई ?
साचैं, यति बिघ्न
किन माया गर्छ ?
यो सहर मलाई !
ईश्वरमणि अधिकारी, पोखरा
छिट्टै प्रकाशनको क्रममा रहेको आफ्नै नयाँ कविता संग्रहको पाण्डुलिपीबाट साभार
