झापाका नवोदित प्रौढ कथाकार: डिल्लीराज नेपाल
झापाको साहित्यिक समाजमा डिल्लीराज नेपाल (२०१५) को नाम सुपरिचित हो । यहाँको साहित्यिक समाजले डिल्लीराज नेपाललाई वर्णमात्रिक लयमा वा परम्परागत छन्दहरूमा कविता लेख्ने एक विशेष साधकका रूपमा निकै अघिदेखि चिन्दछन् । छन्दवादी कविका रूपमा यहाँ उनी मानसम्मान र पुरस्कारका हकदार समेत हुँदै सम्मानित तथा पुरस्कृत हुँदै आएका छन् । खास गरी उनको मूल सृजनक्षेत्र कविता विधा नै हो । तर उनको सृजनकर्म कविताबाहेक अन्य विधाहरूसम्म पनि फिंजिएको रहेछ भन्ने कुरा यसै पुस्तकले पुष्टि गर्दछ । यस पुस्तकका माध्यमबाट अब उनलाई कथाकारको रूपमा पनि परिचित हुने स्थिति देखिएको छ झापाको नवोदित तर प्रौढ कथाकारको रूपमा । वास्तवमा यसै सङ्कल्प कथा सँगालोबाट कवि डिल्लीराज नेपाल नवकथाकारका रूपमा झापामा अवतरण गर्दै यहाँका कथाकारहरूको ताँतीमा उनी कुम जोर्न आइपुगेका छन् ।
यो सङ्ग्रहभित्र कथाकार डिल्लीराज नेपालका जम्मा १५ ओटा कथाहरू समेटिएका छन् । यी कथाहरू अधिकांश मात्रामा पहिलोपटक यसै संग्रहमा प्रकाशित भएका हुन् ।
कथाकार नेपालका यी कथाहरूको मूल्याङ्कन गर्दा ‘सामाजिक’ भन्ने एकै शब्दसूत्रबाट समेटिन सक्छन् । यहाँ उनका कथाहरूलाई सामाजिक कथा भनिएको छ । सामाजिक कथा भन्नुका पछि केही कारणहरू पनि छन् । यी कथाहरू सामाजिक परिवेश, घटनाक्रम, कथ्य एवम् विषयवस्तुमाथि नै रचिएका छन् । यस अर्थले यिनलाई सामाजिक भनिएकोमा यो भनाइ सिद्ध हुन पुगेको छ । बरु यी कथाहरूमा चित्रित विषयवस्तु र वातावरणलाई खुट्याउँदा यिनको सामाजिकतालाई अलिक बढी क्षेत्रीयतावादी समाजको चित्रण भएका कथाको कोटीमा राखेर नियाल्न सकिने ठाउँ छ । कथाकारको पैत्रिक थलो ताप्लेजुङ, कथाकारको वर्तमान जीविकाको स्थान झापा, कथाकारको पठनपाठनको शैक्षिक स्थान इलाम, धनकुटा र काठमाडौं आदिको सेरोफेरोमा कथाकारले देखे भोगेका कुराहरूलाई यहाँका कथाहरूमा उनिएको छ । यस अर्थमा यस संग्रहका कथाहरू आञ्चलिक रूपमा देखिन्छन् । तर आञ्चलिक भएर पनि यिनमा छानिएको विषयवस्तु भने आञ्चलिक नभई नेपाल भरिकै समाजसँग तालमेल खाने प्रकृतिको छ । कतिपय कथाहरूको स्थान, विषयवस्तु, घटनावलीहरू काल्पनिक लाग्छन् तापनि यिनको तालमेल नेपालको र विशेष गरी पूर्वतिरका गाउँबस्तीतिर मिल्ने प्रकृतिको पाइन्छ । कथाहरूमा जे कुरा अघि सारिएको छ त्यो कुरा पाठकहरूबाट स्वतः विश्वास गरिने, कठिनतापूर्वक विश्वास गरिने र कतिपय भने संयोगवश यस्तो पनि हुन सक्छ होला भनेर सम्भावनाको सहयोगमा विश्वास गरिने प्रकृतिका छन् । कथाको तारतम्य मिलाउने सन्दर्भमा यसो हुनु स्वाभाविक पनि हो । तर यसबाट कथाकार नेपाल कथाहरूमा सामाजिक यथार्थताको पक्षबाट अलिक पर पुगेका देखिन सक्छन् ।
कथाहरूमा कथाकारले ग्रहण गरेको समाज र उनको दृष्टिकेन्द्र निम्नवर्गीय छ । त्यहाँ चयन गरिएका पात्रहरू समाजका तल्लो वर्ग, तह, क्षेत्रबाट टिपिएका छन् । विषवस्तु पनि समाजको आर्थिक विपन्नवर्ग र सम्पन्नवर्गतिरबाट खैंचिएको छ । सम्पन्न वर्गका पात्रहरू विपन्न वर्गलाई दुःख दिनका लागि नै भित्रिएका जस्ता देखिन्छन् । ग्राम्य र अद्र्धसहरिया संस्कृतिको चित्रण छ । पूँजीपति, शोषक र दलालहरूका घिनलाग्दा गतिविधिहरूलाई देखाइएको छ ।
यहाँका कथाहरूमध्ये मान्छेहरू निरन्तर रूपमा क्रित्रिमतातिर उन्मुख छन् भन्ने कुरा कुनै कथाले देखाउँछन् भने कुनैकुनै कथामा मान्छेभित्र अझै पनि (दिदी, नासो फिर्ता दिनु थियो) मानवताका महान् उदाहरण बोकेका पात्रहरूको अस्तित्व समाजमा अझैसम्म पनि पाइँदैछ भन्ने कुरा देखाएइको छ । मान्छेका रक्षकहरू नै मान्छेका भक्षक भएका छन् भन्ने कुरा (संयोग) पनि यहाँका कथाले देखाउँछन् । गरिब, सुधा, निमुखा र सरल प्राणीहरूमाथि शोषण गर्दै आफ्नो कालो स्वार्थ सिद्ध गर्न वा पिंध्न पल्केकाहरूले त्यस्ताहरूमाथि जसरी पनि प्रभाव पारेर तिनले धोती न टोपीको पार्दछन् र निम्नवर्गीय सरल सिधासाधा प्राणीहरूलाई उठिबास गरेरै छाड्छन् भन्ने कुरा सप्रमाण पुष्टि गरेको पाइन्छ । कति कथाहरूमा (सङ्कल्प, दिदीलाई चिठी, परिबन्दको पासो, यी त भन्ने कुरा न हुन्) मुखमा राम जप्नेहरूले कोखामा छुरा राखेका हुन्छन् भन्ने वस्तुतथ्य देखाइएको छ । यसबाहेक कथाकारले अलिक विष्मयकारी कथावस्तुलाई पनि लिने काम गरेर केही कथा लेखेका छन् । ‘रमिता’, ‘आस्था÷अनास्था’ यस दर्जाका कथा हुन् । जसमा मानवजीवनमा विचित्र खाले संयोग पर्ने कुरा देखाउने योजना भएको छ । यसै गरी ‘रहस्य’ कथामा भने समाजको भन्दा पनि चिकित्साविज्ञानका ज्ञाताहरूले भेउ नपाएको कुरालाई देखाइएको छ । डाक्टरद्वारा १५ दिनको अवधि तोकी मृत्युको मिति घोषणा गरेको क्यान्सरपीडित बालकले राम्ररी चुस्तै चबाएर उखु खाने गरेकैले उसको मृत्यु टरेको देखाइएको छ । चिकित्सा विज्ञाका लागि यो प्रकृतिको एउटा रहस्य हो भन्ने कुरा यसले देखाउँछ । अनुसन्धानको खाँचो बोध गराउँछ ।
अन्य केही रचनाहरूलाई (‘हिजो रातिको दुःखको चाहिँ कुरै नगरौं’, ‘भ्रम’, ‘पछुतो’, ‘बी.ए पास गर्नुभो हजुर ?’) कथाको स्थापत्य, संरचना, रूपविन्यास र कथ्यका आधारमा कसेर हेर्दा कथाको कोटीमा कम पर्दछन्, संस्मरणात्मक रोचक निबन्धका कोटीमा यिनको स्थान हुन सक्छ । यथार्थमा कथाको रूपमा राखेर अध्ययन गर्नुु भन्दा पनि संसस्मरणात्मक निबन्धको कोटीमा राखी अध्ययन गर्ने ठाउँ यिनमा अधिक फेला पर्दछ । अतः कथाकै पुस्तकभित्र समेटिएकाले यिनलाई कथाको स्थापत्य वा तत्वहरूको कमी भएका संस्मरणात्मक कथाहरू भन्नु उपयुक्त हुने देखिन्छ । स्रष्टाको जीवनका भोगाइमा यिनीहरू भित्रिएका छन् । यिनमा कथात्मक तारतम्य भन्दा पनि अनुभव र अनुभूतिको बाहुल्यता छ ।
अरू कथाहरूमा सघन रूपमा पाइए पनि यिनमा कथानक झिनो रूपमा मात्र पाइन्छ । कथाकार समाख्याताका रूपमा र स्वयं भोक्ताका रूपमा यी कथामा आएका छन् । यसैले यिनको कथात्मक मूल्य कम र निबन्धात्मक मूल्य अधिक छ । यद्यपि यिनमा पनि कथाको तात्विकता नभएको भने होइन । कथाकार यहाँ पात्र पनि छन् र समाख्याता पनि छन् । घटना भन्दा पनि वर्णन बढी छ । पात्रका रूपमा स्वयं कथाकार उभिएर घटनाहरूको उपभोग गरेका छन् । तर कथाको स्थापत्यका आधारमा नियाल्दा यिनलाई कथा भन्दा आत्मसंस्मरणका रूपमा लिनु सान्दर्भिक हुन सक्ला ।
आत्मकथ्य भएका केही संस्मरणात्मक कथाहरू यहाँ समावेश भएका देखिन्छन् । ‘कति बज्यो बाबै ?’ र ‘त्यो जीवन यो जीवन’ यस ढाँचाका कथाहरू हुन् । भर्खर प्रौढावस्थातिर पुगेका लेखकलाई कसैले समयको जानकारीका लागि वृद्धत्वको सूचक ‘बाबै’ पदबाट सम्बोधन गरिदिएकोले मनोवैज्ञानिक पीडाबोध अनुभव भएको देखाएका छन् ‘कति बज्यो बाबै?’ कथामा । यसै गरी ‘त्यो जीवन र यो जीवन’ कथामा भने नेपालबाट विदेशतिर पलायन भइरहेका युवाहरूले घरका वृद्ध पितामाताहरू मार्मिक समस्यालाई देखाएको छ । जति छोराछोरी, नातिनातिनाहरू भए पनि वृद्धकालमा आफ्नो समस्या आफूमै रहने कुराको खुलासा यहाँ छ । बारछोरा तेर नाति बूढाको..नेपाली उखानलाई यसमा चरितार्थ गरिएको छ ।
सारांशमा भन्नु पर्दा कथाकार नेपालले तयार गरेको यस संँगालोमा कथाकारका विविध अनुभव, अनुभूति, उनले देखेभोगेका र जानेसुनेका घटनाहरू तथा आफैंसँग परेका पीरव्यथाका कुराहरूलाई कथाको सूत्रमा उन्ने काम गरेका छन् । प्रगतिशीलताको छनक पनि सबै कथामा धेरथोर उपलब्ध रहेको छ ।
उनका यी कथाहरू आकारमा कथाको सीमा वा परिधिमा नै रचिएका छन् । अधिकांश कथाहरू मझौलो आकारमा छन् । धेरै कथाहरूलाई विष्मयात्मकतामा अन्त्य गरिएको देखिन्छ । केही कथाहरूमा प्रगतिवादी स्वर मुखरित भएर पनि सबै कथा प्रगतिवादी ढाँचामा उनिएका छैनन् । तर प्रतिक्रियावादी भने यी कथा होइनन् । देशभक्तिको भावना पनि केही कथाहरूमा आएको छ । अन्धविश्वास, अन्याय, अशिक्षाले पिल्सिएका नेपाहरूलाई नोपलीहरूले नै पीडा दिएको र त्यसको प्रतीकारका लागि तयार भएको कुरा पनि कुनै कथामा छ । यसै अर्थमा मात्र यिनलाई प्रगतिवादी स्वरको धार बोकेको कथाकार रूपमा पनि लिन सकिन्छ । प्रगतिशीलमुखी सामाजिक यथार्थवादी कथाको कोटीमै यिनलाई लिनु सान्दर्भिक हुन सक्छ ।
सङ्कल्प कथासंग्रहको भूमिका
