Skip to content
TikaMilan-02


एउटा मुक्तक लेख्न बसेको केशव आज महाकाब्य नै लेख्ने हिम्मत गर्दै छ । त्यो मुक्तक त के हो र ? माया पिर्ती को कुरा लेखेर तुक्का मिलाउने त हो । उदहरण स्वरुप उसले मनमनै टुक्रो सम्झियो—“ फूल टिप, हाँगा नभाँच; जीवन साँच मायाँ नसाँच —”

यस्तै त होला नि मुक्तक भनेको, अब मुक्तक छाडेर महाकाव्य लेख्ने सुरमा विषय वस्तुको खोजी गर्न थाल्छ । कल्पना गर्दा गर्दै उसले महाँकाव्यको विषय पत्तो लगाएरै छाड्यो । ऊ विषय वस्तुको जरैसम्म पुग्छ । अब ऊ बिचार मग्न भएर सोच्न थाल्छ, छन्दको बारेमा रस अलंकार आदि कसरी लेख्ने ? गद्य वा पद्य केबाट थाल्ने ? अचेल गद्यमा लेखेका महाकाब्यहरू पनि पढ्न पाइन्छ ।

ऊ एक चोटि सर्र विचार गर्छ । उसका महाकाव्यको नायकको बारेमा । ऊसको नयक सारै गरिब हुन्छ, उसको घर हुदैन, धन सम्पति हुँदैन, ऊ एकलो हुन्छ, टुहुरो अँझ के भनौं ऊ अनाथ हुन्छ । हैन हैन उसको एउटा चिटिक्क परेको घर अलिकति पाखो बारी छ । घरवरिपरि सजिसजाऊ परेको राम्रो बगैंचा पनि छ । उसले एउटी राम्री केटीलाई माया गर्छ, त्यही केटीसँग बिहे गरी घरज मगर्ने कल्पना गर्छ । ऊ लाहुर जाँदैन, विदेशको सम्पत्ति उसलाई चाहिँदैन । हैन ! हैन ! ! धन प्रसस्त कमाउनु पर्छ, उसले लाहुर जानै पर्छ । लाहुरबाट धेरै पैसा र सुन ल्याउनु पर्छ । सुन ल्यउनेभन्दा पनि खुनसम्म भए पनि लिएर चैं आउनै पर्छ । नभए पनि ऊ आफ्नो ज्यानसम्म भए पनि लिएर चैं आउँछ नै । आखिर ऊ लाहुरे न हो ! उसले आफ्नो लाहुरे धर्मको पालना गर्छ नै । युद्धमा जान्छ धेरै निर्दोस मान्छे मार्छ । धेरै धेरै नानीहरूलाई टुहुरा बनाउँछ । त्यो बन्दुक समाउने हातले प्रसस्तै पैसा र तक्मा समाउँछ । अनि घरमा आउँदा आफ्नी मायालुलाई धेरै चुरा रिबन र गर गहनाहरू ल्याइदिन पनि बिर्सिदैन । त्यति मात्र कहाँ हो र ? उसले त राम्रा राम्रा सारी र अन्य गहना समेत ल्याउन भुल्ने छैन । उसको महाकाव्यको नायक घरमा आइपुग्दा नाइका भने पैल गैसकेकी हुन्छे । उसले पहिला पहिला पठाएका सबै माल मत्ता र अन्य सम्पत्ति स्वहाः ।

महाकाव्यमा अरु पनि थुपै पात्रहरू हुने छन् । आमा, दिदी, काका, काकी, फुपू, आदि नातागोता थुप्रै थुप्रै आफन्तहरू हुने छन् । उसले सबैलाई एकेकवटा मालसामान ल्याइदिएकै हुन्छ । तर पनि नायक यति स्वतन्त्र हुन्छ, ऊ जता जे गर भने पनि मान्ने हुन्छ । उसलाई लाहुर नजाभन्दा जाँदैन पनि । उसले धेरै पढ्न पनि सक्छ । बि. ए. पास गर्छ जागिर खान्छ, लाहुर जान पटक्कै चाहादैन । ऊ डाक्टर, इन्जिनियर बन्छ, अनि ऊ पाइलट पनि त बन्न सक्छ नि । हैन डाक्टरै बन्नु ठिक हुन्छ । ऊ डाक्टर भएर धेरै गरिबहरूका सेवा गर्छ । उसले सयौं रोगीहरूको निशुल्क उपचार गरिदिन्छ । सबैलाई माया पनि गर्छ ।

केशबको नायक यस्तो जे गर्न पनि सक्ने क्षमताको हुन्छ । तर केशब भने, एक ठाउँबाट अर्को ठाउँमा जान असमर्थ छ । उसको जिन्दगी आजसम्म तेसै बेकार भएको जस्तो लागिरहन्छ । आफू अपांग भए पनिर उसले ठुलो अठोट लिएको हुन्छ । ऊ सधैं नयाँ नयाँ काम गर्न खोज्छ तर खै केगर्नु र कर्मको खेल न हो !

ऊ एकताका लाहुरे थियो । उसको उमेर थियो, जोस थियो, जाँगर थियो अनि ऊसँग हिम्मत थियो साथै उसले पढेको पनि थियो, सबैथोक भए पनि पैसाका भने उसलाई सधैं अभाव थियो । ऊ पैसा कमाउन चाहान्थ्यो त्यसैले ऊ लाहुरे भयो । युके, सगिापुर, हङकङ, मलाया आदि ठाउँमा ऊ पुगेको छ । उसले नजानेको र नदेखेको भनेको केही पनि छैन । अनुभव धेरै बटुलेको छ । ऊ धेरै चोटि लाहुरबाट बिदामा घर आयो । आउँदा उसले सबै आफन्तहरूलाई एकेक चिज उपहार ल्याउन भने बिर्सिएन । सबैको भाग पुर्याएर खुसीपार्नुमा नैऊ आफू खुसी हुन्थ्यो । कति जनाले उसलाई बिहे गर्ने कुरा पनि राखे ता पनि उसले त्यो कुरालाई वास्ता गरेन । बिहे गरेपछि उसलाई छाडेर जान मिल्दैन साथमा लान पनि पाइदैन त्यसै कारणले उसले बिहे गर्न नमानेको हो । अर्को चोटि फेरि बिदामा आउँदा चैं बिहे गरेर उतै लाने गरी आउने कुरा गरेको थियो उसले । समयको पखेटाले मान्छेको जीबनलाई कति चाँडो डोर्याएर ल्याउँछ भने, त्यो कुरा पत्तै नपाइकन आइपुग्दो रहेछ । नभन्दै केशब लाहुर फर्किएको पनि एक दुई गर्दा गर्दै चार बर्ष बितिसकेछ ।

केशब फेरि पनि बिदामा घर आएको छ । यो चोटि चैं ऊ बिहे गरेर केटी लिएर उतै पल्टनमा नै राख्न पाउने ब्यबस्था मिलाएर आएकोले, उसलाई केटी दिने मान्छेको धुइरो लागेको छ । हरेक दिन एउटी केटीको प्रस्तब नआएको पनि होइन ता पनि उसले चाहे जस्ती केटीको कतैबाट प्रस्तब नआएको हुनाले, ऊ आफैं केटी रोज्न बजार जाने भयो नभन्दै बाटैमा हिड्दै गरकी एउटी राम्री केटीसँग उसको भेट भयो । सोधखोज गर्दै जाँदा मिल्दो जुल्दो कुटुम्म कै छोरिरहिछे । त्यसैका अविभावकसँग कुरा चलाउने निश्चय भएर बेलुका घरमा आयो । अब भने केशबको बिहे गर्ने कुरा राम्रैसित चल्यो । लाहुरेको बिहे हुने कुराले गाउँघर सबैतिर हल्लखल्ल भयो । केटी माग्न पठाइयो । कुरा छिनछान् भयो बैसाख २१ ग्ते बिहे गर्ने निश्चय भैसकेपछि केशबलाई तुरुन्त पल्टनमा आउनु भन्ने खबर आइपुग्यो ।

नजान पनि बल्ल बल्ल आफ्नो भाग्यले गर्दा लाहुरे हुनपाएको कसरी नजानु र ? आखिर बिहे त पछि गर्दा पनि हुन्छ भनेर निश्कर्ष निकालि ऊ पल्टन जाने भयो । उसलाई के हो किन हो, के को लागि बोलाइयो भन्ने कुराको थाहा पत्तो पनि थिएन, बिचरा लाहुरे अब त्यस्तो खबर पाउने साथ एक अनुसासित आर्मीको नाताले पनि पल्टन तिरै फर्कियो । यता केटीका तर्फ भने अलमल्ल परेर बसेका थिए, लाहुरेले धोका दिएको हो कि के हो ? बुझ्नको लागि मान्छेहरू आए सबै कुराको बेलि बिस्तार लिएर गए । उता लाहुरे भने हतार हतार गर्दै आफ्नो पल्टनमा हाँजिर हुन पुग्यो ।

केशब लाहुरमा पुगेर हाँजिर भयो । उसको पल्टनलाई युद्धमा खटाइसकेको रहेछ । केशब पनि त्यसैमा सामेल भयो । अर्जेन्टिना र बेलायतको घमसान युद्ध भयो । बलोयती फौजले धेरै अर्जेटिनाका सैनिकहरूलाई मार्न सफल भए भने यता बेलायती सेनामा पनि धरै क्षति पुगिसकेको थियो ।

केशबका आफ्ना धेरै साथीहरूले वीर गति पाए । बेलायत सैनिक थपिरहेको थियो । मर्ने र मार्नेको लेखाजोखागर्ने समय पनि थिएन को को मरे को को बाँचे, भन्ने हिसाब पनि थिएन । युद्धको मैदानमा अफुलाई ज्यानको बाजी मारेर लडिहेको थियो केशब । आफ्नो ज्यानलाई बन्दुकको नालमा राखेर बमको राससँगै खेलिरहेको थियो ऊ । कयौं अर्जेन्टिनीहरूलाई एक्लैले छिनालेर सखाप पर्दै ऊ अघि बढिरहेको थियो ।

यस्तो कथा ऊ आफैले भोगिसेकेको हुनले, सबैलाई कथा सुनाउथ्यो । अरुलाई लाहुर नजानु भनेर अर्ती उपदेश दिन्छ । आफू चाहिं खालि कापी र कलमको सहारामा दिन बिताइरहेको हुन्छ । ऊ लेखिरहन्छ, पढिरहन्छ, कहिले कविता लेख्छ त कहिले गीत लेख्छ । सधैं भरि देश निर्माणको सपना देख्छ । लाहुरेको जीबन सम्झिन्छ । धिक्कार छ ती लाहुरेहरूलाई जसले आफ्ना देशका शत्रुलाई केही पनि गर्न नसकेकामा । त्यो निर्दोष नेपाली अर्काको देशको लागि जसरी लड्न सक्छ त्यसै गरी आफ्नो देशको निर्माणमा लाग्नु हो भने आज यो देश कस्तो भै सक्ने थियो होला ।

मेजर, लप्टन र कप्तान हुने सपना लिएका वीर नेपालीहरूलाई झल्झली देखिरहेको छ रणभूमिमा भकाभक ढलेका अँझैँ पनि ताजा रुपमा आँखा अगाडि देखिरहेको छ उसले । यसरी नै ऊ लाहुरेको जीवनलाई सँगालेर एउटा निकै ठुलो पुस्तक लेख्ने सुरमा लागेको छ । उसलाई बर्तमानले घचघच्याएर भुतभए ठाउँमा पुर्याउन थाल्छ । उसलाई त्यो मनभित्रको भुतले एक्कासी झम्टिन थाल्छ । ऊ अत्तालिएर कराउँछ । रणभूमिमा गिरेका आफ्ना शुभचिन्तकहरूका लाशले आँखा भरि आँसुपारेर उसलाई भन्दैछन्,“ खबरदर ! मेरो घरमा यो कुरा सुनाउलास् म मरेकै छुइन, म युद्ध गरिरहेको छु | जुगौं जुगसम्म म आफ्नै देशका लुटेराहरूसँग युद्ध गर्नेछु जसले निर्दोष नेपालीहरूलाई यहाँसम्म ल्याइ पुर्याएको छ म तिनैसित युद्ध गर्ने छु ।”

उसलाई सधैं यसरी नै युद्ध मैदानबाट धम्क्याइरहने ती नेपालीहरू, आज केशबका वरिपरि बन्दुक सोझ्याउदै छन् ।

“एक थोपो रगत रहुन्जेल सम्मतेरो बिरुद्धमा लडिरहन्छौं, तैले हामीलाई युद्धमा पठाएर तमासा हेरिस् पख् ! तँ अब उम्किन पउने छैनस् । हिमाल भएपनि तँलाई भत्काएर पैरो बनाई दिन्छौं ।”
यसरी अफुलाई सधैं भुतले दुख दिने गरेको कुरा उसले कथा बनाएर उतारेको छ । सपान हो या बिपना हो उसले छुट्याउन सक्तैन । अनि उसलाई सताउन थाल्छ त्यही बेलाको वास्तबिक दृश्यले । असंख्य लाशहरूको बिचमा आफू दुवै खुट्टा नचल्ने भएर लम्पसार परेको अवस्थामा उसलाई कसैले बोकेर फ्याक्न भनेर लादा ऊ अचानक बोलेको थियो,“म आथारो बसेको थिएँ ।”

यो आवाजले अचम्मित हुदै बिसाउन लाग्दा फेरि पनि उसको मुखबाट यस्तो वाक्य निस्क्यो, “ यी सबै मेरा चल्लाहरू एकैचाटी चीलले चुडेर लग्यो मैले जोगाएर रख्न सकिन र मेरो पनि यो हबिगत भयो ।”

फ्याक्न लानआँटेको लाशले यसरी बोल्दा बोक्ने मान्छेले बिसाएकै ठाउँमा उसलाई सोध्यो, “तपाईंलाई कस्तो छ साथी ?”

ऊ बोलेन । एकछिनसम्म टोलाइरह्यो । त्यसले आफ्नो तुम्बीबाट तुरुक्क उसको मुखमा पानी खुवाइदिएको मात्र के थियो केशबका आँखा पर्लिक्क उघ्रिए । यसो आँखा खोलेर हेर्यो । साथीले उसलाई बोकेर आफ्नो क्याम्पमा पुर्यायो । क्याम्पले उसलाई हतार हतार अस्पताल पुर्याउने काम गर्यो ।

बिचरा केशबको दुवै खुट्टा काम नलाग्ने भएको हुँदा काटेर फाल्नु पर्ने भयो । अस्पतालको बेडमा उसले जतिबेला आफ्ना दुवै खुट्टा नभएको थाहा पायो त्यो बेला ऊ बेस्सरी रोएको थियो ।

आज पनि उसलाई त्यही अतीतले बेला बेलामा तर्साइरहन्छ । यसरी दुवैखुट्टा गुमाएर स्वदेश फर्किएको ऊ आजसम्म पनि एकैठाउँ बसिरहेको छ । पैसा कमाउन लाहुर गएको बिचरा आज साँच्चै अपाङ्ग भएर बस्नु पर्दा ऊ आफूलाई ओथारो बसेका पंछीको उपमा दिन्छ । हो त साँच्चै ऊ आज हलनचल भएर एकै ठाउँमा बसेको केशब त्यही केशब हो । उसले के लेखेन र ? कथा लेख्यो, कविता लेख्यो, उपन्यास लेख्यो अनि गीत लेख्यो अब मुक्तक लेख्ने धुनमा छ ।

विसं २०४३।८।१०
संखुवासभा, तुम्लिंटार

Leave a Reply

Your email address will not be published. Required fields are marked *