Skip to content

कविता

“खोला”

कतै बग्छ खोला मीठो गीत बन्दै
कतै बग्छ खोला चिसो शीत बन्दै
कतै बग्छ खोला सुनामी भएर
कतै बग्छ खोला मलामी भएर

कतै बग्छ खोला धमिलो भएर
कतै बग्छ खोला अमिलो भएर
कतै बग्छ खोला नुनिलो भएर
कतै बग्छ खोला गुनिलो भएर

कतै बग्छ खोला रुवाई बनेर
कतै बग्छ खोला दुहाई बनेर
कतै बग्छ खोला सुसाई-सुसाई
कतै बग्छ खोला बिसाई-बिसाई

कतै बग्छ खोला हिमताल बन्दै
कतै बग्छ खोला सिमखाल बन्दै
कतै बग्छ खोला तरुणी भएर
कतै बग्छ खोला बरुणी भएर

अभिसप्त यो जिन्दगी एक खोला
हिडनु कति छ कति बोकी झोला
कति टुट्तछन् जिन्दगी बोकी भारी
कति छुट्तछन् जिन्दगी घारी-घारी

अहो जिन्दगानी र खोला समान
कतै तुच्छ लाग्ने र कतै महान
फगत् बुझ्नु पर्ने अनि जान्नु पर्ने
नचाहे पनि सत्य स्वीकार्नु पर्ने |

देवीचरण भण्डारी “सरोज”

Leave a Reply

Your email address will not be published. Required fields are marked *