Skip to content
ToyaNathPoudel


८ घण्टाको लम्बेतान हवाईयात्राले सबै भाङ्मय जस्तै लाग्दैथ्यो काठमान्डौ । यो मेरो चौथो पटक को आगमन थियो । म सधैँ एयरपोर्टबाट ट्याक्सी नै नचढी नजिकै को ज्योति गेष्ट हाउसमा जाने गर्थेँ । फेरि पटक पटक छुट्टि गइरहने हुनाले घरमा लानै पर्ने कोशेलि पनि खास हुदैन । वस.. १-२ किलो चक्लेट र केही आफन्तका मागका कोशेली । सानो लगेज घिस्याउदै गेट पार गरेर लुखुर लुखुर ओरालो झरेँ ।

मेरो सामु एक सँका नै नगरेको आकृति ठोकियो । म स्पष्ट हुन कोशिस गरिरहेको छु के ती मीरा नै हुन त ? करिब १० मीटर को दुरिमा म उभिएको छु अँझै हो नै भन्ने स्थिति भने छैन । यति दुब्ली त उनी थिइनन् उनी किँकर्तव्यविमुढ उभिएकी छन । म सोच्दा सोच्दै नजिक नै पुगिसकेछु ।अठात उनको मुखबाट निस्किएको ”बिराज”ले म झस्किए । उनले मेरो नाम ठिक ठाक लिए पछि म ढुक्क भएँ यी मीरा नै हुन भनेर ।

८ साल करिब भएको थियो हामी छुटेको । त्यो १८- २० को जवानीताका हामी पनि एक अर्कालाई प्रेम गर्थ्यौ ।यस यल सी पास गरेर उच्च शिक्षा को दौरान धनकुटा जाँदा हाम्रो भेट कलेज मै भएको हो । अक्सर साहित्यिक कार्यक्रममा हाम्रो भेट हुन्थ्यो । उनी मिठो कविता लेख्दथिन् । आदर्शले भरिभराउ उनको कवितामा तालिको गड्गडाहट प्रसंशनीय हुन्थ्यो। कविता सुन्दा सुन्दै मलाई मायाजालमा फसेको हेक्का नै रहेन । भाडामा कुरा नमिलेपछि म देब्रेबासबाट कोठा सर्ने भएँ । २ दिन लागि पर्दा नि कोठा भेटिएको थिएन । क्यान्टिनमा खाजा खादै गर्दा उनी पनि भित्रिइन । हाम्रो औपचारिक कुरा खासै भएको थिएन कहिले काहि लर्का सर्कामा बोल्ने मात्र । तर म उनलाई पछ्याइरहेको हुन्थेँ । हाम्रो सामुन्ने मात्र बेन्च खालि थियो । उनी त्यही बसिन । मैले चना खान अनुरोध गरे उनले स्वीकारिन । कुरै कुरामा कोठा को कुरा निस्कियो । उनले “म बसेको घरमा छ’ भनिन । मैले भाडा नसोधी हुन्छ भनिदिएँ ।

हामी एउटै घरको दोस्रो तलामा बस्थ्यौ उनको र मेरो ढोका आमन्ने सामन्ने थियो । उनी अचम्म कि थिइन धेरै नबोल्ने, गहिरो अध्यायन गर्ने सामान्य तरिकाले कुरा गर्ने, नक्कल नपार्ने । म जिस्क्याउथेँ कहिले काहि त मेकअप गर्नु नि? उनी फिस्स हाँसेर टारि दिन्थिन । एउटा फेयर एण्ड लभ्लि र एउटा लिपस्टिक उनको श्रिङ्गार सामग्री थिए। उनका एक दाजु काठमान्डौमा सुब्बा थिए मालपोतका अर्का चाहि खेती बालि हेर्थे घरै बसेर छोरि उनी एक्लै ।

हामीसँगै कलेज जान्थ्यौ उनको शिक्षा शास्त्र सँकाय मेरो मानविकी वस कलेज जादा सँघै हुन्थ्यौ फर्किदा पनि अगाडि पछाडि ।बिस्तारै हामी नजिकिन थाल्यौ । उनको अश्वभाविक बानी मलाई राम्रो लाग्थ्यो रहस्यात्मक हाँसो हास्थिन । बिस्तारै हामी कलेजबाट फर्किदा पनिसँगै हुन थाल्यौ । उनको पहिले क्लास सकिए मलाई पर्खिन्थिन मेरो सकिए उनलाई म पर्खिन्थेँ । दिन बितिरहे, दशैको छुट्टिले मन खल्लो भयो । उनी तराई कि मान्छे म पहाड को मलाई निकै भारी भइरहेको थियो आफ्नै घर जान पनि । उनको चेहराले पनि त्यही बोल्दैथ्यो । टेलिफोन सुबिधा थिएन ।छुट्ने बेलामा उनले भनिन ”दसै र तिहार को बिचमा आउनु कम्प्युटर सिक्नु पर्छ ” मैले बेसिक त पहिले नै सिकेको थिए तर पनि मैले हुन्छ भने ।

दसै सकियो मुस्किलले, म बाचा मुताबिक धनकुटा झरेँ उनी मभन्दा पहिले आएकिरहिछन । हामी दुवै को चेहरामा एक रोसनी छायो । जुन अद्भुत क्षण सायदै आउछ ।

हामीले कम्प्युटर कोर्स पनि गर्नथाल्यौ । उनी बेसिक म डिप्लोमा । मेरो कोठामा एउटा डोको जत्रै कम्प्युटर थियो (पुरानो मोडलको) मैले पुरानो नै किनेको थिएँ । उनी त्यही चलाउने बहानामा मेरो कोठामा आइरहन्थिन । उनीमा लगाब थियो। भर्खर सिक्दै गरेकि उनी र १ साल पहिले देखी चलाएको ममा केही फरक थिएन । अँझ उनी बढी जान्दथिन ।

हामी आपसमा खुब मिल्थ्यौ । सबै कुरा एक अर्कामा सेयर गर्थयौँ । रमाइलो नै रमाइलोमा दोस्रो बर्स को परिक्षा पनि सकियो । छुट्टी हुदा पनि हामी घरमा बिभिन्न बहाना बनाएर धनकुटामै बस्थ्यौँ । अब फेरि छुट्टिने दिन नजिकिएको थियो ।छुट्ने कुरा सँझिदा मात्रै पनि भिमकाय पहाडले थिचेको महशुस गर्थेँ म ।

सायद जेष्ठ को महिना हुनुपर्छ सिमसिमे पानीले बर्खालागेको सँकेत गर्दै थियो ।

रिजल्ट आउना साथ भेट्ने बाचा गर्दै हामी छुट्न तयार भयौँ । त्यही सरस्वती चोक जहाबाट उनी र म ध्रुबिकरण भएका थियौ ।

जेल जस्तरी मैले ४ महिना काटेँ । रेडियो नेपालले प्रबिणता प्रमाणपत्र तहको सबै रिजल्ट आएको खबर भन्यो । म रिजल्टको चिन्ताभन्दा पनि मीरासँग भेट्ने उत्सुक्ताले पागल थिएँ । उता घरमा मकै भाँच्न धमाधम थियो घरको काम सबै थाती राखेर हिड्ने कुरा पनि भएन । म ४ दिन जति ढीला भएँ । रिजल्ट हेर्न धनकुटा नै जानुपर्थ्यो ।म धनकुटा झरेँ । उनको कोठा बन्द थियो । मनमा हजारौ प्रश्न निकाल्दै र सान्त्वनाका उत्तर दिदै मेरो कोठा खोलेँ ।धुलोले ढाकेको थियो पहाडबाट ल्याएर खाइनसकेका स्कुस कुहिएर दुर्गन्धित भएको रहेछ हतार हतार सफा गरेँ सबै कुरा मिलाएर राखेँ । दुई दिन भै सक्यो उनको अत्तो पत्तो छैन, मेरोभन्दा राम्रो अङ्क ल्याएर उनी पाश भईछिन । स्नातक तह को भर्ना पनि खुलिसकेको थियो । तर १ हप्ता बित्यो उनी आइनन । यो बिचमा म आफ्नो मनमा हजारौ अनुत्तरित प्रश्न उब्जाउँथेँ र टोलाउथेँ । म यस्तै अन्योलमा थिए ।

कोठा को ढोका बाहिरबाट ढक्ढक्याएको आवाज आयो । म त्यो क्षण को बर्णन गर्न पनि सक्दीन । मेरो जिउमा यस्तो स्फुर्ति प्रबाहित भयो कि मानौ म पागल भएँ । ढोका खोलेँ अपसोच ती मीरा थिइनन । म पुन सिथिल भएँ उनी योजना थिइन मीरा कि साथी । उनको हातमा केही थियो । त्यो मलाई दिदै भनिन मीराले दिएको मैले सोधे मीरा खोई त ?” त्यो हेर्नु आफै थाहा पाउनु हुने छ ।

