देउराली डाँडामा बसेर काइँला बा तोस्रोमा सिमेन्टी बोरा च्यालेका त्यान्द्राले पोया लगाउँदै थिए । बस्तु पाखातिर लखेटिएका थिए । माइला दाइ टाट्नाका किला काट्न जङ्गल पस्दै थिए ।
“धरती राम्रो मायाले आकाश राम्रो जुनले ।
हुनीलाई माया सबैले दुःखीलाई गर्ने कुनले ”
मालतीले बाख्रा फर्काउँदै वन थर्काएको परैसम्म सुनियो । बिचरीलाई बा चौरमा आएको पत्तै थिएन ।
“लौ माइला, मालतीलाई मङ्सिरले बोलायो । यसो एउटा केटो खोजेर जोडी बाँधिदिनु पर्यो ।” काइँला बाले सल्लाह दिए ।
माइला दाइ एकाएक चिन्तित देखिए । दिग्दारिएको श्वरमा खुइय गर्दै बोले, “खै काइला बा धन कमाउन सकिएन । दाइजो दिन सक्दैन भनेर कुटुम्ब पाखापाखा भाग्छन् । रिनपान गरी बाह्र कक्षासम्म पढाइदिएँ तर अरुले झैँ एउटा मोवाइल किनिदिन सकिन ।”
“हैन मोवाइल चैँ किन किनिदिनुपर्यो ?” काइँला काकाको जिज्ञासा पलायो ।
माइला दाइले थपे, “हो काका अचेल मोबाइलमै मन मिल्दो रैछ । हुनेले धुमधाम पारिदिँदा मागी मङ्सिर । नहुने भाग्छन् भागी मङ्सिर । मोबाइल नहुनेको रित्तो मङ्सिर ।
निरज कोइराला
बेलका-१, भौडादेवी टोल, उदयपूर
हालः इटहरी
२०७८।०८।१९
