Skip to content

कविता

अदृश्य भै रम्छ ऊ

सारै क्रुर छ ऊ गरौँ जति सुकै बिन्ति परि पाउमा
पग्लिदैन कदापि भित्र उसको न दुख्छ त्यो घाउमा
ठूलो मुख उघारी निल्छ सजिलै प्राणी ऊ जत्रो पनि
अघाउन्न किमार्थ निल्छ दिन दिन् सधैँ ऊ भोको बनि

रोगी बालक बृद्ध वा नवजवान भन्दैन कैले पनि
जुन बेला जसलाई रोज्छ उसले लैजान्छ पाषाण बनि
तन्त्र-मन्त्र वा शस्त्र-अस्त्र जति छन् निस्काम हुन्छन् सब
चाह्यो कि त बिताई हाल्छ उसले गर्यो इशारा जब

देखिदैन कतै यी चक्षुहरुले अदृश्य भै रम्छ ऊ
प्राणी मात्रको गर्छ भोज खुशी भै यस्मै सदा जम्छ ऊ
शक्तिशाली अति छ जित्छ सहजै भीमसेन जस्ता पनि
प्राणीको मल मुत्र रक्त सब थोक निल्दिन्छ ऊ दन्दनी

जम्ला हात गरि अघिल्तिर सरि जति गरौँ बन्दना
इन्द्रई आई झुके पनि समीपमा सुन्दैन ऊ क्रन्दन
आई टप्प टिपेर लान्छ भिडमा जसको मिति पुग्दछ
देखिदैन तथापि छैन दूर त्यो यतै कतै घुम्दछ

देवेचरण भण्डारी “सरोज”

Leave a Reply

Your email address will not be published. Required fields are marked *