गीत
“नलेखूँ भन्छु ….”
नलेखूँ भन्छु लेख्न मन लाग्छ गरिब रोएको
नसकी खप्न मनको पीडा आँशुले धोएको |
अभागी रैछ तिनको कर्म सधैँको अभाव
बग्दो छ उल्टो शृष्टिको चक्र नदीको बहाव ||
रोप्तछन् श्रम बग्छ पसिना धर्तिको माटोमा
दुखमै बित्छ जीवन तिनको के पाए साटोमा |
टेकेर छाती तिनै दुखीको कोइ चढ्छन् टाकुरा
टाकुरा चढी बुन्दछन् जाल बनेर माकुरा ||
धौ-धौ छ सधैँ दुई छाक खान गरिबको झुपडी
कसैलाई भने मोज र मस्ती सम्पति थुपारी |
नगरी कर्म डोकामा दुध तिनले दोएनन्
गरिब छु भनि कसैको धन सितैमा छोएनन्||
धनका गरिब मनका धनि तिमीलाई सलाम
तिम्रो पक्षमा डटेर हर्दम चलाउँछु कलम|
सुखको रोटी पाउनु पर्छ खानलाई दुई छाक
साथमा तिम्रो सधैँ म हुन्छु हिन भाव नराख ||
देवीचरण भण्डारी “सरोज”
