Skip to content

राजबृक्षको हाँगो


आज पनि झलझली सम्झना आइरहेको छ । त्यो एउटा विशाल बृक्ष, त्यसका ती फिजारिएका हाँगा । बाल्यकालको कुरा हो रेशमका मनमा कता कता त्यो कहालीलाग्दो अनकण्टारको जंगल, ससाना अबोध बालबालिका । मानसपटलमा झल्याकझुलुक झझल्को लागे झैँ अस्पस्ट दृश्यहरू मनमा तरंगित हुन्छन् ।

रेशमले आफ्नो गाऊँ छाडेको पनि कयौंवर्ष प्रवासमा बिताएको । उसले आफू सामाजिक कुरीतिका जालमा परेको र समयको परिबन्दमा फँसेर आफ्नो गाऊँ छाडेर हिड्नुपरेको कुरा महसुस गरिरहेको छ । त्यस बेला उसलाई सहायता गर्ने मान्छे कोही पनि भएनन् । उसले सरा गाउँलेका बिचमा आफूले गर्नै नहुनेकाम गरेछु भन्ने भान भएको थियो । घाँटीमा दाम्लो लाएर मुखमा घाँस कोच्याई दिने निर्णय पंचहरूले गरेका थिए । ऊसँग त्यसको प्रतिकार गर्ने क्षमता पनि त थिएन नि ।

झुमु रेशमकी बल्यकाल देखिकै साथी, उनी सानो जतकी छोरी रेशम ठुलो जतको । जात पनि सानो र गरिब पनि भएको हुनाले झुमुको परिवर समाजमा सारै हेपिएर बसेका थिए । रेशम र झुमुको घर पनि नजिकै थियो, जेसुकै काम पर्दा पनि ती दुवै परिवार एकआपसमा मिलेरै बसेका थिए । पुस्तौं दर्जी दर्जीकै स्थानमा र बिष्ट बिष्टकै स्थानमा रहेर व्यवहार चलिरहेको थियो । सानैबेला देखि झुमु र रेशम एकै ठाउँमा हुर्केका आपसमा भेटघाट रकुराकानी गर्नु भनेको नौलो कुरै थिएन । जातमा सानु भए पनि झुमु सुन्दरी थिई । गोरो अनुहार,लाम्चो मुहुडा, सलक्कपरेको जीउडाल र लामो कपाल; हेर्दैमा लोभलाग्दी केटी । अहिले पनि मन्छेहरू झुमुलाई देख्ता मोहित हुनखोज्छन् ।

हुन त झुमु र रेशमको बाल्यकालको कुरा हो । भन्नुहो भने एउटै कोक्रामो हुर्केकाभन्दा पनि अत्युक्ती नहोला । ती दुई बालबालिका संगसँगै गोठालो जान्थे । दिनभरि सथीहरूसँग बाख्रा चराएर बेलुका घरमा आउँथे । दिनभरि सधैं अनेक थरिका खेलहरू खेल्थे, कहिले बेहुला र बेहुली भएर खेल्थे बेहुलो भएर रेशमले झुमुलाई पर एकान्तमा लान्थ्यो । अरु पनि साथीहरू हुन्थे । बिहेमा गीत गाउँथे अनि नाच्थे । यस्तै गरी उनीहरूको बाल्यकाल बित्दै गयो । एकदिन अरु साथीहरू बाख्रा लिएर अर्कैतिर लागेछन्, ती दुई केटाकेटी भने सधैं झैँ त्यही ठाउँमा गए । जहाँ सधैं नै बाख्रा चराउने गर्थे । वनमा बाख्रा छाडेर सधैं झैँ नै त्यही खेल्न थाले, खेल्दा खेल्दै रात परेको पत्तै भएन । साँझ झमक्क परेपछि मात्र उनीहरू यता उता हेर्छन् त बाख्रा छैनन् । बअ बाख्रा नलिकन घरजाँदा आमा बाउको कुटाई खानु पर्ला भनेर त्यही नजिकैको रुखको फेदमा बसिरहे । अँध्यारो भयो अब झन् घरजाने कुरैभएन बिचराहरू त्यही रुखको फेदमा बसिरहे ।