तल बाईकले हरन बजाएको बजाई छ योजना हतारिइन ”म गए मामा को बाईकमा आएकी बाँकी कुरा कलेजमा गरौला ” उनी गइन । एउटा पार्सल मेरो हातमा थियो बाहिर लेखिएको थियो ठुलो अक्षरमा ”बिराज” ।

मैले त्यो खोलेँ अप्रत्यासित डर र कौतुहलताले गाँजेको थियो । भित्र निलो रँग को बाहुला नभएको (हाफ ज्याकेट ) ज्याकेट थियो अनि एउटा डायरी ।मैले डायरि पल्टाएँ डायरी भरि कहानि लेखिएको थियो । मैले डायरि पढि सक्दा सिरानि भिजेको थाहा पाइन । सारँस यही थियो कि उनी रिजल्ट आएकै दिन दाइसँग धनकुटा आइन र सबै प्रमाणपत्रहरू लिएर स्नातक पढ्न काठमान्डौ दाइसँगै गइन । उनले आफ्नो बाध्यता दर्साएकी थिइन र मलाई कहिलयै भुल्न नसक्ने दोहोर्याएकी थिइन । उनले मसँग छुटे देखि डायरि लेखेकिरहिछन । म नतमस्तक भएँ ।

मैले कहिल्यै आधुनिक शैलिमा आई लभ यु भनिन उनले पनि ।

आफै मायाँ बस्यो । उनलाई पनि थाहा थियो म माया गर्छु भनेर मलई पनि थाहा थियो उनी मलाई मायाँ गर्छिन भनेर । कहिल्यै भन्न जरुरी ठानिएन । उनले लेखेका हरेक सब्दले म नतमस्तक भएँ । यदि अहिले जस्तो मोबाईल को सुबिधा हुदो हो त सायद परिस्थिति यती नाजुक हुने थिएन ।

दिन त्यसै गरी बिते असमञ्जस्यतामा । म स्नातक सकेर एम डि गर्न काठमान्डौ आएँ उनीसँग भेट होला भन्ने झिनो आशा पनि पालेर । तर समय चक्र उल्टो घुम्योसँगै को साथीले ” डिग्री गरेर के गर्छस ? यहा को मन्त्रीले खाने तलब छ बिदेश जा ” भनेर मेरो सबै ध्यान उता आकर्सित गरी दियो । म पैशा को पछि दौडिएँ । र बिदेश गएँ ।

उनले कति पटक बोलाइन थाहा छैन अन्तिम पटक को “बिराज”ले म झस्किए ।

काठमान्डौ को त्यत्रो कोलाहलमा निकै बेर टोलाएछु म त । ८ साल पहिलेको फ्ल्यास ब्याकमा पो हराएछु अनायासै ।

नजिकै को चिया पसलमा गयौ उनले चना मागिन “भर्खर अफिसबाट निस्किएकी भोक लाग्यो । तिमी के खान्छौ ?” मैले पनि चना नै भने । उनी मलाई हेर्दै भक्कानिएर रुदै थिइन, बोल्न सकिरहेकी थिइनन । म पनि । तर माहोल अर्कै थियो उनी पनि विवाहित कुनै सहकारी सँस्था को मालिकसँग बिहे गरिछन । मेरो नि बिहे भैसकेको थियो पहिलो पटक छुट्टिमा नेपाल जादा नै ।

लामो कुरा कानि भयो रात पर्यो उनलाई श्रीमानले बार बार फोन गरिरहेका थिए । बहाना बनाउदै उनी मसँग थिइन । अन्त्यमा उन्ले भक्कानिदै कम्पित श्वरमा भनिन “म जान्छु” उनी जानेनै भइन टेलिफोन नम्बर साटासाट भयो । मलाई पुनर्जन्म पाएर फेरि समाधी भएको महशुस भै रहेथ्यो जमिन भासिएको जस्तो भान भै रहेथ्यो । बिडम्बना आज डेढ साल भयो फोन नम्बर साटासाट गरेको तर न उनले मलाई कल गरिन न मैले नै उनलाई ।

यो कस्तो मायाँ ?

तोयानाथ पौडेल
संखुवासभा
हाल मरुभूमिको छातीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *