आँधी आयो हुरी आयो, खहरेमा बाढी आयो
मच्चिएर कोकोहोलो, छिन्न भिन्न हुँदै रह्यो
हेरुँ कतै देखिदैन, सारा अन्धकार भयो
समयले कोल्टो फेर्दा, अँध्यारोमा ठोक्किरह्यो
कतै पर्यो हिमालमा, कतै कतै पहाडमा
कतै मधेशतिर पुगो, कतै चुरे भावरमा
यता उता छरिएर, देश टुक्रा टुक्रा भयो
अब हेर्न लायक छैन, सब जोड्नै पर्ने भयो
श्याल, कुकुर सबै आए, ब्वाँसाहरू जम्मा भए
भाग बण्डा लगाएर, चोक्टा लाम्टा लुछ्नलागे
ङार्र ङुर्र चिच्याउँदै, आफैँ आफैँ घिच्न लागे
त्यति तेरो यती मेरो, सीमानाको लेखो लाए
लड्न लागे भीड्न लागे, अधिकार खोजिरहे
देश टुक्रा बनाएर आफ्नै डम्फु ठोकिरहे
आफ्नै डम्फू ठोकिरहे, आफ्नै डम्फु ठोकिरहे !!