जब रात छिप्पिदै गयो सर्र चिसो हावा चल्न थाल्यो । बिचरा ती केटाकेटी अपसमा अँगालो हालेर त्यहीँ सुते । केहीबेरसम्म त तिनीहरूलाई निद्रा लागेकै थिएन, एकै छिनमा कतिबेला भुसुक्क निदाए पत्तै भएन । जब उनीहरू मस्त निद्रामा परेका थिए अनि प्रकृतिमा पनि खलबल मच्चिन थाल्यो । एकैछिनमा हुरीबतास चल्यो रातभरि पानी पनि पर्यो । रातीनै उनीहरू को अश्रय लागेको रुखको मुलहाँगो भाँचियो, अचानक ठुलो शब्द गरेर त्यो रुखको हाँगाले जमिनमा बजारिदा बिचरा नानीहरू बेहोस भए । भगवाले बचाएको हो वा केले हो धन्य नानीहरूको ज्यान चैं बँचेछ ।

उता घरमा साँझ सम्ममा केही बाख्रा घरमा आए भने केही चैं आएनन् । घरमा आमा बाबु भने बेला हून्जेल पर्खेर बसे, जब रात परेपछि भने खोज्ने तरखर गर्नलागे । गाऊँ भरि सबैले हल्ल खल्ल गरे वन जंगल सबैतिर राँको बालेर खोज्न गए तै पनि भेटेनन् झण्डै आधारातसम्म खोजी नै रहे अन्तमा अब भोलि बिहान खोज्ने भन्दै सबैजना घर आए । आमा बाबुलाई भने पटक्कै निद्रा लागेन रातभरि नै छर्लङ्ग रात बिताएर बिहान सबेरै देखि खोज्न लागे खोज्दै जाँदा बोल्नेपहराको फेदिमा सानो ओडर भित्र बाख्राहरू बसेका रहेछन् । कसैले बाख्रा लिएर गएभने कोही चैं गोठालाहरूको खोजिमा लागे । खोज्दै जाँदा घुमाउनेको जंगलमा भएको रजबृक्षको रुख नजिकै पुगेका गाउँलेहरूले राजबृक्षको हाँगो भाँचिएर झरेको देखे, त्यही हेर्न भनेर छेउमा पुग्दा त दुवै केटाकेटी लडिरहेका देखेर छक्क पर्दै अरुलाई पनि बोलाए । सबैजना भेला भएर बच्चाहरूलाई टिपेर बोके । आआफ्ना घरमा पुगेर सबैजना भेलाए, धेरैजना मान्छेको हल्लाले गर्दा उनीहरूको होस खुल्यो । यस्ता ससाना नानीहरूको बारेमा कसैले केही अनर्गल कुरा गर्ने अवस्था थिएन । त्यसैले लोकलाजबाट बच्न भने त्यस्तो केही पनि गर्नु परेन । अर्को दिन पनि उनीहरू त्यही ठाएँमा बाख्रा चराउन गए । हिजो रातीको कुराले अँझै पनि मनमा डर भने छँदैथियो । डराउँदै डराउँदै दुवैजना त्यो बिशाल रुखको फेदमा गए । भाँचिएर भुइमा खसेको हाँगामा चडेर सैसला खेल्दै, बाख्राको पनि ख्यल गर्दै दिन बिताएर साँझ परेपछि बाख्रा लिएर घर आए । एबं रितले ती बाख्रा गोठालाहरूको दैनिकी त्यही भाँचिएको हंगामा खेलेर नै चलिरह्यो ।

रेशम र झुमु दिन दिनै हुर्किदै गए । दुवैजनालाई जवानीले ढाक्तै ल्यायो एक अपसमा माया पिर्तीको बिरुवा उीम्रन पनि अस्वभाविक थिएन आखिर बिपरित लिंगीहरूको धर्म न हो । उनीहरूको प्रेमको गाँठो झन् झन् बलियो हुँदै गयो, केही बर्षमा त उनीहरूको प्रेमले अतिनै बलियो जरा गडिसकेको थियो । न त त्यो कसैले उखेलेर नै फ्याक्न सक्छ न त कसैले त्यसलाई ढाल्न नै सक्छ । कसैले त्यो प्रेमको बृक्षलाई उखेलेर मिल्काउन सफल भएपनि तुरुन्तै त्यसलाई जगाउन सक्ने क्षमता पनि उनीहरूमा पलाइसकेको थियो । दुवैजनालाई जवानीले घचेट्दै लान्छ, उनीहरू सधैं जसो गोठालो, खेतालो, घाँस दाउरा संगसँगै गर्थे । कसैले पनि कुनै प्रकारको संका गर्दैनथे । जवानीको जोसमा परेर दुवै जनाले आफूलाई बिर्सिन पुग्छन् । एक दिनको कुरा हो, घाँस काट्नको लागि जंगलमा गएको बेला रेशम भित्रको अदृश्य बस्तु जो झुमुको जवानीसँग खेल्न चाहान्थ्यो, आज त्यसले रेशमको साथ छोड्न छोड्न खोज्दै थियो । रेशम भर्खर अठार वर्ष पुगेका मस्त भैसकेको र झुमु पनि त्यही हाराहारीको उमेर भएको हुँदा उनीहरू आपसमा मया पिर्ती मात्र नभएर यौन इच्छा पनि तिब्र भएर जाग्नु अस्वभाविक थिएन । रेशमले रुखमा चढेर देब्रेको लाहरामा झुण्डिदै झुण्डिदै घाँस झार्यो झुमुले बटुलेर थुपारिन् । रेशम ओर्लिएर घाँसको भारी कस्यो झुमुले पनि आफ्नो भारी ठिक्क पारिन् अब दईुजना बसेर आपसमा राम्रा राम्रा कुराकानी गर्न थाले माया पीर्तीका रमाइला कुरा चल्दै थिए रेशमले भने “ झुमु ! म एउटा कुरा भन्छु मान्छ्यौ ?” के कुरा हो भन्दै झुमु रेशमको नजिकै सरिन् । रेशमले त्यही बेला झुमुलाई घ्याप्प अँगालोमा बेरेर फेरि भने “मेरी माया ! म आज तिमीसँग एउटा प्रस्ताब राख्छु मान ल ! झुमुले पनि रेशमलाई बेस्सरी दुई हातले कस्दै “ भनिन् मेरो राजा ! के कुरा हो ? ” यति भैसकेपछि दुवैजना एकआपसमा धेरैबेरसम्म अँगालो भित्रै बेरिइरहे, बेरिइरहे । समय निकै बितिसकेछ ती दुई युवायुवती आफ्नो धित मरुन्जेल त्यहाँ एकअपसमा हराइरहे दिनका आँखाले आरालोतिर खुट्टा तेर्छ्याउन लागिसकेका थिए । आज ती दुई नवयौवना युवा जोडिले त्यो एकान्तमा जे गरे त्यो काम भनेको समाजले पचाउन नसक्ने खालको त छँदै थियो ता पनि त्यहाँ न त कुनै दलित र ठुलोजातको पर्खाल नै थियो न त समाजको बन्धन् रुपी डोरीलेनै उनीहरूलाई बाँधेर कैद नै गर्न सक्यो । मात्र थियो त्यहाँ एउटा समर्पण, अनि थियो विश्वास । हुन पनि त्यो बर्षौ देखिको समर्पण र विश्वास सबैभन्दा बलियो भरोसा नै हो । जवान युवा युवती घनघोरको जंगलभित्र घाँसको भारी बोकेर बाटो लागे । यौवनले अनमत्थ भएका उनीहरू दुईबिचको यस्तो संबन्धले समाजलाई चुनौती भने अबस्य दिन्छ नै । होइन भने ती दुवै जनाले आफ्नो भबिस्यको बारेमा सोच्नै पर्ने हुन्छ । यसरी तिनीहरू सधैं जसो वासनाको प्यास मेटाउने क्रममा हरेक दिन एकान्त ठाउँमा पुगेकै हुन्छन् ।

मन भरि अनेक तर्कना उब्जिन्छन् । झुमुको मनमा आज अलिक नराम्रो लागे जस्तो भएको छ । संझिन्छिन्; किन ? केका लागि ? के भयो अब के हुने हो ? यस्तै तर्कनाहरूले उनलाई सताइरहन्छ । रातभरि निद्रा नलागेर यता उता पल्टिदै रात छर्लङ्ग हुन्छ । अर्को दिनको कुरा हो, उता रेशम भने सधैं गोठमा सुत्न जानु पर्थ्यो | त्यो दिन पनि सधैं झैँ एकलै गोठमा सुतिरहेका थिए । अचानक रातको अँध्यारोमा कुनै बस्तुले गोठको तगारो बजाएको जस्तो आवाज सुनेर उठ्दै के आएछ भनेर हेर्नको लागि आगो फुक्न मात्र के लगेका हुन्छन् त्यही बेला झुमुले रेशम ! म आएकी डरायौ कि क्या हो ? भनिन् । रेशम अचम्म मान्दै अँध्यारामा उनको जीउ सुम्सुम्याउन थाल्छन् । दुवैजना ओछ्यानमा बसेर आपसमा कुराकानी गर्न लागे । रात निकै बितुन्जेलसम्म उनीहरू माया पिर्तीका कुराहरू गरिरहे । अन्तमा झुमुको यौनेच्छालाई रेशमले पुरा गरेरै पठाए । उनी रातको अँध्यारो पनि नभनी अरु कुनै कुराको लागि त्यहाँ आएकी पक्कै पनि होइन मात्र उनको एउटै लक्ष हो आफ्नो यौनेच्छा बुझाउनु मात्रै नहो, भनेर नै रेशमले पनि उनको माग पुरा गरिदिएका हुन् । झुमु र रेशमको यो चर्तिकाला बिस्तारै गाउँमा संका गर्न थालेका थिए । कसैले कतैबाट केही सुइको पाए जस्तो कता कता खसाकखुसुक आवाज आउन थालेको बअश्य थियो । यति बेलै गाउँमा बाघ पनि कराउन थालेका छ । हिजो अस्ति एक दिन छेउघरे कान्छाको बहर मारेछ भने अर्को दिन फेरि अर्को एउटाको बाख्रो खाइदिएछ । गाउँलेहरू योकुराको पुष्टी खोजिरहेका थिए । हरेक छेत्रबाट चियो र चर्चो भैरहेको बेलामा एक दिन प्रधनपंचको घरमा निकैजना गाउँले भेलाभएका थिए । यो गाउँमा हिजो आज बाघ लाग्न थालेको छ है साथी हो । यो के भएर यसरी गाउँमा बाघ पस्यो भनेर भन्नुभन्दा पनि यहाँ त बिचार गर्नुपर्ने कुरा छ । सबैले बुझ्नु पर्छ, यसरी गाउमा तस्कर पस्नु भनेको राम्रो संकेत होइन । यहाँ कि त कसैका छोरी चेली बिग्रेका हुनुपर्छ कि त देवी देउता नै रिसायेको हुनु पर्छ । प्रधनपंचले भने “ अँ ! मलाई त संका लागिराको थियो यो गाउँमा केही चैं अबस्य भाको छ है ” एक अर्को गरेर सबैले आआफ्नै तर्क राखे । अन्तमा झुमु र रेशमलाई नै यसको कारण हो भन्ने निष्कर्समा पुगेर सबै जना आआफ्नो बाटो लागे ।

भोलि पल्ट देखि त सबै गाउँ भरि नै हो हल्ला चल्न थाल्यो । चाउरे दमाईकी छोरी क्या कान्छी,हो त्यसलाई त त्यै क्यात उसैको छिमेकी केटो रेशम क्या रेशम हो त्यसैले अरे हौ ! अचम्म के सुन्नु परेको ! ! हेर हेर छेत्रीको छोराले के गरेको ? राम राम ! ल अब चैं इनेरुलाई गाउँबाट निकालेर खेद्नु पर्छ । कि त अब देखि रेशमको परिवारलाई पानी हटक गर्नु र्छ । सारा गाउँलेको यस्तै आवाज आइरहेको थियो । यो कुरा सबैतिर ओल्लो पल्लो गाउँ पनि फैलिइसकेको थियो । केटा केटी देखि लिएर बुढा बुढी सम्मले यो सबै थाहा पइसकेकाले, अब तिनीहरूलाई गाउँबाट लखेट्नु पर्छ भनेर गाउँलेहरू भेला भए । रेशमलाई पनि त्यहाँ बोलाइएको थियो । कसैले रेशमलाई करेकार गर्न थाले भने कोही चैं कुटुँ र मारुँ गर्न थाले । रेशमले आफू अलिकति पनि बिचलित नभै आफ्ना सबै कुरा राख्यो उसले सबैका सामु हो दमिनी भए पनि मान्छे नै हो मान्छेले मान्छे कै साथमा बैबाहिक संबन्ध राख्छ । त्यसैले मैले र झुमुले पनि एक आपसमासँगै जीवन जिउने बाचा गरेर आएकाहौं । यो समाजले के गर्न सक्छ गरोस् कसैको दबावमा म बिचलित हुने छैन ।

आफै दमिनीसँग अनुचित काम नर्छ आफै नै ठुलो कुरा गर्छ भनेर भीमेले रेशमलाई झम्टियो । झण्डै हात हाल को बवस्था आउन आँटेको थियो । रेशमलाई कसैले त्यहाँबाट भगाई दियो नत्र त्यहाँ निकै ठुलो कुटाकुट हुन्थ्यो होला । अब भोलि रेशम र झुमु दुवै जनालाई गाउँबाट निकाला गर्ने । रेशमको परिवारको हातको पानी हटक गर्ने भन्ने निर्णय गरेर त्यो भेला त्यहाँबाट उठ्यो ।

बेलुका सबै गाउँ चकमन्न थियो रेशमले कम्मरमा सिरुपाते खुकुरी भिर्यो । एउटा झोलामा आफ्ना केही लुगाकपडा हाल्यो आफूसँग भएको अलिकति पैसा पोको पारेर घरबाट निस्कियो । झुमु पनि अघि नै आफ्नो पाको पुन्तरो च्यापेर दोबाटोमा कुरिरहेकी थिइन् । दुवैजना अलिकपर गएर एक छिन बसेर त्यो रातको अँध्यारोमा आआफ्नो घरतिर आँखा लगाए उज्यालोमा त त्यहाँबाट घर पनि टट्कारै देखिन्थ्यो तर रातको अँध्यारेमा भएपनि आँखाले देख्न नसक्दा मनले त पक्कै पनि घर देखियो नै । परम्पागत सोचाइ र त्यो छवाछुतको भावनाले ग्रस्त समाजलाई चुनौती दिंदै जीवन भरिसँगै जीउने बाचा गरी रातको अँध्यारो नभनी बाटो लागे । भालेले पहिलो चोटि उज्यालो हुने संकेत दर्गा उनीहरू पिलुवा खोलो तरिसकेका थिए ।

बिहानको भुल्केघाममा ती दुई नव दम्पती दियालेको उकालो चढ्दै थिए । चौतारीमा बिसाउदै खुइय गरेर उत्तर पटि देखिने अरुण उपत्यकाको फाँटतिर आँखा दौडाउदै रेशमले आफ्नो गाउँ निहालेर हेर्यो । मधुरो र अस्पस्ट रुपमा देखिएको त्यो गाउँ र त्यहाँको सामजिक चाल चलनलाई धिक्कार्दै, संझिन थल्यो । बाल्यकालको बाख्रा गाठालो देखि लिएर जंगलमा बास बसेको र राजबृक्षको हागो खसेको । त्यसैबेला त्यो राजबृक्षको हाँगाले किच्याएको भए के हुन्थ्यो होला भन्दै झुमुलाई सुनायो । दुवैजनाले त्योकुराको स्मरण गरेर फेरि आफ्नै गाउँतिर आँखा दौडाए । ती पाखा पखेरा, वन जंगल, खोलानाला, धारा,कुवा,बुटा पोथ्रा सबै चिज बस्तुसँग त्यहीँबाट बिदा मागेर उनीहरू आफ्नो बाटो लागे । सँझ पर्नै आँटेको थियो दुवैजना भोकले र थकाइले लखतरान भएका थिए तमोरनदीको पुलमा पुगेर त्यहाँ एउटा घरमा भाँडाकुडा मागेर भातपकाई खानेसुर गरे । आज रेशमले आगो फुकेर पानी ल्याइदिए झुमुले भात पकाइन् । दुवैजनाले एकैचोटी बसेर भात खाए । हो त्यही दिन त हो रेशमले झुमुले छुएको भात खाएको । छुएको पानी पनि खनु हुदैन भन्ने समाजबाट निस्केर हिडेका तिनीहरू, आज भात पकाएको खाँदा खै केही पनि भएन त ? रेशम आज खुसी पनि छन् किन भने आजैहो उनले आफ्नी प्रण पियारीले पकाएको भोजन ग्रहण गर्नपाएको । भात खाइसकेर दुवैजना भाँडाकुडा जिम्मा लगाएर त्यही घरमा बास बसे ।

कहिले पनि घरछाडेर प्रदेश नहिडेकी झुमु उनको खुट्टा दुखेर हिड्नै नसक्ने अवस्था हुन लागेको थियो । रेशमलाई योकुरो थाहा भैसकेको थियो । उनले झुमुको गोडा मिचिदिए । उनलाई सन्च भयो अघिसम्म दुखिरहेको गोडामा एकैछिनमा सन्च भएकोहुँदा उनले पनि रेशमको गोडा मिच्न थालिन् दुवैजनाको दुखेको गोडामा आराम भएको जस्तो भयो । बिहानको मिर्मिरे उज्यालो भएपछि ती दुवैजना उठेर बाटो लागे । धारापानीको उकालो काट्न झुमुलाई सारै मुस्किल परिरहेको थियो । बल्ल बल्ल उनीहरू साँगुरी भंज्याङ पुगे । साँगुरी नै हो सबैको मुङ्लान छिर्ने मुख्य गौंडो, साँगुरी डाँडो काटेछी भने सबैले अर्कै संसार प्राप्त गरेको महशुस गर्ने भएकाले पनि त्यस ठाउँको बिशेस महत्व छ । साँगुरीबाट बाटो लागेपछि सबैको भोक तिर्खा नै मेटिन्थ्यो । अब ती दुई प्राणी जब साँगुरीबाट ओरालो झर्न थाल्छन्, उनीहरूको थकाइ पनि मेटिदै जान थाल्यो । त्यहाँबाट देखिने धरान बजारको मनोरम दृश्य, दक्षिण पटिको चारकोसे जंगल र तराईको त्यो समथल फाँटको अबलोकन गर्न पाउदा खुसी हुनु त स्वभाविकै हो । त्यो ठाउँमा कतिबेला पुग्नु भन्ने हतारो पनि परेर होला; भोक,तिर्खा र थकाइ सबै नै हराउँछ त्यहाँ पुगेपछि ।

घाम ओरालो लागे सँगसगै उनीहरू धरान पुगेर बस्ने ब्यवस्था मिलाए । रेशमले अर्को दिन देखि नै गाडीको खलासीमा काम पाए बजारबाट अलिक पर कुनामा एउटा कोठा लिएर बस्नथाले । रहँदा बस्ता धेरै साथीभाइ भए, दुईजनाको पेटै पाल्न त गाह्रो थिएन । साथीभाइसँग सर सापट गरेर झुमुको लागि पनि बसिबियालो गर्ने सानो पसल चलाउन थाले । केही बर्ष त्यहाँ बस्ता अलिकति राम्रै पैसा कमाउन सफल भए । त्यहाँ बस्ताबस्तै धेरैमान्छेहरूसँग हेल मेल भयो एकदिन उनीहरूको गाउँको मान्छे पनि कताबाट पसलमा सामान किन्न आइपुगेछ । उसले फ्याट्टै भन्न चैं सकेन तै पनि झुमुलाई भने निकै घेरिएर हेरिरह्यो । झुमुले त्यो मान्छेलाई प्रस्टै चिनिन् । बेलुका रेशम आएपछि दुवैजनाले सल्लाह गरे अब हामी यो ठाउँमा नबस्ने रेशम गाडीमा काम गर्थे । अब त डाइभर नै भैसकेका थिए । अर्को दिन देखि ती दुवै जनाको सल्लाहले पसल बन्द गरेर अन्तै डेरा सरे ।

नेपालमा ब्यवसाय गरेर बस्न गाह्रो हुने देखेर ती दुवैजना भारततिर लागे । असाममा गएर राम्रैसँग घरजम गरेर बसेका तिनीहरूका, केही बर्ष भित्रै सन्तान पनि जन्मेकाले सुखी जबिन बिताएर बसे । हुदा हुदै धेरै बर्ष पनि बित्यो अब भने उनीहरू चार सन्तानका आमाबाउ र धेरै सम्पतीका मालिक भए ।

सम्पतीसँग सामाजिक बन्धन पनि चुडाउन सक्ने क्षमता हुन्छ । प्रसस्त सम्पत्ती भएका रेसमको परिवार बअभने नेपाल फर्किने सुर गर्न थाल्यो ।

नेपालमा आएर रेशमले तराईमा थुप्रै जग्गा किन्यो । अनि ऊ आफू जन्मे बढेको पहाडको गाउँमा गयो । पहिले पहिले त कसैले पनि वास्ता गरेनन् । आफ्ना आमा बाउले पनि घरमा नपस् भनेर परै धपाउने कोशिस गरे तरकेही दिन पछि भने राम्रै गर्न थाले । रेशमसँग पैसा थियो, कसैले केही बोल्ने चेष्टा मात्र गरे मुखमा पैसाको बुजो लागिहाल्थ्यो । मुख्य त उनले गाउँका प्रधानपंचको मुखमा ठुलै रकमको बुजो लगाई दिएका थिए । यसरी रेशम केही दिन गाउँमा बसेर मुग्लान तिरै फर्किए ।

अब भने उनको नेपाल भारत आउजाऊ हुन थाल्यो । अर्को बर्ष पहाडबाट आमा बाउलाई तराईको खेतीमा ल्याएर राखे । त्यसै गरी एकचोटी आसामबाट सबै परिवार नै नेपाल आए । केटाकेटीहरू मामल आउन पाएकाले दंग परे सबैजना मजासँगले आफ्नो जन्मथलो घुमेर मुङ्लान फर्किए ।

२०३६।४।१७

तुम्लिङटार, संखुवासभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *