एन्टीओक नामको सहरको एक भागलाई त्यसै सहरको दोस्रो भागसाग जोड्न त्यहाको आसी नामको नदीमाथि एउटा पुल बनाइयो । यस कामका लागि चाहिने ठूल्ठूला ढुङ्गा खच्चडहरूका पिठिउमा बोकाएर ल्याइएको थियो ।
पुल तयार भएपछि एउटा ढुङ्गाको खाबो अर्थात् स्तम्भमा कुदियो- “सम्राट् एन्टीओक्स दोस्रोबाट निर्मित ।”
त्यहाका सबै मानिस त्यसै पुलबाट त्यो आसी नदी वारिपारि गर्दथे ।
एक साझ पुलछेउ एकजना युवक आयो । उसलाई सहरका सबैले सनकी भन्दथे । उसले पुलछेउको त्यो स्तम्भमा कुदिएका अक्षरहरूमाथि अलकत्रा पोतिदियो । अनि त्यसमाथि लेखिदियो- “यस पुलका लागि चाहिने ढुङ्गाहरू पहाडदेखि खच्चडका पिठिउमा लादेर ल्याइएको हो । उनीहरू नै सही अर्थमा यस पुलको निर्माता हुन् ।”
सहरका मानिसहरूले यो पढेपछि केही हासे र भने, “ए, यसो पो । यो त त्यही सनकीको काम हो ।”
यो सबै हेरिरहेको एउटा खच्चडले हास्दै भन्यो, “तिमीलाई सम्झना छ हैन, हामीले कति दुःखकष्ट झेलेर यी ठूलठूला र गरुङ्गा ढुङ्गा पहाडबाट बोकेर ल्याएका थियौ ? तर आजसम्म मानिसहरू यही भनिरहेका थिए, यो पुलको निर्माण सम्राट् एन्टीओक्सले गरायो ।”
(पाठः जसले काम गर्छ, उसैले जस पाउनुपर्छ)
(अनुवादः भाउपन्थी)
