Skip to content



नारी हुनलाई….
—————
जन्मसँगै तिरस्कारको
अग्नि ज्वालामा होमिएर
तिखा शब्द बाणहरू बीच
पुतली बनेकी त्यो छोरी
अनेक सीमा र बन्धनमा जेलिएर
घर छिमेक सहपाठीहरूको
कुदृष्टिमा अग्निपरिक्षामा
तेजाबमा गालिएर
परिवारको इज्जत सन्तान
कति कति पाइलाहरूमा
परिक्षाहरू दिन्छे त्यो छोरी
एक युवती हुनलाई
एक सबल नारी हुनलाई
आमा बन्ने सर्टिफिकेट
प्रकृतिको चाँजो निर्बाहमा
ऊ रजस्वला हुन्छे
छाउपडी र छोई बात लाग्छे
बातहरूबाट बचेर
घातहरू पन्छाएर
त्यो पराईमामा
सौम्यता पस्किन्छे हाँसेर
भक्कानिएको मुटु परेलीमा
खस्न नदिइकन
किनकि उसले नारीमा प्रमाणित हुनु छ

त्यो आफ्नु सम्झिएको घरमा पराई भएर
परम्परा निर्वाह गर्नुछ
बाल सुलभतामैं आमाले भनेको
छोरी त पराई हुन्छे
मुटुलाई गाँठो पारेर
उहुँसम्म गर्दिन
नारी हुनलाई

बाजाहरू बझ्छन
आफ्नु घर जान्छे
त्यहाँ पनि त्यो
काम बिग्रिएमा
बिरामी परेमा
गर्न नसकेमा
पराई हुन्छे
गालीहरूको ओइरोमा
कति परिक्षा कति परिक्षा
नारी हुनलाई

तिनका वंश परम्पराको
गर्भ धारण गरेर
प्रत्येक कठिन पाइलाहरू
सहज बनाउछे यो नारी मान्छे
मातृ वात्सल्यताकोको सिञ्चनले
वंश विकासको
आफ्नु ममताको अमृत पस्कंछे
त्यो पराई घरमा
उसको आफ्नु घर खोइ
तर पनि अमृत नै बर्साउछे
अमृत नै पियाउछे
त्यो पराई मान्छे

कति संघर्षहरू
जननी हुनलाई
एउटी नारी हुनलाई
अझै प्रमाणित हुन्
अझै
अशक्ततामा
आफ्नै रजश्वलाको त्यो पिण्डले
तिरस्कारमा साउती गर्दा
भक्कानिएर
दुख : नहोस त्यसलाई भन्छे
कुना पस्छे आँशुहरूलाई
देखाउनु हुन्न
उसलाई चोट पर्छ
एउटी आमा
कति परिक्षा दिन्छे
नारी हुन
एउटी नारी हुनलाई !!
————————
शान्तिराम ढकाल
दमक झापा
हाल अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *