कविता
मन
नदुखौं भन्छ मनले तथापि दुख्छ झन् बढी
नकुदौं भन्छ मनले तथापि कुद्छ झन् बढी
कस्तो यो मन हो आफ्नैं बसमा छैन एक्छिन
यता सम्झ्यो उता भाग्छ भागिरन्छ यो छिन्छिन
कैले आँफै खुशी हुन्छ भित्रभित्रै यो गद् गद
कैले पाक्तछ पीडाले भित्रभित्रै यो भत्भत
अभिमान्को शिखर चढ्छ छिन् भर्मै टेक्छ टाकुरा
के-के न गरें यो ठान्छ बजारी आफ्नैं पाखुरा
कैले स्वर्ग पुगें ठान्छ कैले पाताल झर्दछ
भित्र-भित्रै गुम्सिएर कैले अकाल मर्दछ
दिउँसै देख्छ सपना नसुती कैले यो मन
सुतेर पनि देख्तैन सपना कैले यो किन ?
नदेखिन्छ नछेकिन्छ बेगले चल्छ यो मन
बोकी जलन छातीमा दन्दनी बल्छ यो मन
छ यो बुझी नसक्नुको आफ्नैं हो मन तापनि
नचाउँछ आँफैलाई इशारामा यो फन्फनी
बेजोडको शक्ति छ यसमा सबैलाई हराउँछ
चाहान्छ जे कुरा यसले जबर्जस्त गराउँछ
गर्छु सलाम म आफ्नैं मनलाई जोडी कर
मेरो समिपमै आउ नजाउ है तिमी पर
देवीचरण भण्डारी “सरोज”
